कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण


२ आश्विन २०७७, शुक्रबार


मङ्गलबारे । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् ।

पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोर्टले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोर्ट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोर्ट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोर्टमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोर्टको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनीहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोर्टको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोर्टले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोर्टबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोर्टलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोर्ट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोर्ट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेको उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस