सपनाहरू यहीँ सजाउँछु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सपनाहरू यहीँ सजाउँछु


२० भाद्र २०७७, शनिबार


करिब १४ दिनको क्वारेन्टिन बसाई सकेर पुनः म होम क्वारेन्टिनको एक हप्ते बसाइँको चरणमा प्रवेश गरेको छु । यो चौध दिन मलाई जीवनमा बाँचेका तीसौँ वसन्तहरूमा एक अनौठो भोगाई बनेर रह्यो । विदेशी भूमिमा श्रम बेच्न पुगेको म एउटा परदेशीको कोरोना महामारीका बिचको स्वदेश आगमन तथा घरसम्मको यात्राले मैले कहिल्यै नभोगेको युगको अनुभूति गरायो, एउटा नितान्त नयाँ सिकाई।

खाँद बारी नगरपालिकाको एउटा गाउँको बेसी तिरको एक घरमा, त्यस घरको खुसी बनेर भित्रिएको थिएँ रे म, आमाको भनाइमा । सानैमा अर्थात् म जन्मेको करिब दुई वर्ष पछि बुवाको देहबसान भएपछि आमाको काँधको जिम्मेवारी पूरा गर्न कति कष्टकर भोगाइ रहे होलान्, म कल्पना गर्न सक्दिन। धेरै जना छोराछोरी अनि बैँशैमा विधवा बन्नु परेकी आमा, सामाजिक व्यवहार तथा थोरै खेतीपातीमा सबैलाई पाल्न कति सङ्घर्ष थियो होला, सबै मेरा मानसपटलमा सिनेमाको पर्दा झैँ मधुरो नाचिरहेछन्। चेवा बेसीको त्यस्तै पाँच सात रोपनी खेत, अलिकति पाखो बारी, आमा, चार जना दिदिहरु र म कान्छो भाइ, जम्मा छ जनाको परिवार त्यसैले धान्नु पर्ने । गाउँले परिवेशमा जन्मेका हामी तथा बुवा पनि नभए पछि स्कुल देख्न पाउने कान्छी दिदी र म भाग्यमानी भएका थियौँ , बाँकी दिदिहरु गाई बाख्रा गोठालो, मेलापात तथा खेतबारी हेरचाहमा नै दिनचर्या बिताउनु हुन्थ्यो ।

गाउँको प्राथमिक विद्यालयमा पाँचौँ कक्षा उत्तीर्ण गरेपछि थप कक्षा पढ्न हामीलाई करिब डेढ दुई घण्टाको उकालो चढेर खाँदबारीको माध्यमिक विद्यालयमा जानुपर्थ्यो। दिदीहरुको विवाह भएपछि घरमा तीनजना बाँकी रह्यौ, आमा, कान्छी दिदी र म । घरमा हातमुख जोर्न समेत कठिन हुन थालेको थियो, उत्पादन र उत्पादकत्व घट्दो थियो । एस एल सी पछिको अध्ययन गर्ने सपना सपना नै रह्यो। गाउँघर तथा बजारतिर जागिरको खोजीमा निकै भौँतारिएँ, आमाले चिने जानेका नेता तथा ठुला मान्छेहरुकोमा हार गुहार समेत गर्नुभयो तर कतैबाट प्रगति भएन। अन्तिम विकल्प, सबै गाउँले अलिअलि पढेका युवाहरू जस्तै मेरो पनि गन्तव्य बन्यो वैदेशिक रोजगारी।

विश्वकप फुटबल २०२२ को तयारीका लागि कतार सरकारबाट नेपाल लगायतका देशबाट कामदारको माग उच्च भएको थियो । पराई देशमा पसिना बेचेर रेमिटेन्स भित्र्याउने, घर बनाउने, दिदी र आफ्नो विवाह गर्ने तथा सुखद जीवन बिताउने सपना सजाउँदै, म लागेँ गाउँले साथीहरूसँगै कतारको गर्मीमा सपनाको खेती गर्न ।

विदेशिएको डेढ वर्ष पनि बित्न पाएको थिएन, गएर पनि कमाई, यताको सम्झौताको कागजी लेखाई र यथार्थमा फरक नै थियो । उच्च कमाइ हुने सपना साँचेर गएको म, मुस्किलले घरमा दश पन्ध्र हजार रुपैयाँ मासिक पठाउन सक्ने हैसियत बनाएको थिएँ । सपनाहरूको मलजल मै मात्र बितिरहेका थिए पलहरू । विदेशिँदा लागेको ऋणसम्म तिर्न भ्याएको मात्र थिएँ, विश्वमा फैलिएको कोरोनाको महामारीले कतार समेत अछुतो रहेन। हाम्रो काम गर्ने कम्पनीमा समेत कोरोनाको असर देखियो, कामदारको माग घट्न थाल्यो, कम काम भएपछि कमाइमा स्वतः असर परिहाल्यो । घर फर्कन बल्ल ऋण तिरिसकेको छ, अरू अलिकति कमाइ नगरी कसरी घर फर्कनु, नफर्कौँ रोगको महामारीको सिकार होइएला भन्ने डर ।

त्रासदीका बीच करिब पाँच महिना बिताइयो । रहरको सहर, दोहा बसाइँमा अब थप कमाई हुने अवस्था रहेन, बुढी आमा र कान्छी दिदीले मलाई घर फर्कने खर्च दिन सक्ने अवस्था पनि थिएन। पाँच महिना बस्दा समेत महामारी कम हुने सङ्केत नभएपछि मेरो देशको सरकारले आफ्ना कामदार घर फर्काउने नीति ल्यायो । हवाई तथा अन्य यातायात ठप्प भएको बेलामा सरकारले चार्टर गरेर भए पनि जहाज मार्फत स्वदेश फर्कने अवसर दिनु हाम्रो लागि ठुलो राहत थियो ।

टिकट काटेको एक महिना पछि बल्लबल्ल आफ्नो देशमा पुग्ने अवसर पाइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै देशको ध्वजावाहक विमान मार्फत अवतरण गर्न पाउनु गौरव पनि थियो । परिवार तथा छरछिमेकमा त्रास थियो, फलानो कतारबाट आउँदै छ भन्नु भन्दा पनि फलानो कोरोना भाइरस बोकेर आउँदै छ भन्ने हल्ला बढी थियो । कति सुरक्षाका मापदण्ड पालना गरेर स्वदेशमा ल्याइएको छ भन्ने कुरा गाउँघरमा थाहा पनि थिएन, त्यसैले पनि खुसी भन्दा बढी दुःखी नै थियो परिवार समेत । हरेक पटक ज्वरो जाँच तथा सेनिटाइजेसन आर.डि.टि. तथा पी.सी.आर. परीक्षण गरेर मात्र जहाजमा चढ्न पाइने कुराको ज्ञान समेत थिएन गाउँघरमा । नेपालमा ओर्लेपछि पनि नेपाल सरकारले तोकेको सुरक्षा मापदण्डमा होल्डिङ्ग सेन्टर हुँदै आफ्नो नगरपालिकासम्म आउनु सहज थिएन।

तुम्लिङटार अरुण नदी किनारको एउटा समथर मैदान, ठुला टारहरू रहेको हवाई मैदान, अनि मेरो बाल्यकालमा फुटबल खेल्दा दौडेको मैदान, कहिलेकाँहि शर्मिलासँग कत्ले भन्ज्याङ सम्म आएर मीठा मीठा गफ गरेका क्षणहरू आदिको मीठो याद मानसपटल भरी आइरह्यो, चतरादेखि तुम्लिङटारको क्वारेन्टाइनसम्म गाडीमा पुगुन्जेल । आमा आउनुहोला, दिदीहरु आउलान् अनि शर्मिला आउली मलाई भेट्न भन्ने आशा झन् गहिरो भएर आउँदै थियो, जति क्वारेन्टाइनको नजिक पुग्थेँ उति नै । कहिलेकाहीँ घरबाट भागेर आइ सभा खोलामा पौडी खेलेका, माछा मारेका लगायतका घटनाहरू समेत ताजा भएर आए । मन त सबैलाई एकै पटक गएर भेटौँ भेटौँ भएर आएको थियो। विगतका हरेक घटना सभा खोला, तुम्लिङटार हवाइमैदान, कत्ले भन्ज्याङ, तल्लो टार, माथिल्लो टारमा स्कुले जीवनका हरेक बिपनाका यादहरू मनको मझेरीमा जोड जोडले दौडिन थालेका थिए। आफ्नो मनको लहरमा दौडिएका हरेक घटनाले आँखा भरी आँसु बनाइदिएछ, थाहै नपाई रमाइलो विगतको यादहरू, जति क्वारेन्टाइन भनिएको ठाउँ नजिक पुग्यो उति नै ताजा भएर आइरहेका थिए ।

तल्लो टारको एउटा निजी अस्पताल नजिकको प्राथमिक विद्यालयलाई क्वारेन्टिन बनाइएको रहेछ । म लगायत विदेशी भूमिमा श्रम बेचेर आफ्नो गर्जो टार्न गएकाहरूलाई नेपाली सेनाको नियन्त्रणमा त्यस क्वारेन्टाइन भनिएको ठाउँसम्म ल्याइएको थियो । सामान्य ज्वरो मापन गरी कक्षाकोठाका एकान्त बास हुने गरी बनाइएका कोठाहरूमा, दुईदुई जनाका दरले बस्न मिल्ने गरी व्यवस्था गरिएको रहेछ। म सँगै जिल्ला अलिक माथिल्लो भाग सायद मकालु तिर बस्ने साथी परेको थियो, एउटै कोठामा। बसाई अवधिभर बाहिर प्रहरी पहरा थियो, खाना पिउन राम्रै व्यवस्था थियो । गाउँघरतिरबाट भेटघाट गर्न आउनेहरूलाई टाढैबाट हेर्न तथा गफ गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

चौध दिनसम्म एकान्तवासमा बसुन्जेल सबैभन्दा धेरै याद आमाको आयो, त्यसपछि दिदीहरु र शर्मिला अनि दौँतरीहरूको । भेट्न आउनेहरूको लामै लिष्ट बन्यो तर यथार्थमा आउनेको सङ्ख्या चाहिँ औँलामा गन्न सकिने थियो, आमा, कान्छी दिदी र साइँली दिदी मात्र । समय बिताउने माध्यम बने स्थानीय रेडियोहरू; तिनकै गीत सङ्गीत र समाचारहरूले दिन र रात बिते। बर्षात भर्खर सुरुवात भएको थियो, पानी पर्न सुरु भएको थियो। सिमसिमे पानीमा टिनका छानाबाट आएको सङ्गीत जीवनको आधार झैँ अनुभूति भएको थियो । आफन्तहरूको याद र रोगको त्रासबीचको चौध दिने बसाइँमा जीवनको यथार्थ बुझ्ने अवसर पाइयो।

यथार्थमा क्वारेन्टिन बसाई एउटा नयाँ सिकाई त भयो नै, समाजका आफ्ना भनाउँदाहरूले तथा अन्य समेतलाई नजिकबाट चिन्ने अवसर पाइयो। सामाजिक रूपमा आफूबाट अरूलाई रोगको सङ्क्रमण नसरोस् भनेर आफू एकान्त बासमा बसे पनि समाजले भने साँच्चै कोरोनाको खानी कै रूपमा एकान्तबासीलाई लिने रहेछन् । धेरै पटक आफूलाई निरोगी प्रमाणित गरे पनि अझै शङ्का कै नजरमा हुनु पर्ने रहेछ । तर म मा नकारात्मकता छैन, खास किनकि मैले त्यो चौध दिने बसाइमा आफूलाई नजिकैबाट चिनेको छु, आफ्नो क्षमता पहिचान गरेको छु, परिवारको महत्त्व बुझेको छु। सामाजिक जिम्मेवारी बुझेको छु, गाउँघरका परम्परागत सीप, खाद्य परिकार तथा उत्पादनको महत्त्व बुझेको छु । अब समाजले मलाई घृणा गरे पनि, मलाई देख्दै सशङ्कित भए पनि बाँकीलाई रोग सम्बन्धमा बुझाउनेछु, समाजमा आपसी समन्वय र सहकार्यको वातावरण कायम गर्न प्रयास गर्नेछु । आफ्नै पाखो बारी तथा छिमेकमा बाँझो रहेको खेतबारी बरु भाडामा लिएर खेती गर्छु, आफ्नै माटो पसिनाले भिजाउँछु । यतैको समाज परिवर्तन गर्न प्रयास गर्छु। मलाई म चिनाउने क्वारेन्टाइन अनि व्यवस्थापन गर्ने सरकार प्रति आभार व्यक्त गर्छु। अबका सपना यहीँ सजाउने प्रण गर्दछु, मेरो भागको देश सिँगार्ने जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेछु ।

Tags :
प्रतिक्रिया दिनुहोस