मायादेवी मन्दिर खुला गर्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मायादेवी मन्दिर खुला गर्न माग


प्रशासन संवाददाता

१२ श्रावण २०७७, सोमबार


रुपन्देही । कोभिड–१९ को प्रभावका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै बिभिन्न संघसंस्थाले आज लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका छन् ।

बन्दाबन्दी हटिसके पनि मन्दिर बन्द रहेका कारण स्थानीय पूजाआजाबाट वञ्चित रहेकाले यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका सङ्घसंस्थाले विकास कोषको ध्यानाकर्षण गराएका हुन् । लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘लुम्बिनीको आधार र गरीमा भनेकै मायादेवी मन्दिर हो, मन्दिर खुल्ला नहुँदा स्थानीयले भगवान् बुद्धप्रति आस्था प्रकट गर्न पाएका छैनन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘मायादेवी लुम्बिनीवासी मात्रै नभई सबैको आस्थाको धरोहर भएकाले लामो समयसम्म बन्द हुँदा हामीलाई गम्भीर चोट पुर्‍याएको छ ।’

लुम्बिनी होटल संघ का महासचिव लिलामणि शर्माले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजा हुनुपर्ने बताए । ‘सुरक्षा सतर्कता अपनाएर मायादेवी मन्दिर आंशिकरुपमा भए पनि खुल्ला गर्नुपर्छ, यहाँ बिहान साँझको पूजा पाठ नियमित हुनुपर्छ’, उनले भने । लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ , लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्धलगायत संघ संस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यसबारे अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई जानकारी गराई तत्काल मन्दिर खोल्ने वातावरण बनाउन पहल गर्ने बताए । कोभिड–१९ को महामारीका कारण चार महिनादेखि बुद्ध जन्मस्थल मायादेवी मन्दिर बन्द छ । मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत रोकिएको छ । भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाले मन्दिरमा पूजा गर्न पाएका छैनन् । मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न चाइना, जर्मन, कोरीयन, जापान, थाईल्याण्ड, श्रीलंका लगायतका विभिन्न देशका बिहारहरु बन्द छन् । मन्दिर बन्द हुँदा लुम्बिनीको रौनकता हराएको मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष मञ्जु ढकालले गुनासो गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस