कर्मचारीको व्यापक विरोध पछि सच्याइयो कासमु फाराम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको व्यापक विरोध पछि सच्याइयो कासमु फाराम


५ श्रावण २०७७, सोमबार


समायोजन

काठमाडौँ । कर्मचारीको व्यापक विरोध पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम(कासमु) सच्याएको छ ।

मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै गत वर्षकै ढाँचाको कार्य सम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित निकायमा दर्ता गर्ने व्यवस्था मिलाउन भनेको हो ।

कर्मचारी समायोजन ऐनअनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन भएका नायव सुब्बा(नासु)हरू अधिकृत छैटौँ रहने भनिए पनि कासमू फाराम भर्दा राजपत्र अनङ्कित प्रथम(नासु)कै फाराम भर्नुपर्ने मन्त्रालयको यसअघिको निर्णयमा चर्को आपत्ति जनाएपछि मन्त्रालय आफ्नो निर्णय सच्याउन बाध्य भएको हो ।

राजपत्र अनङ्कित र राजपत्राङ्कित कर्मचारीले छुट्टाछुट्टै रंगका फारामहरू भर्दै आएका छन् । मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तथा प्रदेशमा समायोजित नासुहरूलाई अधिकृत छैटौँ भनिए पनि राजपत्राङ्कित कर्मचारी भन्ने कुनै आधार नभएको दलिल देखाउँदै राजपत्रअनंकितकै फाराम भर्न लगाइएपछि अधिकृत छैटौँले आपत्ति जनाएका थिए ।

कर्मचारीबाट आएको बिरोधसँगै कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले यसबारे चाँसो लिएर मन्त्रालयसँग छलफल गरेको थियो । पदअनुसार रङ्ग छुट्याएर फाराम भराउनु नै गलत भएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलको भनाई छ । ‘कर्मचारीहरूको छुट्टाछुट्टै रङ्गको फाराम भराउने विधिको अन्त्य गरेर एउटै रङ्गको फाराम भराउने व्यवस्था हुनुपर्छ र यो गराएरै छाड्ने हो’ कार्यवाहक अध्यक्ष पोखरेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस