कोटाको लागि मात्र राखिएको जनप्रतिनिधि महिलाको गुनासो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोटाको लागि मात्र राखिएको जनप्रतिनिधि महिलाको गुनासो


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


डडेल्धुरा । महिला जनप्रतिनिधिहरूलाई अझै पनि कोटाको लागि मात्र राखिएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

जिल्ला सदरमुकाममा आयोजना गरिएको सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना अन्तर्गत कोभिड १९ को सन्दर्भमा सहभागी जनप्रतिनिधि महिलाहरूले सो गुनासो गरेका हुन् ।

कार्य क्षेत्रमा अझै पनि महिला जनप्रतिनिधिहरूलाई हस्ताक्षरका लागि मात्र प्रयोग गर्ने गरिएको गुनासो उनीहरूले गरेका हुन् । ‘जनताले प्रतिनिधि भनेर त पठाए तर प्रतिनिधिले गर्नु पर्ने कामबारे अझै पनि अनविज्ञ छौँ’ राजनीतिक व्यवस्था र कानुनी प्रक्रियाबारे जानकारी दिन अझै पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको अमरगढी नगरपालिका-५ का वडा सदस्य पम्फा रोक्काले बताइन् ।

कार्यक्रम अन्तर्गत महिलाहरूले भोगिरहनु परेको अप्ठेराहरूको अध्ययन गर्ने, उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न तालीमहरू सञ्चालन गर्ने र महिला जनप्रतिनिधिहरूको साझा मञ्च निर्माण गर्ने र हरेक ठाउँमा महिलाको पहुँच बढाउन तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ डडेल्धुराका कार्यक्रम संयोजक सुनिता गैरेले बताइन् ।

यस्तै कार्यक्रममै दलित महिला जनप्रतिनिधि र अमरगढी नगरपालिकाभित्र गठन भएका दलित महिला समूहका अध्यक्षहरूसँग लक्षित वर्गको बजेटलाई कसरी कार्यान्वयनमा ल्याउने र सो बजेटमा दलित महिलाहरूले कसरी प्रतिनिधित्व गर्ने भन्ने सवालमा पनि छलफल भएको कार्यक्रम संयोजक गैरेले जानकारी दिइन् ।

दलित महिला संघ डडेल्धुराको आयोजना तथा वुमनकाइण्ड वर्ल्ड वाइडको सहयोगमा सञ्चालित कार्यक्रममा अमरगढी नगरपालिकाका ११ वटै वडाका महिला जनप्रतिनिधिको सहभागिता थियो।

Tags :
प्रतिक्रिया दिनुहोस