विद्युत प्राधिकरण गर्व गर्न लायक सार्वजनिक संस्था हो : मन्त्री पुन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विद्युत प्राधिकरण गर्व गर्न लायक सार्वजनिक संस्था हो : मन्त्री पुन


प्रशासन संवाददाता

१ भाद्र २०७७, सोमबार


काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरण मुलुकले गर्व गर्न लायक सार्वजनिक संस्थाका रुपमा स्थापित भएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले पछिल्लो समय प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवामुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा खुसी व्यक्त गरे । प्राधिकरणको चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमता सुधारका कारण इतिहासमै सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको, घरेलु ग्राहकको विद्युत महसुल घटाउन सफल भएको तथा मासिक १० युनटिभन्दा कम विद्युत खपत गर्ने करिब ८ लाख विपन्न ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुलमा छुट दिइएको मन्त्री पुनले स्पष्ट पारे ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा नीति कार्यक्रममार्फत मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । ‘विद्युत महसुल दरमा वृद्धि नगरीकनै चुस्त र सुदृढ व्यवस्थापन एवं कार्यक्षमतामा सुधार ल्याई प्राधिकरण आफ्नो इतिहासमा सबैभन्दा बढी सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ’, प्राधिकरण स्थापनाको ३५औं वर्ष पुरा भएको अवसरमा सोमबार शुभ–कामना सन्देश जारी गर्दै मन्त्री पुनले भने’, प्राधिकरण आफ्नो इतिहासमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका करिब ८ लाख ग्राहकलाई पूर्ण रुपमा विद्युत महसुल छुट दिएबाट प्राधिकरणले आफूलाई नाफामुखी मात्र नभई सेवा मुखी संस्थाका रुपमा स्थापित गर्न सकेकामा म गौरवान्वित छु ।’

सन्देशमा मन्त्री पुनले प्राधिकरणले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको योजना तथा नीतिहरुलाई आफ्नो केन्द्रीय योजना तथा सञ्चालन प्रक्रियामा समावेश गरेर कार्यान्वयन गरी नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याएको उल्लेख गरेका छन् । मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीचको एकता र समन्वयबाट विद्युत आपूर्ति वृद्धि गर्न एवं स्वदेशमा उत्पादित विद्युत हरेक घरधुरी र व्यापार व्यवसायका लागि सुलभ दरमा उपलब्ध गराउने प्रतिबद्धता मन्त्री पुनको छ ।

केही वर्ष अगाडिसम्म मुलुकले अत्याधिक विद्युत अभावको समस्या झेल्नुपरेको स्मरण गर्दै मन्त्री पुनले विद्युत अभावका कारण घरायसी तथा औद्योगिक ग्राहकहरु १६ घण्टासम्म लोडसेडिङमा बस्न बाध्य भएको अवस्थाका कारण राष्ट्रिय अर्थतन्त्रमा हदैसम्मको नकारात्मक असर पार्नुका साथै सबैलाई एक प्रकारको पीडा दिए पनि स्वदेशी विद्युतको उत्पादन वृद्धि, माग र आपूर्तिको व्यवस्थापन, प्राविधिक तथा व्यापारिक चुहावट न्यूनीकरण र प्रसारण तथा वितरण प्रणालीमा सुधारका कारण हाल नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सकिएको उल्लेख गरे ।

स्वदेशमै विद्युत उत्पादन वृद्धि गर्ने उद्देश्यले प्राधिकरणले नीजिसहित विभिन्न प्रवद्र्धकहरुसँग करिब ६ हजार मेगावाटको विद्युत खरिद सम्झौतामा हस्ताक्षर गरेकोे र प्रसारण तथा वितरण संरचनाहरुको सुधारमा समेत दत्तचित्त भई कार्य गरिरहेको मन्त्री पुनको भनाइ छ ।

उनले ५ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन तथा ढल्केबर सवस्टेशनको ४ सय केभीमा स्तरोन्नति कार्य ऊर्जा क्षेत्रको प्रमुख कोसेढुङ्गाका रुपमा रहने भन्दै त्यसबाट नेपालको ऊर्जा सुरक्षामा सुधार हुने र क्षेत्रीय विद्युत व्यापारमा बढावा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

बढ्दो विद्युत खपत राष्ट्र तथा नागरिकको वित्तिय आर्थिक सुधारको सूचक भएको उल्लेख गर्दै मन्त्री पुनले केन्द्रीय विद्युत प्रणालीको विस्तार गरी तथा वैकल्पिक ऊर्जाको माध्यमबाट हरेक नेपालीको घरधुरीमा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य हासिल गर्नु प्राधिकरणको मूल उद्देश्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेशको सीमाङ्कनअनुसार प्राधिकरण क्षेत्रीय कार्यालयहरुको स्थापना गरी नामाङ्कनसमेत गरिएको र विद्युत नियमन आयोगको गठनमार्फत ऊर्जा क्षेत्र पुनर्संरचनाको काम सम्पन्न भएकाले त्यसले ऊर्जा क्षेत्रको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने बताए ।

वित्तिय अवस्थामा सुधार आएको वर्तमान अवस्थाले प्राधिकरणलाई कुशल सार्वजनिक संस्थाका रुपमा रुपान्तरित भएको भन्दै मन्त्री पुनले देश र जनताको सेवामा समर्पित प्राधिकरणका सबै कर्मचारी वर्गमा बधाइका साथै प्राधिकरणको आगामी वर्षहरु थप सफल होउन् भन्ने शुभ–कामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस