चितवनमा निजी खर्चमा पिसिआर परीक्षण आजदेखि शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनमा निजी खर्चमा पिसिआर परीक्षण आजदेखि शुरु


२ भाद्र २०७७, मंगलबार


चितवन । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् ।

यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न शुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरु गरिने छ । यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले जानकारी दिए ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । छ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । ठूला सङ्घसंस्था, बहुर्राष्ट्रिय कम्पनीले कर्मचारी र मजदूरको नमूना परीक्षणका लागि कुराकानी गरिरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस