च्यातेर पाठेघर आमाको ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

च्यातेर पाठेघर आमाको !


१० श्रावण २०७७, शनिबार


लाखौँको तीव्र प्रतिस्पर्धामा
शुक्रकीट एक बेतोडले हानिँदै
लक्ष्य भेदन गर्छ
अनि भेट्छ अण्ड
र निषेचित हुन्छ पाठेघरमा
मेरी आमाको
जहाँ जीवन प्रक्रिया
हुन्छ मेरो सुरु ।

टुक्रन्छन् कोशिकाहरू
र थपिँदै जोडिँदै जान्छन्
जाइगोट, भ्रूण हुँदै
मेरा अङ्ग प्रत्यङ्ग बन्छन्
सुन्दर गोल गोल आँखा बन्छन्
नाक, मुख र कान बन्छन्
मेरा हात खुट्टामा
ती साना साना औँला बन्छन्
म बढ्दै र हुर्कँदै जान्छु
आफ्नै रुपाकृति देखेर
म दङ्ग हुन्छु, प्रसन्न हुन्छु ।

घाम झलमल्ल छ
सुन्दर आकाश खुलेको
सुगन्ध चौतर्फी छर्दै
रङ्गीचङ्गी फूल फूलेको
हिमाल मस्त हाँसेको
डाँफे मुनाल नाचेको
गीत मधुर गाउँदै
कोकिल कण्ठी बासेको
भाका जब सुनाउँछन् मेरो बाबा
प्रणयमा मेरो मातालाई
सुनेर सुस्तरी सुस्तरी
सुभद्रा गर्भमा अभिमन्युले सरि
त्यसै त्यसै पुलकित हुँदै
गदगद हुन्छु म बेसरी ।

गर्भबाट निस्केर बाहिर
रमाउने तिव्राकांक्षाले
अधैर्य प्रतीक्षा गर्दै
कहिले खुट्टा झट्कार्दै
कहिले हर फर्कँदै
देखेर मेरो चलमलाहट
साउती गर्दै प्रियसी सँग
मुसार्दै उदर उनको
नजिकै कान टाँसेर
सुने झैँ धड्कन त्यो मेरो
फुरुङ्ग ती पिता जी
भावविभोर भई अँगाल्छन् मेरी माता
लाजले भुतुक्क हुँदै
पुकार्छिन् भाग्य विधाता ।

गन्दै घण्टा, पला र दिन
कैयौँ हप्ता सँगै नवौँ महिना बित्यो
र समाप्त भो
घडी त्यो प्रतीक्षाको
अथाह प्रसव वेदना
सहँदै थिइन् मेरी आमा
तीव्र चीत्कार सँगै
निस्केँ म बाहिर
जब च्यातेर पाठेघर
जाज्वल्यमान भो मेरो जन्मघर ।

जन्मेँ, हुर्केँ म शनै शनै
नियमित, नित्य कर्म गर्दै
भोग्दै सांसारिक विषय
जति म गएँ बढ्दै बढ्दै
ती उमङ्ग, त्यो उत्साह
गयो नि मर्दै मर्दै
खोसियो मेरो स्वतन्त्रता
बाँधिए जन्जिरले हात पाऊ
घेरेर चारै तिर
पिलाइयो जहर
लोभ, ईर्ष्या र अभिमानको
नैतिकताको पाठ घोकाउँदै
बोकाइयो भारी बेइमानको ।

म सँगै जन्मे हुर्केका
ती जलचर, नभचर
ति थलचर, उभयचर
कति स्वतन्त्र बाँच्दै छन्
कति मस्त सँग नाच्दैछन्
न मलाई जस्तो
सन्तानको लागि सञ्चयको चिन्ता
न उच्चताभाष र लघुताभासको हीनता
किन बनायौ हे भगवान् !
मान्छेमा मात्र यो विषमता ?

स्वतन्त्रता मेरो खोसेर
तिम्रो वंश रक्षार्थ मात्र
मलाई जन्माएका हौ भने
फगत खान र बाँच्न मात्र
यो धर्ती टेकाएका हौ भने
यो अनुपम सौन्दर्यको
प्राकृतिक छटा देखाएका हौ भने
ती जन्मने मेरा सन्तानको
स्वतन्त्रता निमोठेर निर्ममता पूर्वक
धान्ने छैन
म तिम्रो वंश परम्परा
टुटाई दिन्छु यहीँबाट यो क्रम
नपाल सृष्टि थाम्ने
मेरो ठेक्का हो भन्ने भ्रम ।

भविष्यको सुन्दर सपना बोकेर
दुꓽखदायी वर्तमान बाँच्नु छैन
नखाई नखाई हाड घोटेर
बेइमानीले कमाएको सम्पत्ति
सन्तानको लागि साँच्नु छैन
मलाई परलोकको स्वर्गीय आनन्द हैन
वर्तमानमा रमाउने गराइदेऊ
तसर्थ हे भगवान् !
मलाई अग्रगामी हैन
बरु पश्चगामी गराइदेऊ
तिम्रो सामर्थ्य छ भने
हे भगवान् ! मेरो अतीत फर्काई देऊ ।
…….अस्तु…….

 

प्रतिक्रिया दिनुहोस