आज काठमाडौँ वर्षाको सम्भावना, मनसुन अझै केही दिन रहने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज काठमाडौँ वर्षाको सम्भावना, मनसुन अझै केही दिन रहने


प्रशासन संवाददाता

१६ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

सक्रिय मनसुन रहने औषत समय सकिएको एक साता बितिसक्दा पनि यो वर्ष मनसुन जारी नै छ । देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

यो क्रम अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागको भनाइ छ । ‘उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यसको प्रभाव रहेसम्म नेपालमा मनसुन सकिँदैन,’ जल तथा मौसम विज्ञान विभागकी मौसमविद् सजिना शाक्य भन्छिन्, ‘वंगालको खाडीमा न्यून चापीय क्षेत्र नहटेसम्म नेपालमा मनसुन जारी रहन्छ ।’

शाक्यका अनुसार यो वर्षको मनसुन कहिले अन्त्य हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । केही दिन मनसुन रहे पनि सक्रिय मनसुन भने नरहने उनको भनाइ छ ।

सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै केही दिन मनसुन रहने छ ।

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस