रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छ : मन्त्री फुयाँल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छ : मन्त्री फुयाँल


२९ श्रावण २०७७, बिहिबार


वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताएका छन् ।

‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्केका मन्त्री फुयालले कुरा गर्दै २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने री काम गरिने बताए।

मन्त्री फुयाँलले नयाँवर्षका अवसरमा वैशाख १ गते रुवीभ्यालीमा विशेष पर्यटन उत्सव मनाइनेसमेत जानकारी दिए । ‘वैशाख १ गते मोटर चढेर रुवीभ्याली जाऔँ र नयाँ वर्ष मनाऔं’ भन्ने नारासमेत तय भएको जनाइएको छ ।

रुवीभ्याली मानव विकास सूचकाङ्कमा वाग्मती प्रदेशको सबैभन्दा पछाडि रहेको र हालसम्म सडकले समेत नजोडिएको क्षेत्र भए पनि पर्यटन तथा प्राकृतिक सम्पदाले धनी रहेको मन्त्री फुयाँलले बताए । रुवीभ्यालीमा मोटर पुगेपछि मोटरबाटै हिमशिखरको दृश्यावलोकन गर्न सकिने उनको भनाइ थियो । बाह्र महिना हिउँ पर्ने स्थानमा पनि सहज ढङ्गमा मोटर लान सकिने भूबनोटको फाइदा लिएर रुवीभ्यालीले विकासमा र समृद्धिमा फड्को मार्न सक्ने उनले बताए ।

यसै वर्ष काम सक्नेगरी रुवीभ्याली जोड्ने सडकमा पर्ने चार खोलामध्ये दुईमा संघीय र दुईमा प्रदेश सरकारले पुल बनाउने जनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला समन्वय समिति धादिङ, रुवीभ्याली गाउँपालिका तथा धादिङमा रहेका राजनीतिक दल, बुद्धिजीवी, पर्यटन व्यवसायी, नागरिक समाज र विज्ञसहितको उपस्थितिमा सो अन्तरक्रिया गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस