विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको नोबेल अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । मृत्यु हुने ४५ र ५० वर्षका पुरुष दवै जना मोरङका हुन् ।
मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए। उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो।
त्यस्तै रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २:३० बजेतिर मृत्यु भएको दाहालले जानकारी दिए। उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो। स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ। मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताए।