इन्स्टाग्रामको १० वर्ष पूरा : थप्यो नयाँ फिचर, कमेन्टहरू लुकाउने र चेतावनी सङ्केत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्स्टाग्रामको १० वर्ष पूरा : थप्यो नयाँ फिचर, कमेन्टहरू लुकाउने र चेतावनी सङ्केत


एजेन्सी

२८ आश्विन २०७७, बुधबार


काठमाडौँ । इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पुरा गरेको अवसरमा केही नयाँ फिचर थप गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको लोकप्रिय एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको सहजता र सुरक्षाका लागि नयाँ फिचर थप गरेको हो ।

स्टोरिज म्याप, आपत्तिजनक कमेन्टहरू लुकाउने तथा चेतावनी सङ्केतलाई विस्तार गर्ने फिचर थप गरेको छ । इन्स्टाग्राममा थपिएको नयाँ स्टोरिज म्याप फिचर प्रयोगकर्ताले पछिल्लो ३ वर्षमा शेयर गरेका स्टोरेजको म्याप तथा क्यालेन्डर देखाउने प्राइभेट फिचर हो । प्रयोगकर्ताले ती स्टोरीलाई हाइलाइटको रूपमा शेयर गर्न, डाउनलोड गर्न तथा सेभ गर्न सक्ने छन् ।

गोपनीयताको रूपमा विस्तार गरेको फिचरले आपत्ति जनक कमेन्टहरू लुकाइदिने काम गर्छ । यसरी लुकाइएका कमेन्टहरू हेर्नका लागि भ्यु हिडन कमेन्ट अप्सनमा ट्याप गर्नुपर्ने छ । तर सामाजिक नियम उल्लङ्घन गर्ने कमेन्टहरू भने पहिले जस्तै पूर्णरुपमा हटाइने छ ।

अर्को थप गरिएको ‘नज वार्निङ’ फिचरले इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई आपत्तिजनक कमेन्ट गरिरहँदा चेतावनी सन्देश पठाउँदछ । यसले गलत तथा आपत्तिजनक टिप्पणी गर्न चाहनेहरूलाई निरुत्साहित गर्ने र आपत्तिजनक शब्द सच्चाउनका लागि प्रयोगकर्ताहरूलाई उत्प्रेरित गर्ने बताइएको छ ।

यस्तै अन्य १० ओटा महत्त्वपूर्ण फिचर थपिँदै छन् । सेल्फी स्टिकर, इमोजी, वाच टुगेदर तथा भ्यानिस मोड लगायतका रहेका छन् । भ्यानिस मोड यस्तो फिचर हो जहाँ कसैलाई पठाएको म्यासेज प्रापकले हेरिसकेपछि आफै हराउने छ ।

यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेज सर्भिसलाई फेसबुकले फेसबुक म्यासेन्जर प्लाटफमसँग मर्ज गर्ने घोषणा गरेको छ । योसँगै म्यासेन्जर प्रयोगकर्ताहरुले इन्स्टाग्राम प्रयोग नगरेरै पनि इन्स्टाग्राम प्रयोग गर्ने साथीलाई म्यासेज पठाउन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस