अधिकृतको आन्दोलनमा ट्रेड युनियनको खेल, साथ पाउँछन् कि झेल ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अधिकृतको आन्दोलनमा ट्रेड युनियनको खेल, साथ पाउँछन् कि झेल !


१७ असार २०७७, बुधबार


काठमाडौँ । संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकको विरोधमा बुधवार(आज) बिहान गर्ने भनिएको अधिकृतहरूको आन्दोलन भारी पर्ने देखेपछि कर्मचारी ट्रेड युनियनहरूले सङ्गठित रूपमा भेला भएका अधिकृत स्तरका कर्मचारीलाई दबाब दिँदै मिलेर जान भनेपछि नयाँ ट्वीष्ट आएको छ ।

संसद्को राज्य व्यवस्था समितिले सोमबार पारित गरेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक कर्मचारीकै हित विरुद्ध भएको भन्दै मङ्गलवार दिउँसो ३ बजेदेखि साँझसम्म सिंहदरवारस्थित सेन्ट्रल क्यान्टिनमा बसेर योजना बनाएका अधिकृतहरूको आन्दोलनको योजना सुरु नहुँदै तुहिने भएको हो ।

उत्प्रेरित गराउनु पर्नेमा उल्टो कर्मचारीको मनोबल खस्काउने किसिमको विधेयक तयार गरिएको निष्कर्षसहित देशभरका अधिकृतहरू आन्दोलित हुने घोषणा गर्दै नारा र समयसमेत तय गरिएको अवस्थामा अधिकृत भित्रैको एउटा समूहले मध्यरातमा आन्दोलन २ दिनका लागि रोकौँ भन्दै फेसबुकमा पोष्ट्याएको म्यासेजले अधिकृतहरूमा नयाँ तरङ्ग ल्याएको छ । यो ट्वीष्ट अधिकृत आफैँले नभई नभई ट्रेड युनियनले ल्याएको हो ।

पछिल्लो समय ट्रेड युनियनहरूप्रति आम कर्मचारीको धारणा सकारात्मक नभएको अवस्थामा आन्दोलनको घोषणा गर्दै गर्दा आफूलाई परेको बेला मात्रै कर्मचारी गुहारेको भन्दै स्वस्फूर्तरुपमा अघि बढ्ने कर्मचाहरुको योजनाबाट हच्किएका ट्रेड युनियकर्मीहरुले रातारात आफूसँगै मिलाउने योजना बनाए र सो गर्न सफल भए ।

साङ्गठनिक रूपमा भन्दा स्वतन्त्र आन्दोलन भारी पर्ने देखेपछि ट्रेड युनियनका कार्यवाहक अध्यक्षसहित केही सङ्गठनका नेताहरू बानेश्वरस्थित सहकारी विभागमा मध्यरातसम्मै बसेर अधिकृतहरूको नेतृत्व आफूले लिने र आफूहरूमार्फत आन्दोलन गर्दा मात्रै तिमिहरू सुरक्षित छौँ भन्दै उनीहरूलाई तर्साएनन् मात्रै पुलिसले कक्र्याक्कै पार्दै छ भनेपछि उनीहरूको पनि सातो गयो ।

‘तपाईँहरूले आन्दोलन गर्नुभयो भने कर्यापझ्याप समातेर थुन्छ र जेल गयौ भने कसले छुटाउन आउँछ’ कार्यवाहक अध्यक्ष भोला पोखरेलको भनाइलाई उधृत गर्दै सहभागी एक कर्मचारीले भने, ‘आचरण विरुद्ध मुद्दा लगाइ दियो भने अवस्था के हुन्छ, त्यतिखेर थाहा छ ?’

उनले भोलि(बुधवार) बिहानै साढे ८ बजेतिर तपाईँहरूको मागहरू समेटेर विज्ञप्ति निकाली दिन्छौँ, आन्दोलन रोक्नुहोस् भन्ने कुरा आएपछि छलफलमा सहभागी अधिकृतहरूले दिउँसो योजना तय गर्दा बसेकालाई फोन गरे तर कोही पनि आन्दोलन तुहाएर ट्रेड युनियनको पछि लाग्ने कुरामा सहमत भएनन् । यही बिच एउटा योजना बन्यो । यसरी यसरी एउटा म्यासेज दन्काऊ दिऊँ, केटाहरू त आफै डराइ हाल्छन् भनेर

यसैबिच ९ बजे सिंहदरवारमा भेट्ने र मौन प्रदर्शन गर्ने सहमति भई छुटेका अधिकृतहरूमध्येकै छलफलमा सहभागी समूहले यस्तो म्यासेज लेख्यो

साथीहरू नमस्कार ।
आज दिउँसो ३ बजे भएको छलफल र निर्णय बमोजिमकै कार्यक्रमकै तयारीका लागि हामीहरू यति बेलासम्म सिंहदरबारमै छौँ । यद्यपि यस बिचमा परिस्थिति हामीले आङ्कलन गरेको भन्दा बेग्लै हुन पुग्यो ।

यस बिचमै हाम्रो अभियानको बारेमा गृह सचिवज्यूले चासो राखी गृहकै अधिकृत साथीहरूलाई बोलाइ सो सम्बन्धमा जानकारी लिनुभयो । सो पश्चात् हाम्रो अभियानमा साथ रहेको तर आज दिनभरको सिंहदरबारको वस्तुस्थितिको आधारमा भोलि सिंहदरबार परिसरमा कर्मचारीहरूको तर्फबाट हुने भेलालाई स्थगन गर्न अनुरोध गर्ने र सो को अवज्ञा गरेमा धरपकड समेत गर्न भनी निर्देशन भएको जानकारी गराउनु भयो ।

त्यस पश्चात् यही तयारीमै जुटिरहँदा आधिकारिक ट्रेड युनियनका तर्फबाट हामीलाई छलफल गर्न भनी भेट्न आग्रह भयो । सोही क्रममा हामी राज्य व्यवस्था समितिका माननीय सभापति लगायत अन्य माननीयज्यूहरुसंग समेत छलफल भएपश्चात् हामी हाम्रो मिति २०७७।०३।१७ गते बिहान ९ः१५ मा सामान्य प्रशासन मन्त्रालयमा भेला भई दबाब दिने कार्यक्रममा २ दिनको लागि पर्ख र हेरको रणनीतिसहित पुनर्विचार गर्ने भन्ने निष्कर्षमा पुगेका छौ । यसका कारणहरू बुँदागत रूपमा राख्न चाहान्छौः

१. राज्यव्यवस्था समितिले भोलि संसदमा पेस गर्ने भनेको उक्त विधेयक भोलि पेस नगर्ने प्रतिबद्धता सभापतिज्यूबाट प्राप्त भएको,

२. हामी र आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसंग भएको छलफलमा उहाँहरूले हाम्रा सम्पूर्ण विषयहरू लाई सम्बोधन गर्ने गरी भोलि बिहान ८ बजे पुनः हाम्रै लाइनमा हाम्रा सम्पूर्ण मागहरूलाई प्राथमिकताका साथ उठान गर्ने गरी सी.बि.ए. ले विज्ञप्ति निकाल्ने भएको।

३. सम्माननीय प्रधानमन्त्री हाम्रा समग्र मागहरूप्रति सकारात्मक नै हुनुभएको अवस्थामा आधिकारिक ट्रेड युनियनका तर्फबाट भोलि नै सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोले सो अभियानलाई एकताबद्ध गराई सकारात्मक दबाब परोस् सिर्जना गराउन ।

४. अहिलेको परिस्थिति बढी राजनीतिक खिचातानीको परिणाम भएकोले सिंहदरबारभित्रकै अधिकृत स्तरका कर्मचारीको आन्दोलनकै कारणले हाम्रा एजेन्डाप्रति सकारात्मक रहनुभएका प्रधानमन्त्री यही आन्दोलनको कारण हामीप्रति उल्टो धारणा बनाउने अवस्था आउन सक्छ। याद गर्नुपर्ने एउटा कुरा के छ भने अब हाम्रा मागहरूको सम्बोधन सम्माननीय प्रधानमन्त्रीज्यूबाट मात्र सम्भव छ ।

त्यसैले, साथीहरू हामी आन्दोलनबाट डराएर भाग्न खोजेका होइनौ, यो भ्रम नपरोस् । तर, हामीलाई नै धेरै क्षति हुने गरी आन्दोलनलाई गलत दिशातर्फ जानुबाट भने हामीले रोक्नुपर्छ । यति भनिरहँदा यो सबैको एउटै उद्देश्य पुनः हाम्रा मागहरूको सही सम्बोधन गराउनु नै हो । यसका लागि बाँकी २ दिन धैय गरौँ, यो बिचमा हुने क्रियाकलापलाई मूल्याङ्कन गरेर अगाडि बढ्नै छौ । हामी सबैले जोसलाई पनि कायम राखों तर होस पनि कायमै राख्नुपर्ने देखियो ।

दलगत ट्रेन युनियन हटाउनु पर्छ भन्ने विषयमा राज्य व्यवस्था समितिका अधिकांश सदस्यहरू एकमत भएको र कर्मचारीहरूबाटै समेत एकल ट्रेड युनियन ठिक छ भनेपछि जनमत जुटाउन लागि परेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू सबै खाले आन्दोलनको नेतृत्व आफूले गरेर आफ्नो मुद्दा मजबुद बनाउने पहिलो चरणको प्रयासबाट सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस