विवाह ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवाह !


२० भाद्र २०७७, शनिबार


आज गरिमा धेरै खुसी छे । स्वाभाविकरुपमा खुसी हुने कारण पनि छ । आज उसको लागि जिन्दगीको एक महत्त्वपूर्ण दिन अर्थात् समाजको अङ्ग भएर रहे पीछ जिन्दगीमा एकचोटी गर्नै पर्ने एक महत्त्वपूर्ण कार्य शुभ विवाहको मिति तय भएको दिन । हो उनको पनि विवाह हुँदै छ । र, आफ्नो नजिकिँदै गरेको विवाहको दिनले उनमा यो पललाई भोग्ने अरूलाई झैँ केही कौतूहल, केही उत्साहित अनि थोरै दुःखी वा खुसी समेत बनाउँदै छ ।

गरिमा अरू कैयौँ गरिमाहरू भन्दा फरक थिई । फरक यस अर्थमा की उनको जन्म सम्पन्न परिवारमा भएको थियो । उनका बुवा एक सरकारी कार्यालयमा अधिकृत स्तरमा कार्यरत थिए । उनकी आमा नाम चलेको कलेजमा लेक्चरर थिइन् । एक भाइकी दिदी । उनले हालसम्म जीवनमा कुनै पनि प्रकारको अभावको सामना गर्नुपरेन । गाउँबाट पढ्न भनेर काठमाडौँ आई । यहीँ सङ्घर्ष गरेर उनका बुवाले आफैलाई एक मध्यम वर्गका रूपमा स्थापित गरेका थिए । समाजमा उनको परिचय, इज्जत अनि रवाफ समेत थियो ।

गरिमाको परिवार पनि यो विवाह देखि औधी खुसी थियो । नहुन् पनि किन, उनीहरूले खोजेको जस्तै ज्वाइँ भेट्टाएका थिए । नातेदार र चिर परिचितको अगाडी धाक र रवाफ देखाउन पाएका थिए । सायद त्यसैले हुनुपर्छ २-४ दिनको कुराकानी अनि भेटघाटमा नै विवाहको कुराकानी छिनियो र कन्यादानको दिन समेत तोकियो । सबैको मुखमा गरिमाको हुनेवाला दुलाहाको चर्चा थियो । कत्तिले गरिमाको भाग्यको तारिफ गर्दै थिए भने कत्तिले डाह र रिस पनि गर्दै थिए ।

गरिमाले पाउन लागेको दुलाहा सुन्दर अनि आकर्षक थिए । तर उनको पढाई लेखाई गरिमाको दाँजोमा केही कम नै थियो । तर कसैलाई पनि उक्त कुराको कुनै मतलब थिएन । कारण उनी ग्रीनकार्ड होल्डरको रूपमा अमेरिकाका बासिन्दा थिए । काम गरे बापत डलर आम्दानी गर्थे । नेपालबाट डि.भी. लोटरी परेर खाँदा खाँदैको खरदार पदको आकर्षक सरकारी जागिर छाडेर उनी अमेरिकाको बासिन्दा बन्न पुगेका थिए, करिब ४ वर्ष जति अगाडि । गरिमाको अभिभावक आफ्नी छोरीको भविष्य सुखद् र सफल हुने कुरामा ढुक्क थिए ।

देशको दुरावस्था, अवसरको कमी र आर्थिक आकर्षण लगायतका आदि इत्यादि कारणले धनी वा गरिब, नाम कमाएका वा नकमाएका सबै आम नेपालीमा अमेरिका प्रति बिछट्टै आकर्षण रहने गरेको छ । यस्तोमा धेरैको लागि ज्वाइँ वा पति सपनाको संसार अमेरिकाको ग्रिनकार्ड प्राप्त व्यक्ति हुनु भाग्य र गौरवको कुरा समेत हुने गरेको छ ।

आखिर सबै प्रतीक्षारत रहेको विवाहको दिन पनि आइपुग्यो । विवाह धूमधामका साथ सुरु भयो । भव्य र आकर्षक वैवाहिक कार्यक्रमको लागि गरिमाको अभिभावकले थुप्रै पैसा खर्च गरेका थिए । आखिर गरिमा एक्ली छोरी थिइन् परिवारकी । समारोहमा भाग लिने पाहुनाहरूको असङ्ख्य भिड थियो । आउने र जाने पाहुनाहरूको लकोसँगै वैवाहिक कार्यक्रम पनि आफ्नै गतिमा अघि बढ्दै गयो । हेर्दा हेर्दै विवाहको अन्त्यमा आउने त्यो क्षण पनि आइपुग्यो । दुलही अन्माउने । धेरैको आँखामा बिदाइको क्षणमा देखिने आँसु देखियो । वातावरण एकाएक बोझिल बन्न पुग्यो । गरिमालाई पनि यो वातावरणले एक्कासि रुवायो । केही अघिसम्म आनन्दित र उत्तेजित उनको मनलाई एकाएक वोझिल तुल्यायो यो पलले । उनी आजबाट एक पराईको अर्धाङ्गिनी बन्न पुगीन् । हिजोसम्म उनी आफ्नो इच्छा र चाहना घुर्की र जिद्दीले पुरा गराउँथिन् आफ्ना अभिभावकबाट । उनको लागि सांसारिक नियम र अनुशासन त्यत्ति कडा थिएन । तर आज जिन्दगीलाई हिजोभन्दा फरक ढङ्गले बाच्नुपर्ने सँघारलाई उसले पार गरी, जन्म घरबाट बिदाइको रूपमा ।

समय अक्सर गरेर थाहै नपाई बित्ने गर्छ । तर तीता मीठा अनुभूतिलाई भने छाडेर जाने गर्छ । गरिमा जोडीको समय पनि भेटघाट, घुमघाम आदिमा आफ्नो ढङ्गले बित्दै गयो । अनि यस प्रकारले हेर्दाहेर्दै गरिमाको दुलाहाको अमेरिका फर्कने दिन पनि नजिक आइपुग्यो । उनी १ महिनाको छुट्टीमा नेपाल आएका थिए । र, उनी छुट्टीको लगभग अन्त्यतिर थिए ।

भोलि उनको अमेरिका प्रस्थान गर्ने दिन थियो । रातभर गरिमाका श्रीमान्-श्रीमतीले कुराकानी गरेरै बिताए । गरिमाका श्रीमान्ले गरिमालाई आफू पुग्नासाथै अमेरिका झिकाउनको लागि पहल गर्ने आश्वासन दिए । बिछोडको पीडा दुवैको लागि असह्य भइरहेको थियो । दुवैको मन तड्पिरहेको थियो ।

गरिमाको श्रीमान् लाई एयरपोर्टमा बिदाइ गर्न थुप्रै परिचितहरू आएका थिए । साथीभाइका साथै घर र ससुरालीबाट आफन्तका रूपमा । जब उनका श्रीमान् उनीलगायत सबैसँग बिदा भएर सुरक्षा जाँच तर्फ लागे, गरिमाले बिछोडको दुई थोपा आँसु खसालिन् र कसैले नदेख्ने गरेर पुछिन् ।

समय आफ्नै ढङ्गले बित्दो थियो । गरिमालाई हरेक दिन लामो र उदास लाग्दो लाग्थ्यो । यद्यपि उनी हरेक दिनजसो स्काईप र भाईबर मार्फत आफ्नो श्रीमान् सँग कुराकानी गर्थिन् । अनि कहिले काहीँ दुवैको बिच इमेल अनि फेसबुकको माध्यमबाट अनुभूति र फोटोको आदान प्रदान पनि हुन्थ्यो । कुराकानीका क्रममा गरिमा आफूलाई छिट्टै अमेरिका बोलाउन आग्रह गर्ने गर्थिन् । उनका श्रीमान् भने छिटो बोलाउन चाहेको तर विविध कारणले गर्दा केही समय लाग्ने बताउँथे । यस्तै प्रकारले समय बित्दै थियो । अनि गरिमाको अमेरिका पुग्ने चाहना लम्बिँदै थियो ।

आज बिहानै देखि काग घरको आँगनैमा आएर ठुलो ठुलो स्वरले कराउँदै थियो । आकाश डम्म बादलले ढाकेको थियो । घरको काममा भान्छामा छिरेकी गरिमालाई किन किन २-४ दिनदेखि नरमाइलो लागिरहेको थियो कारण आफ्नो श्रीमान् सँग कुराकानी र सम्पर्क हुन पाएको थिएन । उनले फटाफट ससुराको लागि दूध अनि परिवारका अन्य सदस्यका लागि चिया तैयार गरिन् अनि घरको काम गर्नेलाई पुर्‍याउन अह्राइन। एक घुट्को चिया उनको मुखमा नपर्दै घरको कामदारले उनको ससुराले उनलाई बोलाएको जानकारी दिए । ससुराको कोठामा उनी पुग्दा सासू एक छेउमा बसेर रुँदै थिइन् । ससुरा झोक्राएर बसेका थिए । उनले पठाएको दूध र चियाको भरिएको कप टेबुलको एउटा कुनामा त्यत्तिकै थियो । अज्ञात डरले उनको मुटु ढक्क फुल्यो ।

गरिमाले जुन खबर पाइन् त्यो खबर उनको सम्पूर्ण खुसी चुँड्न पर्याप्त थियो । अमेरिकामा उनको श्रीमानको  हत्या भएको थियो । एक पवमा रक्सी खाने क्रममा भएको झडपमा परेर उनको श्रीमानको ज्यान गएको थियो । उनले खबर पाए लगत्तै आफू मुनिको जमिन भासिएको महसुस गरिन् ।

लगातार आफन्तको फोन आउने क्रम सुरु भयो । धेरै आफन्त सान्त्वना र समवेदना दिन घरैमा भेला भएका थिए । अप्रत्याशित घटनाका कारण घरमा एक प्रकारको रुवाबासी नै चल्दै थियो । तर मौन थिइन् गरिमा । उनको सोच कतै शून्यमा गएर अड्किएको थियो । उनको अगाडी पुगेर सान्त्वना र सहानुभूति दिनेको आवाजसम्म पनि उनले सुनेकी थिइनन् । उनको कानमा मात्र उनको श्रीमानको आवाज गुन्जँदै थियो । आँखामा श्रीमान् सँग बिताएको पलको दृश्य नाच्दै थियो ।

आखिर रोएर मात्र पनि जिन्दगी नचल्ने रहेछ । घरमा उनको श्रीमानको शव लिन जाने कुरा चल्यो । सबैको सल्लाह र निर्णयमा श्रीमानको शव बुझ्न अनि श्रीमानको हत्या सम्बन्धी केसको लागि गरिमा आफ्नो ससुराको साथ अमेरिका जान तैयार हुन्छिन् । हतार हतार दूतावासमा भिसाको लागि निवेदन र डकुमेन्ट बुझाइयो । र, भोलि उनलाई ईन्टरभ्यूको लागि दूतावासमा उपस्थित हुनु छ ।

उनी छाँगाबाट खसेजस्तो भइन् । आफ्नो प्राण शरीरबाट अलग्गिए जस्तो भइरहेछ उनलाई । चारैतिर अँधेरो छाएजस्तो भइरहेछ । उनी भर्खरै बाहिरिएकी हुन् दूतावासबाट इन्टरभ्यु दिएर । इन्टरभ्यु लिने क्रममा उनलाई जुन कुरा भनियो त्यो उनको लागि कल्पना भन्दा बाहिरको कुरा थियो । इन्टरभ्यु लिनेले उनको श्रीमानको विवाह उनले डकुमेन्टमा पेस गरेको मिति भन्दा धेरै अघि अरू नै सँग भइसकेको र उनी हाल अमेरिकामा नै रहेको जानकारी दिँदै गरिमाले पेस गरेको कागजातको आधारमा उनलाई भिसा दिन नसकिने जानकारी गराइयो । साथै उनका ससुरा पनि भिसा प्राप्त गर्न असमर्थ रहे ।

अब भने असहज स्थिति उत्पन्न भएको थियो । सबैले अमेरिकी दूतावास र यसको भिसा दिने प्रणालीको आलोचना गरे । अझ एक कदम अघि बढेर कत्तिले त यो अमेरिकाको नेपालप्रतिको हेपाहा प्रवृत्ति भएको र यसको लागि हाम्रो सिस्टम र नेताहरूको बानी र व्यवहार जिम्मेवार रहेको भनेर तिखो आलोचना समेत गर्न भ्याए । धेरैको नजरमा यस असहज परिस्थितिमा भिसा नपाउनु एकदमै दुःखको कारण बन्न पुग्यो । तर गरिमाको सोचले भने काम गरिरहेको थिएन । दूतावासले दिएको जवाफले उनमा अझ पीडा थपिदिएको थियो । उनको विवाह हुनुअघि नै भिसाको लागि उनको श्रीमानले दूतावासमा पेस गरेको कागजातमा विवाहित देखिनु तर सबैको मुखबाट उनको त्यत्ति बेला विवाह नभएको चर्चा हुनु आदि इत्यादि उनले केही पनि सोच्न सकिरहेकी थिइनन् ।

तर कुनै पनि प्रकारले शव नेपाल ल्याउनु थियो । अमेरिकामा रहेका आफन्तहरूलाई गुहारियो । नेपाली दूतावासलाई अनुरोध गरियो । अमेरिकास्थित विभिन्न नेपाली संघ संस्थालाई सहयोगको लागि आग्रह गरियो । र सबैको २ महिना लामो अथक प्रयास पछि बल्ल तल्ल शव नेपाल आउने भयो ।

यता यो घटना घटेको दिनदेखि नै गरिमा लगायत उनको घर र माइत पक्षले ठुलो मानसिक यातना झेल्नुपर्‍यो । गरिमाले यस अवधिमा झेल्नुपरेको मनोदशाको त के कुरा गर्नु र ? यता उनकी सासू हरेक पल रोएरै बिताउँथिन् । उता उनका ससुरा र देवरको धेरैजसो समय विभिन्न कामको भाग दौडमा नै बित्ने गरेको थियो । उनी भने न मन खोलेर रुन सक्थिन्, न आफ्नो मनलाई राम्ररी सम्झाउन र सान्त्वना दिन सक्थिन् । वैवाहिक जीवनलाई राम्ररी भोग्न पनि नपाउँदै र श्रीमान् सँग केही समय पनि साथसाथै बिताउन नपाउँदै अनि एकले अर्काको बानी बेहोरा पनि राम्ररी थाहा पाउन नपाई उनको जिन्दगीले यो पलको सामना गर्नु परेको थियो । यो कस्तो भाग्यको लेखा ? यो कस्तो विडम्बना ? अनि यो कस्तो दुर्दशा ?

आज गरिमाको श्रीमानको शव नेपाल आई पुग्यो । काठको बाकसमा राखेर ल्याइएको शवलाई उनले धेरै बेरसम्म एकटकले हेरिरहिन् । केही फुलेको अनि केही कालो भएको शव देखेर उक्त शव आफ्नो श्रीमानको हो की होइन भनेर उनले निक्र्यौल गर्न सकिनन् । तर आँखा धमिलो भएपछि उनले थाहा पाइन्, आँसु उनको चिउँडोबाट जमिनतिर झर्दै रहेछ । वातावरण चारैतिर यस्तै कोलाहलमय थियो । उनका सासू, ससुरा लगायत धेरैको आँखामा आँसु थियो । अझ उनकी सासूलाई त सम्हाल्न नै हम्मे हम्मे परेको थियो सबैलाई । तर जे जस्तो भए पनि शवको सद्गत गर्नु थियो । र, गरियो पनि । एक पलमै उनको श्रीमानको अस्तित्व सदाको लागि यस धर्तीबाट समाप्त भयो ।

गरिमाको श्रीमानको अस्तित्वको समाप्तिसँगै गरिमाले थाहा पाइन् । अमेरिकी दूतावासले उनलाई भिसा नदिनुको कारण पनि ।

डि.भी. लोटरी परेको जानकारीसँगै बिभिन्न परिचीत अपरिचित व्यक्तिले गरेको निरन्तरको सम्पर्क र अनुरोध अनि ठुलो रकमको लोभमा परेर कुनै अपरिचित महिलासँग नक्कली विवाह गरेर अनि नक्कली कागजात पेस गरेर उक्त महिलालाई गरिमाको श्रीमानले आफ्नो श्रीमतीकोरुपमा भिसा दिलाएका रहेछन् । जसको फलस्वरूप गरिमालाई अमेरिकी दूतावासले उनको श्रीमानको पहिल्यै विवाह भइसकेको र उनी उक्त महिला नभएको जानकारी दिँदै श्रीमतीको रूपमा भिसा दिन नसकिने भन्दै उनको भिसाको अनुरोधलाई खारेज गरेको थियो ।

गरिमालाई सानै बेला देखि सेतोरँग त्यत्ति मन पर्दैन थियो । बुबा मामुले सेतो रङ्ग धेरै भएको लुगा उनलाई ल्याइदिएमा झगडा गरेर उक्त लुगा लगाउन इन्कार गर्थिन् । तर आज भाग्यले नै उनलाई त्यो मोडमा ल्याईपुर्‍याएको थियो । जहाँ उनले मन परे पनि नपरे पनि कम से कम केही समयको लागि सेतो रङ्गलाई स्विकार्नु थियो । आफ्नो लागि नभए पनि समाजलाई देखाउनको लागि, जसको लागि केटाकेटी बेलामा जस्तै न कसैसँग घुर्की देखाउनु सम्भव थियो न कसैसँग रिसाउनु । केटाकेटी बेलादेखि नै गरिमा एकदमै चुलबुले थिइन् । नाना भातीका बदमासी गरेर रमाइलो गर्न उनलाई मन पर्थ्यो । उनी घर परिवार, साथी सङ्गी, आफ्ना परिचित सबैको प्रिय थिइन् । तर आज हाँस्ने अनि हँसाउने बानीमा पूर्णविराम लगाएर भाग्यले उनलाई यो सबै बानीबाट मुक्त हुँदै गम्भीरता अपनाउन र यसैमा रमाउन बाध्य पारेको थियो ।

٭٭٭٭٭٭٭٭٭٭٭

Tags :
प्रतिक्रिया दिनुहोस