एमसीसी अनुमोदनबारे अमेरिकी चासो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमसीसी अनुमोदनबारे अमेरिकी चासो


११ श्रावण २०७७, आइतबार


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने नहुने विषयमा अमेरिकाले चासो देखाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको स्रोतले जानकारी दिएको छ । भेटमा राजूदत बेरीले अमेरिकाले पहिलेदेखि नै नेपाललाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको र अमेरिका नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा रहेको बताएका थिए ।

तीन पटक दर्ता भएर पनि एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको छैन । यसलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दुई धार देखिन्छ । भेटका अवसरमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रामक रोगलाई नियन्त्रण गर्न नेपाल सरकारका तर्फबाट भइरहेका कार्यबारे प्रकाश पार्दै कोभिड–१९ सङ्क्रमणविरुद्ध लड्न संयुक्त राज्य अमेरिकालगायत मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरे। उनले सङ्क्रमणको नियन्त्रणसँगै आर्थिक तथा सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्दै जानुपर्ने चुनौतीका बीच नेपाल सरकारले उच्च सतर्कता अपनाएर कार्य गरिरहेको बताए ।

उनले सङ्क्रमणलाई जथाभावी फैलन नदिन सीमानाकामा निगरानी बढाइएको विदेशबाट नेपाल आउनेहरु क्वारेन्टिन केन्द्र बस्नुपर्ने व्यवस्था मिलाइएको मास्क लगाएर तथा सामाजिक दूरी कायम गरेर मात्र सार्वजनिक कार्यालयमा काम काज गर्ने व्यवस्था मिलाइएको र पिसिआर परीक्षणको दायरा विस्तार गर्दै लगिएको बताए । कोभिड–१९ सङ्क्रमणको सङ्ख्यालाई बढ्न नदिन तीनै तहका सरकारले आपसमा समन्वय गरी कार्य गरिरहेको उनले राखे ।

उपप्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमणका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसको बाबजुद अमेरिकाले नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि उपलब्ध गराएको सहायताको सराहना गरे । वार्ताका क्रममा माननीय उपप्रधानमन्त्री पोखरेलले संयुक्त राज्य अमेरिका र नेपाल दुवै लामो समयदेखि असल मित्रका रूपमा रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिका सरकारले पु¥याएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

राजदूतले बेरीले नेपालले कोभिड–१९ रोगको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्दै सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन सामाजिक दूरी कायम गर्ने लगायतका उपायलाई प्राथमिकताका साथ अवलम्बन गर्न उपयोगी हुने कुरा बताए। कोभिड–१९ सङ्क्रमणको नियन्त्रणका लागि दुवै मुलुकले मिलेर कार्य गर्न आवश्यक रहेको बताउँदै कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको कुरा बताए । राजदूत बेरीले संयुक्त राज्य अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने विचार व्यक्त गरे ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौँस्थित अमेरिकी राजदूतावासका अधिकारीको समेत उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस