क्रिकेट खेलाडीको पुनः वर्गीकरण गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्रिकेट खेलाडीको पुनः वर्गीकरण गरिने


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण पुनः गर्ने भएको छ । यसअघिको खेलाडी वर्गीकरण न्यायोचित नभएको भन्दै क्यानमा निवेदन परेपछि खेलाडीको वर्गीकरण पुनः गरिने क्यानले जनाएको छ ।

क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः आवश्‍यक छलफल गर्न निर्देशन दिएको छ । क्यानले आगामी बोर्ड बैठकमा खेलाडी र प्रशिक्षकसँग छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

यसअघि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा संघका केन्द्रीय सदस्यहरु अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी खेलाडी वर्गीकरण निर्धारण समिति गठन गरिएको थियो । उक्त समितिले असोज ६ गते चितवनमा सम्पन्‍न क्यानको बोर्ड बैठकमा खेलाडी करारका लागि वर्गीकरणसहितको नामावली सार्वजनिक गरेको थियो ।

समितिले १८ पुरुष खेलाडीहरु र १९ महिला खेलाडीलाई विभिन्‍न श्रेणीमा वर्गीकरण गर्दै बोर्ड बैठकमा पेस गरेको थियो । समितिले पेस गरेको खेलाडी वर्गीकरणलाई बोर्ड बैठकले पारित गरेको थियो । उक्त वर्गीकरणमा केही महत्त्वपूर्ण खेलाडीको नाम छुट्न गएको र वर्गीकरणमा न्यायोचित नभएको भन्दै क्यानको आलोचना हुँदै आएको छ ।

यस्तै उक्त वर्गीकरणमा असन्तुष्टि जनाउँदै पुरुष तथा महिला खेलाडीहरुले संघमा निवेदन दिएका थिए । उक्त निवेदनप्रति क्यानले गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस