ट्रम्पको समर्थनमा आयोजित परेडमा २६ सय मानिस सहभागी भएका डुङ्गा डुबे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रम्पको समर्थनमा आयोजित परेडमा २६ सय मानिस सहभागी भएका डुङ्गा डुबे


प्रशासन संवाददाता

२१ भाद्र २०७७, आइतबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्को समर्थनमा आयोजित परेडमा सहभागी डुङ्गा डुबेका छन् । टेक्ससको एउटा तालमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा परेडको आयोजना गरिएको थियो । परेडमा करिब २६ सय मानिसपनि सहभागी रहेको बताइएको छ ।

बीबीसीका अनुसार ट्राभिस काउन्टीका शेरिफको कार्यालयले घटनाको अनुसन्धान थालेको छ । तर नियतवश दुर्घटना भएको कुनै प्रमाण नभएको जनाएको छ। घटनामा कोही घाइते भएका छैनन्।

अधिकारीहरूले धेरै सङ्ख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घटना भएको हुनसक्ने बताएका छन् ।

‘लेक ट्राभिस ट्रम्प बोट परेड’नाम दिइएको सो समारोह फेसबुकमार्फत् आयोजना गरिएको थियो। करिब २६ सय मानिसले त्यसमा सहभागिता जनाएको फेसबुकमा उल्लेख गरेका थिए।

उक्त घटना स्थानीय समय अनुसार शनिवार दिउँसो भएको थियो। फेसबुकमा उल्लेख भएअनुसार सहभागी डुङ्गाहरूलाई १६ किलोमिटर प्रतिघण्टाको वेगमा चल्न भनिएको थियो।

घटना भएको समयमा सो स्थानमा कुनै आँधी वा हावाहुरी नआएको अस्टिनस्थित राष्ट्रिय मौसम सेवाका अधिकारी पाउल युराले बताएका छन्।

डुङ्गाहरुमा ट्रम्पको प्रचारसहितका झण्डा राखिएका थिए । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीले चुनाव लड्दैछन् ।

रिपब्लिकनको तर्फबाट ट्रम्प दोस्रो कार्यकालका लागि लड्दैछन् भने विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनले उनीसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । चुनावको मिति नजिकिँदै जाँदा दुवै पक्षबाट प्रचारप्रसार कार्य तीव्र भइरहेको छ। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस