इतिहासमै पहिलो पटक महिला क्रिकेटरलाई तलब, पुरुष र महिला क्रिकेटरको तलबमा विभेद किन ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इतिहासमै पहिलो पटक महिला क्रिकेटरलाई तलब, पुरुष र महिला क्रिकेटरको तलबमा विभेद किन ?


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


काठमाडौँ । नेपाली महिला क्रिकेटरले पहिलो पटक तलब पाउने भएका छन् । मङ्गलवार चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीमा आबद्ध महिला क्रिकेटरलाई पनि तलबको व्यवस्था गर्ने निर्णय गरेको हो । यस अघि पुरुष क्रिकेटरलाई मात्रै तलबको व्यवस्था थियो ।

महिला क्रिकेटरलाई तीन ग्रेडमा वर्गीकरण गरी तलबको व्यवस्था गरिएको हो । राष्ट्रिय टोलीका १९ जना महिला क्रिकेटरलाई ‘ए’, बी’, र ‘सी’ ग्रेडमा वर्गीकरण गरिएको छ ।

पहिलो पटक वर्गीकरण गरिएका तीन वटै ग्रेडमा क्रमशः ५, ८ र ६ खेलाडी रहेका छन् । ग्रेड ‘ए’मा रुविना क्षत्री, नेरि थापा, इन्दु बर्मा, सीता राना मगर र करुणा भण्डारी छन्।

ग्रेड ‘बी’मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजोल श्रेष्ठ र सरिता मगर छन्। यसै गरी ग्रेड ‘सी’मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले छन्।

ग्रेड ‘ए’का खेलाडीले १५ हजार, ‘बी’ले १२ हजार र ग्रेड ‘सी’का खेलाडीका लागि १० हजार तलब निर्धारण गरेको क्यानले जानकारी दिएको छ । महिला खेलाडीका लागि इतिहासमै पहिलो पटक वर्गीकरण गरी तलब निर्धारण गरिएको हो ।

खेलाडीहरूले सन् २०२० को जनवरीबाटै तलब पाउने क्यानले जनाएको छ । क्यानले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै एक वर्षका लागि सम्झौता गरेको हो।

क्यानले १८ जना पुरुष खेलाडीको एक वर्षका लागि सम्झौता नवीकरण पनि गरिसकेको छ। पुरुष खेलाडीहरूको भने पाँच/पाँच हजारका दरले तलब वृद्धि गर्ने निर्णय गरेको छ। पुरुष खेलाडीहरूको ग्रेड ‘ए’ मा ८ जना, ग्रेड ‘बी’मा ४ जना र ग्रेड ‘सी’मा ६ जना खेलाडी छन्।

उनीहरूले क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ तलब पाउनेछन्।

प्रतिक्रिया दिनुहोस