खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पहिलो वार्षिकोत्सव पछाडिको यात्रा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पहिलो वार्षिकोत्सव पछाडिको यात्रा


२९ श्रावण २०७७, बिहिबार


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०७७ साउन २८ का दिन प्रथम वार्षिकोत्सव मनायो । यो दिन भनेको पहिलो वर्षमा के कति कामहरू हुन सके के चाहिँ बाँकी कार्यसूचीमा बाँकी नै रहे र आगामी कार्यदिशाका रूपमा के तय भएको छ भनी समीक्षा विश्लेषण गर्ने दिन हो । कम्पनी स्थापनापछिको एक वर्षमा सम्भव भएका कामहरू तथा सिर्जना भएको कार्य परिवेशका सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । सबभन्दा महत्त्वपूर्ण कुरा त अबका दिनहरू के कस्तो कार्यसूची र कार्यतालिकाका साथ अगाडी बढ्छ र यसमा संलग्न जनशक्ति र टीमको निष्ठा र इमानदारिताको तह के कति रहन्छ भन्ने नै हो ।

कम्पनी ऐन,२०६३ बमोजिम नेपाल सरकारको निर्णयबाट  २०७६/०४/२८ मा स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलो वर्षमै आफ्ना कामकारवाहीलाई विभिन्न सुधारका प्रयास मार्फत थप व्यवस्थित गर्दै आएको छ। व्यावसायिक कार्ययोजना तयारी, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, सम्पत्तिको सही व्यवस्थापन, भण्डारण क्षमता वृद्धि गर्दै जाने एवं कामकारबाहीलाई सूचना प्रविधिमैत्री बनाउने पहलहरू प्रारम्भ गरिसकिएको छ। हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण सृजना भएको असहज परिस्थितिले कम्पनीको काम कारबाही सञ्चालनमा केही अवरोध गरेको भएता पनि कम्पनीले यस अवधिमा समेत उल्लेखनीय कार्यहरू गरेको छ।

कम्पनीले आफ्नो दोस्रो वर्षको यात्रामा पहिलो वर्षमा थालनी भएका राम्रा कामहरूको निरन्तरता एवं केही नयाँ कामहरूमा समेत प्रवेश गर्नुपर्ने देखिन्छ । कम्पनीको समग्र कार्यसम्पादनका प्रमुख पक्ष तथा हालको अवस्थालाई तलको तालिकामा समेट्ने प्रयत्न गरिएको छ :

कम्पनीको टिमले जारी गरेको प्रतिबद्धता
खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेल्न सक्ने एक सक्षम व्यावसायिक संस्थाको रूपमा स्थापित हुने दीर्घकालीन सोच सहित कम्पनी ऐन, २०६३ अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्थापना भएको हो । खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने, किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मूल्य एवं गुणस्तरका अत्यावश्यक वस्तु सहज र सुलभ रूपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने, उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यावसायिक क्रियाकलाप विस्तार र विविधीकरण गर्दै दिगो आय आर्जन गर्ने, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्‍याउने, कम्पनीलाई व्यवसायउन्मुख एवं उत्तरदायी बनाउने जस्ता उद्धेश्यहरु प्राप्तिका लागि हरदम प्रयत्नशील यस कम्पनीले आज स्थापनाको एक वर्ष पूरा गरेको छ ।

नेपालको संविधान, आवधिक योजना तथा समय समयमा सरकारले गरेका खाद्य, आपूर्ति तथा नागरिकको हक हितसँग सम्बन्धित व्यवस्थाहरूलाई कार्यान्वयन गर्न यस कम्पनी सदैव क्रियाशील थियो, छ र रहनेछ । हालको परिवर्तित समयमा कम्पनीले सेवामूलक व्यापार कम्पनीकोरूपमा स्थापित रहनको लागि विविध कार्य क्षेत्रहरूको पहिचान गरिसकेको छ । यसका अलावा पूर्वाधार विकास, सम्पत्तिको संरक्षण एवं भएका पूर्वाधारहरूको उच्चतम प्रयोगमा सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारसँग समन्वय गरी समग्र राष्ट्रिय हितको पहरेदारका रूपमा विकसित गर्न प्रयत्नशील रहेको छ । सार्क खाद्य बैङ्कमा नेपालको तर्फबाट राख्नुपर्ने मौज्दात र नेपाल सरकारको निर्देशन अनुसार राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा कायम राख्नु पर्ने मौज्दातका लागि सरकार समेतको प्रत्यक्ष सहयोग र निगरानीमा कम्पनी अगाडि बढ्नेछ । मूलतः नागरिकको खाद्य अधिकार, उपभोक्ताको हक एवं उत्पादन वृद्धिलाई प्रोत्साहित गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारा अनुसार आफ्नो तर्फबाट सदा क्रियाशील रहनेछ । पहिचान गरिएका कार्यक्षेत्रमा दरिलो उपस्थितिका लागि कम्पनीले व्यवसायिकता एवं पारदर्शिता अभिवृद्धि गर्दै सम्पूर्ण नागरिकमा आफ्नो सेवाको पहुँच विस्तार गर्ने प्रण गरेको छ ।

सरोकारवाला पक्षहरूसँगको सहकार्य, सहयोग र समन्वयमा स्थापनाको एक वर्षभित्रै यस कम्पनीले महत्त्वपूर्ण कार्यहरूको थालनी गरिसकेको छ । प्रथम वार्षिकोत्सवको अवसरमा स्थापनापछिको सिङ्गो एक वर्षमा भएका प्रयत्नहरूको स्मरण समेत गर्न र समीक्षा गर्दछौँ । साथै आगामी दिनहरूमा समेत निरन्तर सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै राज्यभर खाद्य तथा आपूर्ति क्षेत्रमा सरकारको दरिलो उपस्थिति सुनिश्चित गर्ने तथा रणनैतिकरुपमा व्यापार व्यवसाय सञ्चालनमार्फत आर्थिक रूपले सबल कम्पनीको रूपमा स्थापित गर्न सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

आ. व. २०७७/७८ को नेपाल सरकारको नीति तथा कार्यक्रम (कम्पनीसँग सम्बन्धित)
१.आपूर्ति प्रणालीमा सुधार एवं भण्डारण क्षमतामा वृद्धि गरिनेछ । सङ्घअन्तर्गत १ लाख मेट्रिक टन र प्रत्येक प्रदेशमा कम्तीमा ३० हजार मेट्रिक टन खाद्यान्न मौज्दात राख्ने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ग्रेडिङ कर्पोरेसन लिमिटेडको भण्डारण क्षमता बढाइनेछ। (वुदाँ नं १५७)
२.आन्तरिक वितरण प्रणालीलाई सुदृढ गर्न र आपूर्ति व्यवस्थामा पर्ने आकस्मिक अवरोधलाई सम्बोधन गर्न प्रदेश, जिल्ला र स्थानीय तहसम्म खाद्यान्नको उत्पादन, आपूर्ति र भण्डारणको अद्यावधिक प्रतिवेदन प्राप्त गर्ने प्रणाली विकास गरिनेछ। (वुदाँ नं १५९)
३. उपभोग्य खाद्यवस्तुको आन्तरिक वितरण प्रणालीमा सुदृढीकरण र खाद्य उपभोग प्रवृत्तिमा परिवर्तन गरी खाद्यान्नको आयात प्रतिस्थापन गरिनेछ । कृषि उत्पादनको बजार सुनिश्चित गर्न निजी क्षेत्रसमेतको सहभागितामा सार्वजनिक गोदामहरू निर्माण गरी खाद्यान्न बैंककोरूपमा विकास गरिनेछ।(वुदाँ नं १५९)

कम्पनीको आ.व.२०७७/७८ को लागि प्रस्तावित नीतिहरू
१. खरिद व्यवस्था
क. नेपाल सरकारको नीति, कम्पनीको आवश्यकता, बजारको माग, प्राप्त हुने व्यावसायिक प्रतिफल आदिलाई दृष्टिगत गरी न्यूनतम समर्थन मूल्य वा खुला बजार मूल्यमा खाद्य लगायतका अन्य वस्तुहरू खरिद गरिनेछ।
ख. खरिद कार्यमा स्थानीय तहसँग समन्वय गरिनेछ।
ग. खरिदसम्बन्धी काम कारबाहीहरू विकेन्द्रीकरण गरिनेछ।
घ. खरिद कार्य व्यवस्थित गर्न कम्पनीका कार्यालयहरूको क्षमता अभिवृद्धि गरिनेछ।

२. कुटानी, पिसानी तथा प्याकेजिङ व्यवस्था
क. कुटानी तथा पिसानीका लागि थप आधुनिक मिलहरू स्थापना गर्ने नीति लिइनेछ।
ख. खाद्यान्न कुटानी, प्याकेजिङ तथा भण्डारण व्यवस्थामा नयाँ प्रविधिको प्रयोग गरिनेछ।

३. ढुवानी व्यवस्था
क. खाद्यान्न ढुवानी कार्य मितव्ययी ढङ्गबाट यथा समयमा गरिनेछ।

४. बिक्री /परिचालन व्यवस्था
क. वैज्ञानिक र वस्तुगत मापदण्डका आधारमा कारोबार गरिने खाद्य तथा गैर खाद्य वस्तुहरूको बिक्री मूल्य निर्धारण गरिनेछ।
ख. दुर्गम क्षेत्रहरूमा सहुलियत मूल्यमा खाद्य तथा गैर खाद्य वस्तुहरू बिक्री वितरण गरिनेछ।
ग. स्थानीय स्तरमा खरिद/प्रशोधन भएका खाद्य तथा गैर खाद्यवस्तुहरूलाई नाफाको अवस्था हेरी सोही स्थान वा अन्य स्थानमा बिक्री गरिनेछ।
घ. मौज्दातमा रहेका खाद्य तथा अन्य वस्तुको बिक्री तथा चलानमा फर्स्ट एक्सपायर फर्स्ट आउट/फर्स्ट इन् फर्स्ट आउटको अवधारणा कार्यान्वयन गरिनेछ।
ङ. कम्पनीका सबै उत्पादनहरुलाई “नेपाल खाद्य” भनी व्राण्डिङ र बिक्री वितरण गरिनेछ।
च. कम्पनीका अतिरिक्त अन्य उत्पादकका उत्पादनहरू निजी क्षेत्रसँगको साझेदारी समेतमा बिक्री वितरण गरिनेछ।
छ. बिक्री वितरणमा सहकारी संस्था र निजी कार्यक्षेत्र डिलरको रूपमा परिचालन गरी बिक्री प्रवर्द्धन गरिनेछ।

५. मौज्दात व्यवस्थापन
क. मौजुदा गोदामहरूको मर्मत सम्भार गरी गुणस्तर सुनिश्चित गरिनेछ।
ख. भण्डारण क्षमता वृद्धिका लागि सम्बन्धित प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ।
ग. मौज्दात खाद्यान्नको नियमित अनुगमन/निरीक्षण गरी गुणस्तर कायम राख्न आवश्यक व्यवस्था मिलाइनेछ।
घ. मौज्दात खाद्यान्नको जोखिम न्यूनीकरणको लागि बिमा व्यवस्थालाई निरन्तरता दिँदै थप विस्तार गरिनेछ।

६. गुणस्तर व्यवस्थापन
क. व्यावसायिक कारोबारका लागि पहिचान भएका वस्तुहरूको गुणस्तर सम्बन्धी मापदण्ड तयार गरी लागू गरिनेछ ।
ख. मौजुदा प्रयोगशाला र उपकरणहरूलाई व्यावसायिक रूपमा प्रयोग गर्ने नीति लिइनेछ ।
ग. प्रयोगशालाको क्षमता वृद्धि गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिनेछ।

७. सङ्गठनात्मक संरचना तथा जनशक्ति विकास
क. सङ्घीय संरचना तथा कम्पनीको उद्देश्य अनुरूप तयार गरिएको कम्पनीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन अनुरूप कार्यालय व्यवस्थापन गरिनेछ ।
ख. आवश्यकता अनुसार प्रशासनिक एवं प्राविधिक कर्मचारीहरूको क्षमता वृद्धि गरिनेछ ।
ग. कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिनेछ ।
घ. निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूसँग समन्वय गरी इम्प्लोयी एक्स्चेन्ज/इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ ।

८. सुशासन तथा जनशक्ति परिचालन
क. समयमा नै भौतिक परीक्षण, आन्तरिक एवं बाह्य लेखा परीक्षण सम्पन्न गरिनेछ ।
ख. कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली तथा छिज/जर्ति नीतिलाई समयसापेक्ष एवं वैज्ञानिक बनाइनेछ।
ग. कार्य सञ्चालनका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरू तयार गरी कार्यान्वयन गरिनेछ।
घ. कम्पनीका काम कारवाहीहरुलाई प्रविधिमैत्री बनाई क्रमशः कागजको न्यूनतम प्रयोग गर्ने को मान्यता अनुसरण गरिनेछ। यसका लागि आवश्यकताअनुसार सफ्टवेयरहरूको विकास गरी प्रयोग गरिनेछ ।

९. सम्पत्तिको पहिचान, संरक्षण तथा उपयोग
क.कम्पनीको भौतिक संरचना, जग्गा जमिनहरूको लगत अद्यावधिक गरी सो को संरक्षण र संवर्द्धन गरी अधिकतम उपयोग गरिनेछ ।
ख. विगतमा खाद्यान्न हिनामिना तथा मुद्दाबाट प्राप्त जग्गालाई पूनर्मूल्यांकन सहित बिक्री गरी प्राप्त रकम व्यावसायिक प्रयोजनका लागि उपयोग गरिनेछ।
ग. मौजुदा साधन र श्रोतको समुचित परिचालन गरी वैकल्पिक आय आर्जन गर्ने प्रयत्न गरिनेछ।
घ. कम उपयोग भएका वा उपयोग मै नआएका कम्पनीका घर जग्गा, गोदामघर, ट्रक, धान कुटानी मिल, पेट्रोल पम्प आदिलाई भाडामा दिने, लिजमा दिने वा लिलाम बिक्री गर्ने नीति लिइनेछ।

१०. भौतिक पूर्वाधार (निर्माण तथा मर्मत)
क. कम्पनी आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा व्यावसायिक बहुउद्देश्यीय भवन तथा गोदामघरहरु निर्माण गरिनेछ ।
ख. स्थानीय कृषक तथा सहकारीहरूसँग समन्वय गरी प्राथमिक खाद्य वस्तुलाई निश्चित समयसम्म सञ्चय गरिदिनेको स्थापना गरिनेछ।
ग. विद्यमान गोदाम घर र कार्यालय भवनको यथार्थ अवस्था खुल्ने अभिलेख अद्यावधिक गरी मर्मत सम्भार वा नयाँ निर्माण कार्यसँग आबद्ध गरिनेछ ।

उल्लेखित नीतिहरूलाई उपयुक्त खालको कार्यक्रम र बजेटसँग जोडिएको छ भने कार्ययोजनामार्फत कार्यान्वयनमा लैजाने र जनशक्तिको कार्यसम्पादनसँग नीति अनुसारका कार्यक्रमको कार्यान्वयनलाई जोड्नु आवश्यक छ ।

अन्त्यमा,
कम्पनीलाई बलियो र गरिखाने बनाउनका लागि मन्त्रालयको नेतृत्व, सञ्चालक समिति र सेयरहोल्डर एवं सरोकारवाला सबैको सकारात्मक ऊर्जा र क्रियाशीलताको अपेक्षा गर्दछौँ । नेपाली नागरिकहरूलाई पोषणयुक्त खाना उपलब्ध गराउने वातावरणका लागि कम्पनीले इमानदारिता, लगनशीलता र कामप्रतिको निष्ठाको खेती गर्न सकेमा कम्पनीको सेवा र व्यापार सफल हुने हाम्रो ठम्याई छ । सबै शेयर होल्डर, सञ्चालक र व्यवस्थापकको उत्तिकै चासो र सक्रियताले सफलता मिल्नेमा शङ्का छैन । कम्पनीको दोस्रो वर्षमा थप लोभ लाग्दा उपलब्धि हाँसिल गरेको सुन्ने अभिलाषाका साथ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस