थप ९ वटा स्यानिटाइजरमा विषाक्त मिथानोल भेटियो : बिक्री वितरणमा प्रतिबन्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप ९ वटा स्यानिटाइजरमा विषाक्त मिथानोल भेटियो : बिक्री वितरणमा प्रतिबन्ध


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा विषाक्त रसायन मिथानेल भेटिएपछि भारतीय तथा नेपाली कम्पनीबाट निर्माण भएका ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो ।

तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने भएकाले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ९५०० मिलि० र ५ लिटर रहेका छन्।

यस्तै, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रंगको) र रंगविनाका २ स्यानिटाइजर रहेका छन्।

विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस