खुस्कियो सामान्यका सहसचिवको ‘धोती’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खुस्कियो सामान्यका सहसचिवको ‘धोती’


२४ असार २०७७, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अर्थात् निजामती प्रशासनको अभिभावक अड्डा । विगत केही वर्षयता कहिले समायोजन त कहिले संघीय निजामती सेवा ऐनका कारण चर्चामा छ । त्यसो त सरुवाका हिसाबले पनि बारै महिना चहलपहल भई रहने मन्त्रालय हो सामान्य प्रशासन ।

कर्मचारीको सरुवा सामान्य प्रक्रिया भए पनि मन्त्रालयका पदाधिकारीहरूका अनेक थरी ‘इन्ट्रेस्ट’ ले असामान्य बनाई दिने गरेको छ । यही सरुवा कसैका लागि मालामाल बनिदिन्छ त कतिका लागि पीडा !

यतिसम्म गर्नका लागि त यिनलाई मन्त्रालयमा बसुन्जेल छुट छ तर कर्मचारीको नामै फेरिदिन, सङ्केत नम्बरै बदलिदिने र कार्यालयकै नाम अर्कै राखी दिने सुविधासमेत पाएका छन् । यही असार १९ गतेको २२ जनाको पदस्थापनसहित ६३ जना सहसचिवको सरुवामा आठ जना सहसचिवको नाम नै फेरे भने दुई जनाको कर्मचारी संकेत नम्बर नै बदलिदिए र एक जनाको कार्यालयको नामै अर्कै राखी दिए ।

गृह मन्त्रालयबाट प्रदेश नम्बर एकको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएका सरोज प्रसाद गुरागाईको प्रसाद नै काटिदिएर सरोज गुरागाई मात्रै लेखे । त्यसैगरी सहसचिवहरू नारायण प्रसाद शर्मा दुवाडीको प्रसाद काटेर नारायण शर्मा दुवाडी मात्र लेखे । अख्तियारका सहसचिव प्रदीप कुमार कोइरालाको कुमार खाइदिएर प्रदीप कोइराला मात्रै लेखे । यज्ञ प्रसाद ढुंगेलको पनि प्रसाद हटाई दिए भने दीपक कुमार पहाडीको पनि बिचको कुमार लुकाई दिए ।

यतिसम्म त गरे नै, रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरेका सन्त बहादुर सुनारलाई बि.क बनाई दिए । सन्तसरले विकबाट कहिले देखि सुनार लेखाउन थालेछन् भनेर सिँहदवारमा चर्चै चल्यो । त्यसैगरी ढुण्डी प्रसाद निरौलाको प्रसाद र शम्भु बहादुर खड्काको बहादुर काटी दिएर अगाडी र पछाडिको मात्रै राखे ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएका कृष्णबहादुर बोहराको आदिवासी जनजाति आयोगबाट हुनुपर्नेमा राष्ट्रिय समावेशी आयोगबाट भन्ने लेखे ।

केही हप्ता अघि मात्रै लोक सेवाबाट सहसचिवमा सिफारिस भएर मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापित सुनिता नेपालको त संकेत नम्बर नै फेरिदिए । उनको संकेत नम्बर १८२०७६ रहेको मा १८२४६२ बनाई दिए । त्यसैगरी सँगै अतिरिक्तै समूहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएका नारायण प्रसाद रिसालको पनि १८२४६२ रहेको संकेत नम्बर १८६४८२ राखिदिए ।

मन नपरेकालाई भित्तै पुर्‍याउने पुरानै प्रचलन रहे पनि नामै काँटछाँट गर्नेदेखि कर्मचारी संकेत नम्बर नै फेरबदल र कार्यालयको नाम नै गलत लेख्ने काम कमै हुने गरेको थियो । तर यस पटक किन यस्तो भएछ भनेर बुझ्दै जाँदा मन्त्री हृदयेश त्रिपाठीको विशेष निर्देशनमा सहसचिवद्वय आफै बसेर अति गोप्य तवरले तयार गरेकोले भन्ने बुझिन आएको छ ।

सामान्यतया प्रशासन शाखाबाट नाम नामेसी सबै मिलाएर उपसचिव–सहसचिव–सचिव हुँदै निर्णयार्थ मन्त्रीकोमा पेश हुने प्रचलन रहेको भए पनि अहिलेको सरुवा भने मन्त्रालय सहसचिवद्वय वसन्त अधिकारी र राजीव पोखरेल बसेर मिलाए । कम्प्युटर अपरेटर नै आफ्नैमा बोलाएर सूची तयार पार्न लगाए भने उपसचिव प्रकाश आचार्यले निर्णय वेवसाइटमा अपलोड गर्नसमेत चुक्कुल ठोकेर बसे ।

देखाउँदा ऐन कागजी ऐनका खोस्टा तेस्र्याएपनि सरुवामा को कसको मान्छे ? क कसको कहाँको फोन र सेटिङ छ र कसलाई कहाँबाट कहाँ पुर्‍याउने भन्ने कुरालाई मात्रै आधार बनाइँदै आएको कुरा घाम जतिकै छर्लङ्गै छ । त्यसैमाथि गोप्य राख्ने ध्याउन्नमा हतारो हतारो दर्जनौँ पटक नामहरू फेरबदल गर्नुपरेकोले सहसचिवहरूको नाम, कर्मचारी सङ्केत नम्बर र कार्यालयकै नाम फरक परेको सामान्य प्रशासन विशेष स्रोत बताउँछ ।

खासमा कर्मचारीको सरुवालाई यति धेरै गोप्य र विशेष बनाउनु पर्ने कुनै कारण देखिँदैन । निश्चित मापदण्डअनुसार सहजरुपमा गर्नुपर्ने हो तर मन्त्रिपरिषद्को निर्णय भन्दा गोप्य राख्न खोज्दा धोती खुस्केको थाहै पाएनन् ।

त्यसो त समायोजन ऐनदेखि संघीय निजामती सेवा ऐनसम्मै बिरालोले आची लुकाए जस्तै गरी काखीमुनि च्यापेर ल्याएकै कारण समायोजनको सकस दिन प्रतिदिन बढ्दो छ भने ऐन नआउँदै कर्मचारी आन्दोलित छन् ।

६३ जनाको सरुवा गर्दा त ११ जनाको बिगारे भने केही दिनमै थप सात दर्जन जति सहसचिवको सरुवा तयारीमा जुटेको मन्त्रालयले अब के के फेरबदल गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस