बा ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बा !


३१ श्रावण २०७७, शनिबार


‘बा’ शब्द कति गर्भिलो छ मर्म स्पर्शी छ । बा भन्दा बित्तिकै शक्ति प्रदान हुने । बा ले कहिल्यै कुभलो नचिताउने सधैँ ज्ञान दिने, प्रत्येक क्षण र पलमा हौसाइ रहने साहस दिने सही मार्गमा लगाउन मार्ग चित्र कोरिरहने । दुख्दा पनि बा, खुसीयालीमा पनि बा, सुरक्षामा पनि बा, कसैको खप्की खाँदा पनि बा, ज्ञान हासिल गर्दा पनि बा । त्यसैले त बा आकाश हुनु भयो । सुरक्षाको ढाल हुन पुग्नु भयो । ज्ञानको भण्डारण र ईश्वरीय शक्ति प्राप्त गरेका बा हुनु भयो । ज्ञानको पाठशाला, प्रेम स्नेह र डरका प्रतिमूर्ति बा हो ।

बा ले मलाई काँधमा बोकेर एक दुई तीन सिकाउँदै गर्दा, क, ख, ग घोकाउँदै गर्दा ए बि सी डी को उच्चारण स्वर,व्याकरणका धनी गुरु हो बा । त्यसैले पनि मेरा ब्रह्माण्ड पाठशालाको पहिलो गुरु र दीक्षित बनाउने पहिलो ईश्वर नै बा । भनिन्छ आमा धर्ती हो उनले सबै कुरा सहन गर्नु हुन्छ बा आकाश हो जहिलेसुकै आश्रय दिइरहनु हुन्छ । त्यसैले पनि बा मेरो छहारी हो अनि मेरो टाउकोको ओत पनि हो । सुरक्षा कवच पनि हो । बा आफू पढ्न काठमाडौंको दरबार हाइस्कुलमा १० वर्षकै उमेरमा पुग्नु भएको रहेछ तर काठमाण्डौको वातावरणमा उहाँ टिक्न सक्नु भएन । अनि स्वर्गद्वारी पनि पुग्नु भएछ संस्कृत पढ्दा पुरेताइ गर्नु पर्छ भन्दै स्वअध्ययन मै घरमा रमाउनु भएछ । बा ले त्यसै बेला देखी नै वैज्ञानिक शिक्षाको महत्त्व बुझ्नु भएछ । गाउँमा सबैलाई पढ्नु पर्छ भन्ने उपदेश दिइरहनु हुन्थ्यो बा ।

बा मलाई नाच्न हौसाउनु हुन्थ्यो । कहिले कम्मरमा हात कहिले हात माथि उठाएर कहिले दाहिने फर्केर कहिले बायाँ फर्केर कहिले उठेर बहिले बसेर नाच्न पठाउनु हुन्थ्यो । बा ले हातको ताली लगाउनु हुन्थ्यो । बा ले मादल पनि बझाइ दिनु हुन्थ्यो । मेरो खुट्टामा घुँगरु लगाइ दिनु हुन्थ्यो । हार्मोनियम मुजुरा कहिले खैँजडी बजाएर कहिले भजन कहिले गीत गाइदिनु हुन्थ्यो अनि बा को इसारामा म नाच्थेँ त्यसैले मेरा बा र्नित्य निर्देशक, मेरो सबै जीवन फिल्म जस्तो अनि बा मेरो फिल्म निर्देशक पनि हो ।

बा अन्ध विश्वासको विरोधी हुनुहुन्थ्यो कसैले धामी झाँक्री गर्ने ढयाँग्रो ठोक्ने, बाइ बोक्सी लागत लाग्ने पातलो फाल्ने जस्ता कुराहरूलाई अस्वीकार गर्नुहुन्थ्यो ।

बा कृषक पनि हो । बा को साथमा खुर्पेटो हुन्थ्यो खुर्पेटो भित्र खुर्पा पनि । बाटोमा रहेका काँडाहरू छप्काउँदै हिंडनु हुन्थ्यो अनि भन्नु हुन्थ्यो आफ्नो कुभलो चिताउने बैरीलाई यसरी नै हटाउनु पर्दछ तर हतियारले होइन कानुनको सहाराले । बा को साथमा कोदाली पनि हुन्थ्यो । ढिक कान्ला खनेर बारी बनाउनु हुन्थ्यो त्यसलाई गुल्जार बनाएर अन्न उत्पादन हुन्थ्यो । नयाँ बारीमा फलेको मकै सबैले ठुलो घोगा मलाई भनेर कराउँथ्यौ बा चुप चाप हाम्रो झगडा हेर्नुहुन्थ्यो । गाई भैँसी गोरु बाख्रा हाँस कुखुरा सबै थिए । बारीमा सबै प्रकारका फलफूल पनि थिए । बा ले मलाई साक्षी राखेर आलु बखेडा, आँप, लिची, आरु, केरा, अम्बा, अनार, निबुवा, कटहर, मौसमी सबै लगाउनु हुन्थ्यो । असोज कार्तिकमा पाक्ने आँप जिल्लाका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई पनि खुवाउनु हुन्थ्यो । हामी कहिले काहीँ बालाई चाकडीवाजको संज्ञा दिन्थ्यौ । घरको फलफूल लगेर अरूलाई दिने भन्थ्यौ तर बा घरको चिज एक्लै खान हुँदैन सबैलाई बाँडेर खानुपर्छ भन्नु हुन्थ्यो । बा को साथमा सधैभरी एउटा न एउटा फलफूल भई रहन्थ्यो । बा समीपमा बसेर जाने जो कसैले फलफूलको स्वाद लिएर जान पाउँथे । बा ले खेतमा पनि काम गर्नु हुन्थ्यो कोदाली लिएर खेतमा पुग्दा खेत खन्न सिकाउनु हुन्थ्यो । पानी हाल्न सिकाउनु हुन्थ्यो । खेतमा धानको दाइ हाल्दा खलो बनाउने, खलो ठोक्न,े खलाको चरमा धान कोचिएर नपसोस् भनेर ढुङ्गाले चर ठोक्नु पर्छ भन्नु हुन्थ्यो आफू पनि ठोक्नु हुन्थ्यो । धानको पोपटा फाल्ने, धान चुटने, परालका बिटा बनाउने सीप पनि थियो । बा को निधारको पसिना र शरीरको पसिना पनि मग मग बसाउँथ्यो ।

बा राजनैतिक कर्मी पनि हो । गाउँको उपप्रधान पञ्च हुँदै कावा प्रधान पञ्च पनि हुनु भो । गाउँमा स्कुल थिएन । बा कै अगुवाइमा स्कुल स्थापना भयो हामी त्यही स्कुलमा दीक्षित बन्यौ । बाटो घाँटो, पाटी, पौवा, मठ, मन्दिर, स्थापना गर्ने कार्यमा अग्रसर हुनु हुन्थ्यो । हामीलाई सामाजिक कार्यमा अग्रसर हुनु पर्छ भनेर सिकाउनु हुन्थ्यो । छोरा छोरीले मञ्चमा उक्लेर भाषण पनि गर्नु पर्छ, देशको नीति निर्माण गर्न कलम पनि चलाउनु पर्छ भन्नु हुन्थ्यो । सामाजिक कार्य गर्ने व्यक्तिले अरूको कुभलो चिताउनु हुन्न । आत्मा साक्षी राखेर सबैलाई समान व्यवहार गर्नु पर्छ भन्नु हुन्थ्यो । त्यसैले बा सामाजिक अभियन्ता पनि हो । बा अन्ध विश्वासको विरोधी हुनुहुन्थ्यो कसैले धामी झाँक्री गर्ने ढयाँग्रो ठोक्ने, बाइ बोक्सी लागत लाग्ने पातलो फाल्ने जस्ता कुराहरूलाई अस्वीकार गर्नुहुन्थ्यो । बाटोमा कसैले पातलो फालेका टपरीहरू देखेसम्म तुरुन्तै बाटोबाट हटाइ दिनुहुन्थ्यो । अन्धविश्वास ढोँगी हो भन्नु हुन्थ्यो भने कतिपय समाजले अङ्गालेका सांस्कारिक क्रियाकलापलाई अङ्गीकार गर्नुहुन्थ्यो । २०४६ साल चैत्र २६ गते बहुदल आएको कुरा राती पौने ११ बजे बा लाई भन्दा बा औधी खुसी हुनु भएको थियो । बा लोकतन्त्र वादी, अग्रगामी विचारका प्रतिमूर्ति हुनुहुन्थ्यो ।

बा सुरक्षाकर्मी पनि हो । २० वर्षको उमेरमा शेरनाथ गणमा भर्ना हुनु भएको थियो । देशको सुरक्षा कवचमा भाग लिन काठमाडौंको टुँडिखेलमा परेट खेल्नु भयो । दोस्रो विश्वयुद्धको समयमा अफगानिस्तानको सीमासम्म पनि पुग्नु भयो । भोक प्यासले छटपटिँदा र देशको लडाइमा होमिदा कस्तो हुन्छ भन्ने साहसिक कथा सुनाउनु हुन्थ्यो । बा ले सेनामा भर्ना भएका समयमा ल्याएको खुकुरी अहिले पनि छ । त्यो खुकुरीको आयु आजका मितिसम्म ८२ वर्ष पुगेछ । देशको सुरक्षा कर्मी भएको नाताले बा हाम्रो सेनापति हो जसले साहस युद्ध र कला पनि सिकाउनु भयो ।

बा डाक्टर पनि हो ज्वरो बढी आयो भने घोडटाप्रे सहित अरू जडीबुटी पनि थिचेर त्यसको रस खुवाउनु हुन्थ्यो । आउँ परे खरानी थिग्राएर खुवाउनु हुन्थ्यो । जुका परे असुरोको मन्टा जरा थिचेर त्यसको रस खुवाउनु हुन्थ्यो । काठमाडौंको सिंहदरवार वैद्यखानाबाट मिमियाँ, त्रिफलाचुर्ण, शिलाजित, मकर ध्वज लगायत धेरै किसिमका औषधी ल्याउनु हुन्थ्यो । गाउँमा आयुर्वेदिक औषधी खुवाउनु हुन्थ्यो । बा नाडी छाम्नु हुन्थ्यो घाटे वैद्यको काम पनि गर्नु हुन्थ्यो ।

बा व्यापारी पनि हो । हँसिलो पनि हुनुहुन्थ्यो । बाले घरमा किराना, फेन्सी, कपडा, आर्युबेदिक औषधिहरू पनि राख्नु भएको थियो । स्कुलबाट आए पछि बा ले दिने मिठाइ मलाई औधी मन पर्थ्यो । काठमाडौंबाट भादगाउँले कालो टोपी, ढाकाका टोपी, खास्टा, काठमाडौंको राखी बजारबारबाट चुरा पोते, टिकी पनि ल्याउनु हुन्थ्यो । हामीलाई हाम्रो पसल मन चिन्ते थियो जसलाई दोकान भन्थ्यौ । हाम्रो पसलमा सक्कली सामान पाइन्छ भन्दै धेरै टाढाबाट मान्छे आउँथे । बा ले फनबाजा लगाउनु हुन्थ्यो । अरूलाई पनि नचाउनु हुन्थ्यो आफू पनि नाच्नु हुन्थ्यो । मान्छेहरू फनबाजाको गीत पनि सुन्ने किनमेल पनि गर्ने गर्दथे । नयाँ मान्छे देखेमा सेवा सत्कार गर्नुहुन्थ्यो । एउटा आकर्षणले व्यापार व्यवसायमा राम्रो हुन्छ भन्ने उहाँको बुझाई थियो ।

बा अहिले हामी वीच हुनुहुन्न । २०४७ साल पौष ९ गते बा ब्रहमलिन भइरहेको समयमा म काठमाडौंमा थिएँ । उहाँले संसार छाडेको ११ गते कार्यालयमा थाहा पाएँ । चौथो दिनमा घरमा आउँदा बा लाई देखिन । सांस्कारिक रूपमा बा को क्रिया गरें । बा को अन्तिम संस्कारको समयमा उपस्थित हुन पाइन । त्यसैले बा ले सपनामा प्रत्यक्ष रूपमा सिकाउनु हुन्छ । बा ले सिकाइरहँदा तन्द्रामा भएजस्तो लाग्छ । झस्किन्छु , उठ्छु बा सुतेको कोठा हेर्छु । बाहिर निस्केर आँगनको वरपर पनि हेर्छु । आमा पनि २०७० साल मङ्सिर १५मा जानु भयो । बा र आमा आजकल सँगै छन् रे । बा कति कुराका ज्ञाता हुनुहुँदो रहेछ । बा कै आर्शिवादमा बा बाट बढे बढाएका सन्तानहरू डाक्टर, इन्जिनियर, वकिल, सुरक्षाकर्मी, किसान, सामाजिक अभियन्ता, शिक्षक, राजनीतिक कर्मी आदि सबै भएका छन् गणित शैलीका आफै उत्तर मिल्ने बा हामी सबैको ब्रह्मा विष्णु महेश्वर हो । बालाई कुशे औँसीमा मात्र सम्झेर कहाँ हुन्छ र सधैँ सम्झी राखौँ हुन्न र !

Tags :
प्रतिक्रिया दिनुहोस