मेरो काठमाडौँमा अरू को नै छ र सर ? एउटा हजुर अनि अर्को भगवान् पशुपतिनाथ । मीठो मुस्कान सहित अरुणा ले चाकरी पस्की । हुनु के थियो र ?
हाकिमको अनुहार चम्कियो । अनौठो भावभङ्गीसहित सोध्यो – ‘केही अप्ठ्यारो छ र अरुणा जी ?’
हाकिम सा’पको आशीर्वाद भइन्जेल मलाई के अफ्ठयारो होला र ? अझै मस्का लगाइ उसले ।
उनी अफिसमा आएको महिना दिन पनि बितेको थिएन । काम गर्न रुचि नराख्ने तर सानातिना सबै अवसरहरू उसैले पाउने भएपछि अन्य सहकर्मीको आँखाको तारो बनीन् उनी । तर, हाकिमसँगको उसको सम्बन्धकै कारण त्यो असन्तुष्टि अभिव्यक्त गर्ने जोखिम चाहिँ कसैले पनि मोलेन । उसले पनि हाकिमको आशीर्वाद पाइरही।
समयसँगै, हाकिम अरुणासँग अझ नजिकिइरहेको थियो । ‘अरुणा जी’बाट सुरु भएको सम्बोधन ‘हाकिम सा’प’ भयो । अरुणा हाकिमकी पनि हाकिम भइन् ।
हाकिमले सोच्थ्यो, ‘आखिर भाग्यमै दुई जना लेखेको छ भने मैले के नै गर्न सक्छु र !’
एक दिन हाकिमले भावुक भएर सुनायो, ‘मेरी हाकिम मलाई निन्द्रा लाग्दैन आजकल, तिमीसँग विवाह अघि नै भेट नभएकोमा दुःख छ मलाई,’ अझै थप्यो, ‘म अविवाहित थिएँ भने, हाम्रो विवाह सम्भव थियो मेरी हाकिम ?’
अरुणाले ‘सर म्यासेन्जरमा चेक गर्नु न है’, भनेर फोन काटीन् ।
म्यासेन्जरमा उसले कार्यालयकै अर्को सहकर्मीसँग खिचेका केही तस्बिरहरू पठाएकी थिईन् ।
हाकिमले भने आफ्नो अनुत्तरित प्रश्नसँगै अरुणाका शब्दहरू सम्झिरह्यो …। ‘सर, मेरो काठमाडौँमा अरू को नै छ र ? एउटा हजुर अनि अर्को भगवान् पशुपतिनाथ…!