दसैँको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा अर्चना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दसैँको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा अर्चना


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । महान् पर्व बडा दसैँको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रूप माता चन्द्रघण्टाको पूजाआजा गरिँदै छ।

चन्द्रघण्टालाई माता पार्वतीको अवतारको रूपमा मानी पूजाआजा गर्ने प्रचलन रही आएको छ । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरूमा उल्लेख छ।

देवीको यो स्वरूप परम शान्तिदायक र कल्याणकारी हुन्छ । उनको ध्यान गर्नाले हामीलाई पृथ्वी लोक र परलोक दुवैको लागि कल्याणकारी र सदगति प्राप्त हुन्छ ।

चन्द्रघण्टादेवीको शीरमा अर्ध चन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरूमा उल्लेख छ।

उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ।

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवी मन्दिर चण्डी थान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरूले पूजन गरिरहेका छन्।

गाउँघर तथा बस्तीहरूमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथा वाचन तथा श्रवण गरिँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस