दशैँमा घर जाने की यथास्थानमै मनाउने ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दशैँमा घर जाने की यथास्थानमै मनाउने ?


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


मन्त्रालय भन्छ-‘यथास्थानमै मनाउ’

यसपालि हिन्दुहरूको महान् चाड बडा दशैँ कात्तिक १० गते परेको छ । सधैँका वर्षमा असोजमै पर्ने दशैँ यसपालिका ढिला गरी कात्तिकमा परेको छ । कोरोना भाइरस महामारीकाबीचमा यसपालिको दशैँ कस्तो होला ? कसरी मनाइएला ? कोरोना भाइरसको जोखिम दिन प्रतिदिन बढिरहेको छ । नेपालमै पनि ८६ हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन् । भने आइतबारसम्ममा ५ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । २२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेकाले यसपालिको दशैँ यथास्थानमा नै मनाउन आग्रह गरेको छ । अध्ययन, कामलगायतका कारण सहर बसेकाहरूले गाउँ जाँदा भिडभाडमा कोरोना सर्न सक्ने सम्भावना तीव्र रहेकाले यस्तो भनिएको हो । गाउँमा कोरोनाको जोखिम अहिले त्यति धेरै फैलिसकेको पनि नहुँदा दशैँमा घर जानेहरूबाट गाउँमा कोरोना फैलिन सक्ने सम्भावना रहेको छ ।

मन्त्रालयले दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशैँ मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशैँ अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरेका हुन् ।

मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै प्रवक्ता गौतमले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको पनि जानकारी दिएका छन् । बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आइतबार नेपालमा २,२५३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयले आइतबारम्म देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको बताएको हो । शनिवार २,१२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ ।

आइतबारको कोरोना सङ्क्रमणको तथ्याङ्क हेर्ने हो भने काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५९९ जनामा सङ्क्रमणपुष्टि भएको थियो । जसमध्ये काठमाडौँमा मात्रै १ हजार ३७३ जना, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको थियो । यसै गरी आइतबार देशभर थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोनालाई सामान्य नठानौँ
कोरोना सामान्य रुघाखोकीजस्तै हो भन्ने धेरैको बुझाइ पनि रहेको छ । कोरोनालाई हल्का रूपमा लिने गरेको पाइएको छ । तर त्यसो गर्नु आफैमा मूर्खता हो किनकि रोगले कसैलाई चिन्दैन । रोग लागेर उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिनु बुद्धिमानी हो । त्यसैले रोगसँग लापरबाही कसैले गर्न हुँदैन । सधैँ सजग र सचेत भएर बस्नु पर्छ ।

कोरोना लागेका भुक्तभोगी र चिकित्कसहरुले कोरोनालाई सामान्य नठान्न आग्रह गरेका छन् । जुन कुरो जसले भोगेको छ उसलाई राम्रोसँग थाहा हुन्छ । यद्यपि कसैको शरीरमा रोगसँग लड्ने क्षमता बढी होला त्यसै उसमा त्यति धेरै समस्या पनि आएन र लक्षण पनि देखिएनन् । तर जसमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ उसमा भने समस्या नै आउने गर्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरेको छ । रोगलाई सामान्य नठान्न पनि स्वास्थ्य मन्त्रालयको अपिल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस