सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


प्रशासन संवाददाता

१४ भाद्र २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

सो क्रममा सभामुख सापकोटाले जोखिममा परेका बस्तीको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत ढाँचा बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित रकम निकासालगायत विषय उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित काम यथाशीघ्र अघि बढाइने बताए । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । गत साउन ३० गतेको लिदी पहिराबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सौर्यबत्ती, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामग्री हस्तान्तरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायत स्थानमा बाढी र पहिरामा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस