तनाव छ यार ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तनाव छ यार !


३१ असार २०७७, बुधबार


लाग्छ आजकल मुखबाट निस्कने वाणी नै यही हो तनाव छ यार ! दुईजना साथीभाइ भेट भयो के छ हालखबर ? सोध खोज सुरु हुन्छ अर्कोबाट उत्तर आउँछ, के हुनु तनाव छ यार !

होइन साँच्चै यस दुनियाँ र विश्व ब्रह्माण्डमा सबैलाई तनाव छ त ? त्यसो भए विश्व स्वास्थ्य सङ्गठन किन बोल्देन त ? कि त कोरोनातिर लागेर बिर्सियो कि ? कि नेपालीलाई मात्र हो की तनाव ! कहिले काहीँ डोनाल्ड ट्रम्प काकाको पारा हेर्दा लाग्छ उनलाई पनि तनाव छ, सी जिङ काका सधैँ निधारमा गाँठो पारेर बोल्छन् तनाव भएरै त होला ! मोदी जीलाई त रोटीबेटीको तनाव ! वैज्ञानिकलाई झन् कति तनाव होला । अन्तरिक्षमा जान सक्ने बस्न सक्ने, जाबो एउटा किरोको औषधी तथा खोप पत्ता लगाउन नसक्ने तनाव त छ नि बिचरा हरूलाई पनि ।

अब केही यतै कतैका तनावका कुरा गरौँ । मन्त्रीलाई कुर्ची जोगाउने तनाव । किसानलाई सलह भगाउने तनाव । स्वास्थ्यकर्मिलाई पिपिइको तनाव । अहिलेका शिक्षकलाई अनलाइन कक्षा पढाउने तनाव । पत्रकारलाई भाइरल समाचार बनाउने तनाव । गरिबलाई खानाको तनाव । दलेलाई एक आनाको तनाव । जुवाडेलाई पानाको तनाव । हाम्रा कलाकारलाई महानायक को भन्ने पो तनाव ! यस्तै तनावको सिलसिला रहने हो भने त के थाहा र पेट भित्रको बच्चाले पनि तनाव छ जन्मिन पाइएन यार पो भन्छ होला !

नत्र यत्रो तनावमा कसरी बाँचेका छन् त मान्छे ! साँच्चै तनाव नै हो की त्यो बोलीको थेगो मात्र हो । यदि साँच्चै तनाव नै भएको हो भने त देशका ७७ वटै मानसिक अस्पताल खडा गर्नुपर्ला, मानसिक रोग विशेषज्ञ खोज्नुपर्ला । अब सरकार कोरोनापछि यता पो लाग्नुपर्ला । होइन थेगो मात्र हो भने यति रमाइलो भाग्यले पाएको, मौकाले आएको जिन्दगीमा के को तनाव ? कसको लागि तनाव ? कतिन्जेल तनाव ? संसार त मज्जामा पनि चल्छ नि ! यदि रात पर्छ भने पक्कै उज्यालो त हुन्छ नै भनेर अघि बढियो भने के को तनाव ! खानु, काम गर्नु, भेटघाट गर्नु, गफ चुट्नु, चौतारीमा भेला हुनु, सुत्नु त नियमित प्रक्रिया हुन् । काम गर्दा समस्या होला समस्या भए पो समाधान होला, रोग लागे पो निको होला, दुःख पाए पो सुख पाइएला भनेर सोच्यो भने के को तनाव ? फेरी भन्नुहोला यसले गफ चुट्यो यहाँ आफूलाई कति तनाव छ !

संसारलाई रमाइलो सँग हेर्नुस् त कति मजा छ, तनावलाई दिमागबाट हटाइदिनुस्, कसैले गाली गर्छ त हाँसिदिनुस् । कोही बोल्देन त के भो नमस्कार गरिदिनुस् । कसैले तपाइको डाह गर्छ भने उसकै भलो गरिदिनुस् । कसैले मायामा धोका दियो के भो त उसको अगाडी प्रगति गरेर देखाइदिनुस् । गाउनुहोस् । नाँच्नुहोस । दिल खोलेर हाँस्नुहोस् । धीत मारुन्जेल सुत्नुहोस् । तनाव स्वाहा ! आत्महत्या स्वाहा ! नत्र त चिन्ताले चिताको बाटो नपुराउला भन्न सकिन्न है !

प्रतिक्रिया दिनुहोस