कोरोनाबाट टाढा रहनु नै अहिलेको एक मात्र विकल्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाबाट टाढा रहनु नै अहिलेको एक मात्र विकल्प


४ आश्विन २०७७, आइतबार


विश्व महामारीको रूपमा फैलिरहेको कोभिड १९ ले विश्व समुदायमा पारेका असरहरू प्रगाढ बन्दै गइरहेका छन् । यसको रोकथाम गर्नको लागि विभिन्न देशहरूले फरक फरक विधिहरू अपनाएका छन् । यद्यपि क्षतिका प्रकृति र मात्रा भने एकै नासका छैनन् । यो रोगबाट भागेर सम्भव हुँदैन भन्ने निष्कर्षहरू पनि आउन थालेका छन् । सतर्कताका साथ यो सँग जुध्नुको विकल्प पनि देखिँदैन । यस महामारीबाट अर्थतन्त्रमा परेका असरहरू न्यूनीकरण गर्नका लागि अन्य मुलुकहरूले अवलम्बन गरेका सफल अभ्यासहरू अनुशरण गर्न सकिन्छ ।

जति बढी सावधानी अपनाउन सकिन्छ उति नै बढी कोरोनाबाट कम प्रताडित बनिने छ । कोरोनासँग त्रसित भएर भन्दा पनि सावधानी अपनाएर नै कोरोनासँग जुधेर आर्थिक तथा सामाजिक गतिविधिहरू पूर्ववत् सामान्य अवस्थामा आउन सक्छन् । व्यापार व्यवसाय, कलकारखाना बन्द भएका, कैयौँ मानिसहरू बेरोजगार भइरहेका, विकासका गतिविधिहरू अवरुद्ध भएका र सार्वजनिक सेवा प्रवाहमा समेत दक्खल परिरहेको अवस्था छ ।

कोभिड १९ लाई नियन्त्रण गर्नको लागि विभिन्न मुलुकहरूले अलग अलग उपायहरू अवलम्बन गरेका छन् । अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्ने, अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने, यातायातका साधनहरू बन्द गर्ने तथा समूहमा हिँडडुल बन्द गर्ने, भेला तथा समारोह गर्न रोक लगाउने खालका कार्यक्रमहरू गरिए । फरक फरक तौर तरिकाहरू अपनाए पनि सारभूत रूपमा ती देशहरूले लगाएका प्रतिबन्ध भनेका भौतिक दूरी कायम गर्ने, भिडभाड हुने तथा जमघट हुने खालका गतिविधिहरू नियन्त्रण गर्ने, मानिस मानिस बीचको सम्पर्क कमी गर्ने र कोरोना भाइरसको फैलावटको साङ्लो टुटाउनु नै रहेको देखिन्छ । कोरोना महामारी जस्तै अन्य महामारीहरू पनि विश्व समुदायले झेलेको छ । शायद विश्व समुदायमा कोरोना भाइरस नै यस्तो साझा समस्या बनेको छ जसले छोटो समयमा नै विश्व यात्रा गर्न सक्षम भई सबैतिर मानवीय तथा आर्थिक गतिविधिहरू ठप्प प्राय बनाएको छ र सबैतिर भय र त्रास फैलाइरहेको छ ।

कोरोना भाइरस देखिनासाथ चीन, इरान, इटाली, स्पेन, फ्रान्स, बेल्जियम, पोर्चुगल जस्ता मुलुकहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा नै कडाइ गरे । तर अमेरिका, क्यानडा जस्ता मुलुकहरूले अन्तर्राष्ट्रिय नाकाहरू र उडानहरू बन्द गरे तापनि आन्तरिकरुपमा नेपालमा जस्तो पुरै लकडाउन लगाएनन् । भुटान, नेपाल जस्ता मुलुकहरूले देशभर नै लकडाउन लगाएका थिए । इटाली, रसिया, भारत जस्ता मुलुकहरूले भेलाहरू रोक्नको लागि कर्फ्यु नै पनि लगाएका थिए । बेलायत, आयरल्यान्ड, चीन जस्ता मुलुकहरूले आंशिक प्रतिबन्ध लगाए । अमेरिका, क्यानडा, इरान, फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड जस्ता देशहरूले  स्टे होम को अवधारणाहरू लागु गरे ।

स्पेन, टर्की, इटाली, फ्रान्स लगायतका मुलुकहरूले रोजगारी गुमाएका मानिसहरूको संरक्षण गर्ने कार्यक्रमहरू सार्वजनिक गरे । सबै जसो मुलुकहरूले राहतका प्याकेजहरू घोषणा गरेका छन् । अमेरिका, बेलायत लगायत सबै देशहरूले कोरोना सङ्क्रमितहरूको उपचार एवं व्यवस्थापनको लागि अस्तपतालहरुमा बेड क्षमताको अभिवृद्धि गर्ने तथा कोभिड विशेष अस्तालहरु सञ्चालन गर्ने तर्फ जोड दिए । साथै स्वास्थ्य सामाग्रीहरूको थप व्यवस्थापनमा जोड दिएका छन् । नेपाल लगायतका केही मुलुकहरूले स्वास्थ्यकर्मीहरूको अतिरिक्त सुविधाको प्रबन्ध गरेका छन् । कोरोना महामारी कै बीचमा चीन, जर्मनी, स्वीट्जरल्याणड, बेलायत लगायतका मुलुकहरूले अरू मुलुकहरूमा स्वास्थ्य उपकरणहरू सहायता पनि गरिरहेका छन् ।

सबै मुलुकहरूले सामाजिक सहायताको लागि विभिन्न तवरले राहत तथा सहयोगका कार्यक्रमहरू सञ्चालन गरेको देखिन्छ । यसमा विविधता त छँदै छ । सबैजसो देशहरूले कोरोना सिर्जित महामारीबाट मारमा परेका व्यवसायी तथा फर्म एवं रिणीहरुलाई राहत दिने उद्देश्यले कर तिर्ने अवधिलाई लम्ब्याउने, ब्याज छुट गरिदिने तथा विभिन्न तवरले सहायता उपलब्ध गराइरहेका छन् । नेपालले पनि कर तिर्ने अवधिलाई लम्ब्याउने, विद्युत् महशुलहरुमा छुट दिने तथा अन्तर बैंकिङ्ग कारोबारहरूमा लाग्ने शुल्क मिनाहा लगायतका कार्यक्रमहरू लागु गरेको छ ।

अल्जेरिया, कुवेत, मलेसिया लगायतका मुलुकहरूले कोभिड १९ का साथसाथै पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटको मार पनि झेल्न बाध्य भए । भुटानले घरबाटै काम गर्ने अवधारणा लागु गर्‍यो । डेनमार्कले अत्यावश्यक नभएका सरकारी तथा व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरूलाई घरमा नै बस्न अनुरोध गर्‍यो । सुरुको लकडाउन अवधिमा नेपालले पनि यस्तो विधि अपनाएको थियो । हैटी जस्ता मुलुकहरूले स्वास्थ्य सङ्कटकाल नै घोषणा गरेर कोरोना विरुद्ध जुधिरहेका छन् । हैटीको कुल ग्राह्थ्य उत्पादनको ३० प्रतिशत हिस्सा त रेमिटेन्सले नै ओगटेको छ । माल्दिभ्सले स्वास्थ्य सङ्कटकाल नै लगायो । माल्दिभ्सको कुल ग्राह्थ्य उत्पादनको ६० प्रतिशत हिस्सा त पर्यटनले नै ओगटेको छ ।

दक्षिण कोरियाले सङ्क्रमणको सुरुवाती चरणमा नै व्यापक परीक्षण तथा कोरोना सङ्क्रमणको स्रोत तथा फैलावट शृङ्खलाको राम्रो पहिचानबाट कोरोनाको फैलावटलाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भयो । कुवेत, इटाली, स्वीट्जरलयाण्ड लगायतका मुलुकहरूले विभिन्न चरणहरूमा बन्दाबन्दी हटाउँदै आर्थिक गतिविधिहरू खुला गर्दै गएका छन् । नेपालमा पनि कोरोना सङ्क्रमणको शुरुवाती चरणमा देशव्यापी लकडाउन लगाइए पनि आर्थिक क्रियाकलापहरू चलायमान गराउनको लागि आंशिक रूपमा लुजडाउन र लकडाउन गर्दै गइरहेको छ । तर सङ्क्रमण भने व्यापक बन्दै गइरहेको छ ।

वर्ल्ड ‌ओ मिटरका अनुसार कोरोना भाइरसको कारण सङ्क्रमित मानिसहरूको सङ्ख्या करिब ३ करोड नाघेको छ भने  मृत्यु हुने मानिसहरूको सङ्ख्या ९ लाख ६१ हजार बढी रहेको छ । पछिल्लो तथ्यांकनसार विश्वभरमा प्रति दश लाख मानिसमा ३ हजार ६ सय ७५ जना मानिसमा कोरोना सङ्क्रमण भएको छ भने प्रति दश लाख मानिस मध्ये १ सय १८ जना मानिसहरूको मृत्यु भएको छ । अमेरिकामा ६९ लाख भन्दा बढीमा मानिसमा सङ्क्रमण देखिएको छ भने २ लाख भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ ।  सङ्क्रमणको आधारमा दोस्रो स्थानमा रहेको देश भारत हो । जहाँ सङ्क्रमितको सङ्ख्या ५४ लाख भन्दा  बढी रहेको छ भने ८६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यस्तै तेस्रो स्थानमा रहेको देश ब्राजिल हो । जहाँ सङ्क्रमितको सङ्ख्या ४५ लाख भन्दा  बढी रहेको छ भने १ लाख ३६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार भन्दा बढी रहेको छ भने ४०१ को मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढिरहेको देखिन्छ । प्रति दिन औसत सङ्क्रमण १०१७ देखिन्छ । लकडाउन एवं निषेधाज्ञा हलुका तथा हट्दै गएको हुनाले पनि सङ्क्रमण बाक्लिएको हुन सक्छ ।

विभिन्न मुलुकहरूले कोरोना भाइरस नियन्त्रणको लागि लिएका नीति तथा कदमहरूका बाबजुद कोरोना सङ्क्रमणको दरमा तात्त्विक कमी आउन सकेको छैन । संकमण नियन्त्रणमा आइसकेका अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका मुलुकहरूमा पुन सङ्क्रमण फैलिनु र हालसम्म पनि कोरोना विरुद्धका खोपहरू सुनिश्चित हुन नसक्नुले विश्व समुदायमा तनाव कायमै छ । तसर्थ कोरोनाबाट टाढा रहनु नै अहिलेको एक मात्र विकल्प साबित भएको छ । साथै रोकथामको लागि सावधानी र सतर्कता अपनाउने, सामाजिक दूरी कायम गर्ने, क्वारेन्टिन बस्ने तथा लकडाउनको पालना गर्ने गराउने र सामाजिक सद्भाव कायम राख्नुपर्ने नितान्त आवश्यक छ । कोरोना रोकथामका लागि गरिने लकडाउन लगायतका कदमबाट प्रभावित हुने मानिसहरूको लागि राहत तथा सहयोगका कार्यलाई व्यापक एवं वस्तुनिष्ठ गराइनु उत्तिकै जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस