राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ


२६ भाद्र २०७७, शुक्रबार


परासी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्र घ सम्मेलनको उद्घाटन गर्दै उनले युवा एकतामा जोड दिएका हुन् ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न नेपाल जेसीज सहयात्री बनेको उल्लेख गर्दै उनले युवाको सहजिकरण र एकताबाट अहिलेको राष्ट्रिय सङ्कटलाई समाधान गर्न सकिने बताए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शङ्करले महामारीका बेला पनि देशभरका जेसीज शाखा कोभिड-१९ को रोकथामका लागि निरन्तर सक्रिय रहेको बताए । उनले युवा सकरात्मक र समृद्ध हुनुपर्नेमा जोड दिदैँ एकजुट भएर राष्ट्र विकासमा लाग्न आह्वान गरे ।

कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल जेसीजको ईतिहासमा पहिलो पटक अनलाइनबाट क्षेत्रीय सम्मेलन गरिएको निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेलले बताइन् । शनिबारसम्म चल्ने सम्मेलनमा गैँडाकोटदेखि पश्चिमका क्षेत्र घ अन्तर्गतका शाखासहित देशभरका जेसीज शाखाबाट पनि भर्चुअल सहभागिता रहेको सिद्धार्थ लेडी जेसीजकी अध्यक्ष तुल्सा भुसाल पाण्डेले जानकारी दिइन् ।

युवाको व्यक्तित्व र नेतृत्व विकास गर्दै सकारात्मक तथा रचनात्मक कार्यका लागि संस्थागतरुपमा अगाडि बढाउन सन् १९६४ मा भारतको गोरखपुर जेसीजको मातृत्वमा नेपाल जेसीजको स्थापना भएको हो । नेपाल जेसीजअन्तर्गत हाल देशभर १५० बढी शाखा छन् । भौगोलिकतालाई हेरेर नेपाल जेसीजका शाखालाई क्षेत्र क, ख, ग र घ गरी चार क्षेत्रमा वर्गीगकरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस