भन्छ्यौ विवाह गरौँ अनि के हुन्छ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्छ्यौ विवाह गरौँ अनि के हुन्छ ?


१३ भाद्र २०७७, शनिबार


भिरको थाप्लोमा
तल लर्किएको बाबियोको
गाँज जस्तै
सर्लक्क परेको
सुनौलो लामो कपाल
अनार दाना जस्तै
टम्म मिलेका ती दन्त लहर
मृग नयनी
त्यो चन्द्रमा जस्तो मुहार
र मधुर वाणी
त्यसैमा त्यो मृदु मुस्कान
शिल्पी कालिगडले
फुर्सदमा बनाए जस्तो
कोमलाङ्गि वदन
साँच्चै मादकतापूर्ण छ ।

तिम्रो रूप‚ सौन्दर्यमा
मोहित हुने
एक से एक युवाहरू छन्
तिमीलाई
आरामदायी गाडीमा घुमाउने
आलिसान महलमा बसाई
सोह्र शृङ्गारमा सजाएर
सुख सयलमा
रानी बनाउन
तँ छाड म छाड गर्ने
लालायित सुन्दर
युवाहरूको जमात तयार छ ।

तै पनि तिमी
त्यो सब बेवास्ता गर्दै
कच्याक कुचुक कुच्चिएको
सिलावरको डेक्ची जस्तो
मेरो यो कुरूप थोपडा
यी बल्ढेङ्ग्रे आँखा
र फोन्द्रे नाक
जिङ्ग्रिङ्ग परेको
सिरुघारी जस्तो कपाल
झुसीलकिरा झैँ जुँगामा
छन्द न बद्धको शरीर
देख्दा देख्दै पनि
म सँग आकर्षित छ्यौ
र भन्छ्यौ
विवाह गरौँ ।

यो सब कुरूपताको
बाबजुद पनि
मेरो विद्धतामा लट्ठिएर
एकोहोरो रटान लगाई रहन्छ्यौ
हामी विवाह गरौँ ।

तिम्रो मान्यता छ
मेरो विद्धता
अनि तिम्रो सुन्दरताको
मिलनबाट जन्मने सन्तान
साँच्चै अलौकिक बन्ने छ ।

उसको सुन्दरता
र विद्धताको ख्यातिले
देश देशावर चर्चा पाउने छ
हाम्रो गरिमा बढ्ने छ
हाम्रो प्रतिष्ठा उँचो हुने छ
तब सन्तति प्रति गर्व गर्दै
आनन्द साथ जिउने छौँ
र उसको कीर्तिले अमर हुने छौँ ।

तर म भन्छु
सम्भावना त बराबर हुन्छ
यदि त्यो सन्तान
जर्ज वनार्ड शा ले भने झैँ
म जस्तै कुरूप
र तिमी जस्तै स्वाँठ बुद्धिको
जन्मियो भने
के हुन्छ ?
साँच्चै गम्भीर भई सोच त
अनि के हुन्छ ??
…अस्तु…
[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस