अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


काठमाडौँ । राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले अविलम्ब निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग गरेको छ ।

असोज २४ गते तोकिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७८ वैशाख मसान्तसम्म स्थगित गरिएको भन्ने समाचार प्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कोभिड–१९ को महामारीलाई समेत विचार गरी अविलम्ब निर्वाचन घोषणा गर्न माग गरेको हो ।

सङ्गठनका महासचिव प्रभास प्रसाद शाहद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै कर्मचारीहरूलाई मताधिकार दिई संविधान अनुसारको राज्यका तिनैवटा संरचनामा अन्तरसम्बन्ध रहने गरी ट्रेड युनियन अधिकार स्थापित हुने गरी कोभिड–१९ को महामारीलाई समेत विचार गरी अविलम्ब निजामती कर्मचारीको आधिकारी ट्रेड युनियनको निर्वाचन घोषणा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

सङ्गठनले समायोजन भएर संघ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य सेवाका करिब ३० हजार र समायोजन पछि समायोजन ऐन,२०७५ अनुसार नियुक्ति भएका करिब १० हजार कर्मचारीलाई मतदान गर्न दिनुपर्नेसमेत बताएको छ ।

हाल निर्वाचन स्थगित भएको परिस्थितमा उनीहरूलाई समेत मताधिकार दिई निर्वाचनमा सहभागी गराउन सहज भएको जनाउँदै छुटाइएका सबै कर्मचारीहरूको मतदाता नामावली कायम गरिनु पर्ने माग सङ्गठनको रहेको छ ।

तीनै तह र राष्ट्रिय निजामती किताब खानाबाट कर्मचारी सङ्केत नम्बर प्राप्त स्थानीय तथा स्वास्थ्य सेवाका कर्मचारीलाई मताधिकार प्राप्त गराउन जस्तो सुकै संघर्ष गर्न पनि पछि नपर्ने जनाउँदै सरकारले निर्वाचनको कार्यक्रम स्थगित गरेको भए तापनि निर्वाचन सम्बन्धी सङ्गठनका आन्तरिक कामकारबाहीहरू अविचलित रूपमा तीव्र गतिका साथ अगाडी बढाउनु हुन समेत आफ्ना संगठनहरुलाई अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस