नेपालमा रेल्वे सम्बन्धी केही जानकारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा रेल्वे सम्बन्धी केही जानकारी


६ आश्विन २०७७, मंगलबार


नेपालमा सर्व प्रथम रेल सेवा बर्दिया जिल्लाको तारा तालमा सञ्चालन भएको हो । राणा प्रधानमन्त्री चन्द्र शम्सेरको शासनका समयमा विक्रम सम्बत १९६२ सालमा इष्ट इण्डिया कम्पनीले बर्दिया जिल्लाको जङ्गलमा पाइने सखुवाको काठको रेल्वे स्लीपर र ट्रयाक बनाएर भारत लैजानका लागि तत्कालीन राणा सरकारको स्वीकृति लिएर भारतको बहराइच जिल्लाको निसानगढदेखि नेपालको बर्दिया जिल्लाको तारा तालसम्मको करिब २५ किलोमिटर दूरीमा सो रेल सञ्चालन भएको थियो । भारतमा सखुवा काठ नपाएका कारण रेल्वेका लागि लिक राख्न आवश्यक पर्ने स्लिपर र ट्रयाक ढुवानी कार्य सकिए पछि सो रेल सेवा समेत बन्द भएको थियो ।

नेपालमा दोस्रो रेल सेवा विक्रम संवत् १९८५ सालमा राणा प्रधानमन्त्री चन्द्र शम्सेरले भारतीय सामान काठमाडौँ पु¥याउन र नेपालको काठ भारतमा लगेर बिक्री गर्ने उद्देश्यले भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज हुँदै अमलेखगन्ज सम्म ४२ किलोमिटरको दूरीमा एन.जे.आर.(नेपाल गवर्नमेन्ट रेल्वे) नामक रेल सेवा सञ्चालन गरेका थिए । यो रेल सेवा त्रिभुवन राजपथको निर्माण भएपछि वीरगन्ज काठमाडौँ बीच सीधा बस सेवा सञ्चालन भएकोले बि.सं. २०२४ सालदेखि बन्द भएको हो । सो रेल सेवाका सम्पूर्ण सामानहरू जनकपुर रेल्वेलाई हस्तान्तरण गरिएको र ती सामानहरूमा इन्जिन तथा माल सामान ढुवानी गर्ने मालवाहक डिब्बा र यात्रु बाहक बोगी जनकपुर रेल्वेले प्रयोगमा ल्याएको थियो ।

बि.सं. १९९४ सालमा नेपालमा तेस्रो रेलको सञ्चालन भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै महोत्तरी जिल्लाको बिजलपुरासम्म ५३ किलो मिटरमा सञ्चालन थियो । तर २०५९ सालको बाढीले महोत्तरीको बिग्ही नदीमा रहेको पुल भत्काए पछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा पूर्ण रूपले बन्द भएको हो । यो रेल सेवा बि. सं. १९९०मा गएको महाभूकम्प पछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्सेरका समयमा सर्भेक्षण गरी बि. सं. १९९४ साल मङ्सिर १६ गते विवाह पञ्चमीका दिन देखि सञ्चालनमा आएको हो । हाल यो रेल सेवाले जनकपुर देखि जयनगर सम्मको २९ किलोमिटर दुरीमा मात्र आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । यो रेल सेवा पनि नेपालको बहुमूल्य काठहरू भारतमा लगेर बिक्री गरी भारतीय सामान नेपाल ल्याउने उद्देश्यका साथ सञ्चालन भएको थियो ।

नेपालमा चौथो रेल सेवाका रूपमा बि.सं. २०११ सालमा भारत सरकारले सप्तकोशीमा पुल बनाउन लाग्दा त्यहाँ आवश्यक पर्ने ढुङ्गा बाराह क्षेत्र चतरा देखि भारतको विरपुर र बथनाहा सम्म लैजानका लागि भारत सरकारले सञ्चालन गरेको थियो जसलाई ढुङ्गे रेल भनेर चिनिन्थ्यो । भारतले भने यो रेललाई कोशी प्रोजेक्ट रेल्वे ( के. पी. आर. ) भनी नामाकरण गरी चतरा बराहा क्षेत्रका ढुङ्गाहरू ओसार्ने काम गर्दथ्यो । यो रेल सेवा न्यारो गेजको थियो भने बि. सं. २०३५/०३६ सालसम्म पनि यो रेलले ढुङ्गा ओसार्ने काम गरिरहेको थियो ।

अर्को रेल सेवा काठमाण्डौको मातातिर्थ देखि लैनचौर सम्मको १० किलोमिटरको दुरीमा सञ्चालन थियो । यो रेल सेवा कसले कहिले सञ्चालन गरे भन्ने कुराको भेद खुल्न नसके पनि हेटौडा र काठमाडौँ बिच रोप्वे सेवा सञ्चालन भए पछि रोप्वेबाट आएका सामानहरू ढुवानी गर्ने उद्देश्यले यो रेल सेवा सञ्चालनमा आएको थियो भनिन्छ । मातातिर्थ रेल्वेका नामले चिनिने यो रेल सेवा डिजलबाट सञ्चालन हुन्थ्यो भने यस अघिका सबै रेल सेवा कोइलाबाट सञ्चालित थिए ।

नेपालको छैठौँ रेल सेवाका रूपमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले तत्कालीन राजा त्रिभुवनलाई उपहार स्वरूप दिएको रेल हो । सो रेल हाल भृकुटीमण्डपमा रहेको छ भने उक्त रेल गोपाल रेल वा बाल रेलका नामले चिनिन्छ । यसरी नेपालमा जम्मा छ बटा रेल सेवा सञ्चालनमा आएको देखिए पनि स्थायित्व भने जनकपुर जयनगर रेल सेवाले मात्र पाएको छ । पहिले यातायात संस्थानको एक अङ्गका रूपमा रहेको जनकपुर रेल्वे यातायात संस्थानको बि.सं.२०५८ मङ्सिर मसान्तमा विघटन पश्चात् बि.सं.२०६१ जेष्ठ १८ गते कम्पनी ऐनमा दर्ता भई नेपाल रेल्वे कम्पनीका नामले हाल सञ्चालनमा रहेको थियो । नेपाल सरकारले रेल्वेको विकासका लागि पटक पटक गरी अर्बौ रुपियाँ खर्च गरेको भए पनि ती खर्चहरू सबै वालुवामा पानी हाले सरह नै भएकोमा हाल आएर रेलसेवाले निरन्तरता पाउने भएको छ । हाल नेपाल सरकारले रेल्वेको विकासका लागि नेपाल रेल्वे विभाग गठन गरेको छ तर काम भने कछुवा गतिमा भइरहेको छ ।

भारत सरकारले भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको जनकपुर महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको करिब ७१ किलोमिटरको दुरीमा ब्रोडगेज रेल्वे सञ्चालनका लागि सर्भेक्षण गरी अन्य कामहरू जग्गा अधिग्रहणदेखि ठेक्का मार्फत निर्माण सम्बन्धी काम समेत शुरु गरिसकेको छ । तर नेपालका तर्फबाट रेल्वेका लागि जग्गा अधिग्रहण गर्ने काम भए पनि जग्गाको मुआब्जा वितरण गर्ने काम गर्न नसक्दा भारतले गर्ने भनिएको रेलवे सम्बन्धी कार्य नै अलपत्र परेको थियो । पछि रेल्वे सम्बन्धी समस्याहरू समाधान पश्चात् करिब चार सय सत्तरी बिघा जग्गा जनकपुर रेल्वेसँग रहेको भए पनि त्यसको सही रूपले सदुपयोग हुन सकेको देखिँदैन । ब्रोडगेज रेल सञ्चालनका लागि हाल नेरो गेजको रेल्वे लिकलाई बढाउनु पर्ने भएकोले सोका लागि आवश्यक जग्गा स्थानीय जनताबाट अधिग्रहण गरिए पनि मुआब्जा वितरणका लागि रकम निकासा नहुँदा आर्थिक समस्याले गर्दा काम रोकिएको थियो । नेरो गेजलाई विस्थापित गरी ब्रोड गेजको ट्र्याक निर्माण गर्दा केही वर्ष रेल्वेको नियमित सेवा स्थगित भएकोमा आउँदो तिहार पश्चात् नियमित सेवा जयनगर जनकपुर कुर्थासम्म सञ्चालन हुने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस