पार्क हरियाली बनाउने अभियान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्क हरियाली बनाउने अभियान


२१ श्रावण २०७७, बुधबार


बनेपा । धुलिखेल नगरपालिकाले निर्माण गरेको पार्कमा बिरुवा रोपेर हरियाली बनाउने अभियानसाथ पार्कमा बिरुवा रोप्ने कामलाई तीव्रता दिइएको छ । नगरपालिकाले रोटरी क्लब अफ धुलिखेलसँग समन्वय गरी हरेक पार्कमा विभिन्न जातका रुखका बिरुवा तथा फलफूलका बिरुवा रोप्ने कामलाई निरन्तरता दिइएको हो ।

सोही अभियान अनुसार आज नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको समन्वयमा वडा नं– ९ मा रहेको देवीस्थान डाँडामा रहेको शान्ति पार्क र शहीद बलभद्र कुँवर पार्कमा २ सय वटा विभिन्न जातका बिरुवा रोपेको क्लबका अध्यक्ष सुशील ब्याञ्जु श्रेष्ठले बताए ।

‘नगरपालिकाले बनाएको मुख्य/मुख्य पार्कलाई हरियाली बनाउने काम हाम्रो क्लबले जिम्मा लिएर काम अगाडि बढाइरहेका छौंँ’, उनले भने,’त्यसको लागि हामीले नगरपालिकासँग समन्वय गरेर काम गर्नुका साथै अन्य वन उपभोक्ता समूह र कृषि सहकारी संस्थासँग समेत समन्वयमा वातावरण संरक्षणको लागि बिरुवा रोप्न काम गर्दै आइरहेका छौं ।’

क्लबका सचिव मनिश योगलले अहिलेसम्ममा धुलिखेलको हरेक चोकमा क्लबले हरियाली र स्वच्छ वातावरण बनाउने काममा सहयोग पुर्‍याउँदै आएको बताए । ‘देवीस्थानमा रहेको पार्कमा रोपेको बिरुवामा काब्रोको बोट, लालिगुराँस, बर, पिपल, समी, जामुन, चाँप र बेललगायतका बिरुवा रोपेका छौं’, उनले भने, ‘यो बाहेक अरनिको शालिक भएको बसपार्क चोकदेखि स्वास्थ्य कार्यालय चोकको पिपलचौतारी हुँदै भट्टेडाँडा, बिपी राजमार्गबीचको हरियालीलगायतको काम गर्दै आएका छौं ।’ सो क्रममा सधैंँ हरियाली भइरहने खालको बिरुवाका साथै अन्य फलफूलको बिरुवासमेत रोपेको उनले बताए।

त्यससँगै बलभद्र पार्कमा बहुउपयोगी हुने खालको बोट बिरुवा रोपेको उनले बताए । दुवै पार्कमा गरी दुई सय बोटबिरुवा रोपेको जनाइएको छ । क्लबका पूर्व अध्यक्ष अशोक श्रेष्ठले पार्कबाहेक वन समूहसँग मिलेर बिरुवा रोप्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बन्दाबन्दीकैबीचमा स्थानीय नर्सरीबाट नै किनेर पालेको सामुदायिक वन रविओपी, पातीखोरिया कृषि सहकारी संस्था कुशादेवी र बज्रबाराही कृषि सहकारी संस्था फूलबारीलगायत ६ वटा समूहलाई अनुदानमा फलफूलको बिरुवा उपलब्ध गराएर रोप्ने काम सम्पन्न गरेको श्रेष्ठले बताए ।

सो क्रममा विभिन्न स्थानमा बनाएको पार्कमा गरी करिब एक हजार भन्दा बढी बोटबिरुवा रोपिसकेको क्लबले जनाएको छ ।
धुलिखेल पर्यटकीय क्षेत्र भएकोले पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले सबै वडामा ‘एक वडा, एक पार्क’ को अवधारणा अनुरुप बाल उद्यान पार्क र नगरस्तरीय पार्क निर्माण गर्ने योजनाका साथ हरेक वर्ष बजेटको व्यवस्था गर्दै आएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । नगरपालिकाले पार्कसँगै एक जना बराबर एउटा बिरुवा रोप्ने अभियान अनुरुप ४० हजार जनसङ्ख्या भएको नगरपालिकामा ४० हजार बिरुवा रोप्ने काम भइरहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस