देश विकासमा ज्येष्ठ नागरिकको योगदान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देश विकासमा ज्येष्ठ नागरिकको योगदान


१५ आश्विन २०७७, बिहिबार


देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मकरुपमा युवा वर्गको योगदान उल्लेख्य रहने भए तापनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकहरू देशको समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालायित छन् । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्नु हुन्न ।

‘मेरो समाज मेरो योगदान’ जस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रूपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ । वृद्धवृद्धाले आफ्नो लामो जीवनभरि संगालेका ज्ञान सीप पछिल्लो पुस्ताका लागि अर्ती उपदेश अमूल्य मार्गदर्शनको रूपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ । ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ अनि ‘पितृ देवो भवः, मातृ देवो भवः’ जस्ता परम्परागत आदर्श वाक्य आत्मसात् गर्दै सदिऔँ चलेको हाम्रो संस्कारमा पछिल्लो समयमा विचलन आउन थालेको जगजाहेर नै छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक, र मानसिकरुपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महशुस हुँदै छ । ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि’को भनाइ चरितार्थ हुँदै गएको छ ।

अचेल ‘बाबु भन्दा छोरो जान्ने, खुकुरी भन्दा कर्द लाग्ने’ प्रवृत्ति हाबी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल परिवारमा बस्ने बानी बढ्दै छ । वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्य बोध र जिम्मेवारीको भावना क्रमशः उपेक्षित हुँदै गएको छ । जसकाकारण पारिवारिक स्नेहबाट अग्रजहरू विमुख हुन पुगेका छन् । दुःख पीडा र हीनताबोध जस्ता निराशाजनक जीवन जिउन विवश हुन पुगेका वृद्धवृद्धाको सङ्ख्या बढ्दो क्रममा छ । मानव जीवनचक्रमा एक पटक पुग्नै पर्ने वृद्ध अवस्था हो । माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउनु सन्तति, समाज र सरकारका लागि आत्मघाती कदम हो ।

ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनु पर्दछ । विकास निर्माणमा, आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहजरुपमा समाधान खोज्न टेवा पुग्छ । जसबाट समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर काम गरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य प्राप्तिमा होस्टमा हैँसे हुन सक्छ । कतिपय अवस्थामा निवृत्तहरूको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानीसमेत रहेको हुन्छ । स्वतन्त्ररुपमा समाजमा आफ्नो संस्कार संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवर्धनमा समेत सदुपयोग गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघले सन १९९१ मा वृद्धवृद्धाहरुका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादा लाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । विद्यमान ज्येष्ठ नागरिक ऐनले ७० वर्ष उमेर नपुगेका सामान्य ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पुरा गरेका लाई वरिष्ठ ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेको छ । त्यस्तै असहाय, अशक्त र एकलको आधारमा ज्येष्ठ नागरिकको वर्गीकरण गरिएको छ ।

ज्येष्ठ नागरिकको हितमा नेपालमा विविध नीति तथा रणनीति अवलम्बन गरिएका छन् । चालू पन्ध्रौँ योजनाले ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७/७८ को बजेट मार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको छ । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्था समेत गर्ने उल्लेख छ । ज्येष्ठ नागरिकको लागि मासिक ३ हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवा प्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए तापनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।

स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । अहिले नेपालीको सरदर बाँच्ने आयु दर ६८ वर्ष पुगेको छ । जसको फलस्वरूप ६० वर्षे ज्येष्ठ नागरिकको सङ्ख्या बढ्नु स्वाभाविकै हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर २.१ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि दर ३.४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसङ्ख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिक छन् । यसमा पनि पुरुषको भन्दा महिलाको सङ्ख्या उच्च रहेको छ । विगत पछिल्ला पाँच जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्ने निश्चित नै छ ।

ज्येष्ठ नागरिकको सङ्ख्यात्मक वृद्धिअनुसार उनीहरूको गाँस, वास र कपासको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो । साधरणतया वृद्ध अवस्थामा देखिएका र भोगिएका समस्याहरूमा खान पान र औषधि उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रबन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता, सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्ध आश्रमको उचित व्यवस्थापन आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनीहरूको शारीरिक र मानसिक तन्दुरुस्ती अनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषि कर्ममा लगाउने, व्यापार व्यवसायमा सक्रिय बनाउन सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिक लगायतका विज्ञहरूको अनुभवलाई समाज सेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ ।

ज्येष्ठ नागरिक ऐन, तथा नियमहरूमा भएका कल्याणकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार बीच सहकार्य र जिम्मेवारी बोध हुनु पर्दछ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्र लगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघसंस्थाका सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् । वर्तमानमा कोरोना उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको उपचार र संरक्षणमा सबैको उत्तिकै चिन्ता र चासो हुनु पर्दछ ।

कार्की सेवा निवृत्त जिल्ला शिक्षा अधिकारी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस