बीपी प्रतिष्ठानमा कोरोना सङ्क्रमितको उपचार गराउन ६० हजार धरौटी राख्नुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीपी प्रतिष्ठानमा कोरोना सङ्क्रमितको उपचार गराउन ६० हजार धरौटी राख्नुपर्ने


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ६० हजारसम्म धरौटी राख्नु पर्ने भएको छ । अस्पतालका निर्देशक गौरी शंकर शाहले एक सूचना प्रकाशित गर्दै कोरोना सङ्क्रमितको उपचारका लागि शुल्क तोकिएको जानकारी दिएका छन् ।

शाहले जारी गरेको सूचनामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, काठमाडौँबाट निर्णय भई कार्यान्वयन गर्न निर्देशन भए अनुसार उक्त शुल्क तोकिएको उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा कोभिड –१९ को उपचारका लागि गरिने उपचार सेवा, पीसीआर परीक्षण सम्बन्धमा कात्तिक ९ गतेदेखि लागू हुने गरी उक्त शुल्क तोकिएको हो ।

कोरोनाको कुनै लक्षण नभएका, हल्का लक्षण भएको, मध्यम लक्षण भएको, गम्भीर लक्षण भएको वर्गीकरणका आधारमा बिरामीलाई कोभिड उपचार सेवाको शुल्क लाग्ने छ । बिरामी भर्ना हुनु पर्ने अवस्थामा भर्ना हुनु अगावै क्रमशः ७ हजार, १२ हजार, ३५ हजार र ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, कुनै लक्षण नभएकालाई प्रतिदिन २ हजार, हल्का लक्षण देखिएकालाई ३ हजार ५ सय, मध्यम लक्षण देखिएकालाई ७ हजार ५ सय र गम्भीर लक्षण देखिएका लाई १५ हजारसम्म शुल्क लाग्ने जनाइएको छ ।

यसै गरी आर्थिकरुपमा विपन्न, अशक्त असहाय, एकल महिला, अनि अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरूलाई लक्षण देखिएमा सिफारिस/परिचयपत्रको आधारमा निःशुल्क पीसीआर परीषण गरिने निर्देशक शाहले जानकारी दिएका छन् ।

अन्य जोसुकै व्यक्तिलाई भने परीक्षण शुल्क मात्रै २ हजार २ सय लाग्ने सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस