को आफ्नो को विरानो ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

को आफ्नो को विरानो ?


६ भाद्र २०७७, शनिबार


विशाल अफ्रिकी घाँसे मैदानमा
विचरण गर्दै हज्जारौं वर्ष
संगै कन्दमूल खायौं
सामूहिक शिकार गर्यौं
ति हाम्रा ढुङ्गे हतियार
मिलेर गर्यौं आगो आविष्कार
पोलेर खान सिक्यौं
मिलेर खान सिक्यौं
सामूहिकताको सिद्धान्तले
समुहमा बाँच्न सिक्यौं ।

कति जङ्गली जन्तु संग
विषालु विच्छि र सर्प संग
अर्कै प्रजातिका झुण्ड संग
निरन्तर लड्दै र भिड्दै
समुहको सुरक्षा गर्दै
जहाँ शिकार भेटिन्छ
जहाँ बाँच्ने अनुकुलता हुन्छ
खोज्दै र विश्राम गर्दै
निरन्तर यात्रा गर्यौं ।

संगै भेटिन्थे प्रतिष्पर्धि
कहिले नियाण्डरथल
त कहिले अष्ट्रेलोपिथेकस
कहिले क्रोम्याग्नन् जस्तै झुण्ड अनेक
बसेर भेला, बैठक
निर्णय गर्यौं त्यसै बखत
ठूलो भो बथान हाम्रो
बस्नु त संगै राम्रो
संकट हुँदै गयो शिकारको
तसर्थ छुट्टिएर हामी
लागौं चारै तिर
जहाँ हुन्छ अनुकुलन
यो वंश बाँच्न बचाउन ।

कोहि अमेरीका, यूरोप पस्यौं
कोहि उद्गम थलो अफ्रिकै बस्यौं
कोहि बेविलोन, इजिप्ट, चाइनातिर
कोहि सुमेरु चहार्दै
सिन्ध घाटी उर्वर पार्दै
सामूहिकताको गीत गाउँदै
गङ्गा तटमा रम्दै रमाउँदै
विशाल महाद्वीप भारत झर्यौं
पुण्य भूमी नेपाल सर्यौं ।

होमोस्यापिन्स हाम्रो बाजेका
विश्वभर फैलिएका सन्ततीहरु
आफै हामी आर्य, अनार्य बनायौं
द्रविड, निग्रो, मङ्गोल बनायौं
विभेदको विषाक्त घोल खन्यायौं
स्वतन्त्र विचरण गर्ने
हाम्रो साझा धर्तीमा
आफ्नै वन्धु निषेध गर्न
भिमकाय पर्खाल ठड्यायौं
अग्ला अग्ला काँडेबार लगायौं ।

एकै पूर्खाका हामी सन्तान
के ले बनायो हामीमा फरक पन ?
आफ्नै दाजुभाइ मार्ने
हतियार बनायौं
गोला, बम, बारुद बनायौं
कहिले हिरोशिमा हान्यौं
कहिले नागासाकी हान्यौं
अफगानिस्तान, यमन, सिरिया डढायौं
रुवाण्डा, सुडान कत्लेयाम गरायौं
बदलाको भावनाले
ट्वीन टावर उडायौं
किन आफ्नै वंशको
विनासमा रमायौं ?

हेर उसको नसा नसामा
त्यहि होमोस्यापेन्स पूर्खाकै
रातो रक्त प्रवाह छ
तिम्रो पनि शरिरमा
त्यहि वंशकै रगत छ
जाँच तिम्रो रगत
जाँच उसको रगत
रगतको सुक्ष्म सुक्ष्म कोषिकामा
तिम्रो डिएनए उहि छ
उसको डिएनए उहि छ
न त्यहाँ नियाण्डरथल छ
न अष्ट्रेलोपिथेकस छ
छ त केवल साझा पूर्खा
एउटै होमोस्यापेन्स छ ।

त्यसैले छोड
यी बम, बारुदका कुरा
मेटिदेउ यी विभाजनका रेखा
हटाईदेउ वाद, उपवादका दर्शन
हामी एउटै बाजेका सन्तान
दर्शन छ त केवल
विश्ववन्धुत्वको दर्शन
वाद छ त एउटै
मात्र मानवतावाद
हामी एउटै धर्तीका धर्तीपुत्र
को छ यहाँ आफ्नो
अनि को छ विरानो ?
सम्बन्ध खोज्दै जाउँ पुरानो
साझा धर्ती एउटै छ
एउटै आकाशको छानो
मिलेर सबले उब्जाउँ
बाँडेर खाउँ त्यो मानो ।
……अस्तु…..
[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस