दिलु कुमारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दिलु कुमारी


१३ असार २०७७, शनिबार


धार्मिक अन्धविश्वासका कारण १३ वर्षको कलिलो उमेरमा वैवाहिक जीवनमा बाँधिन बाध्य भएकी थिइन् दिलु कुमारी । निकै दयनीय अवस्थामा आफ्नो जीवन कर्मलाई लैजाने क्रममा रहेकी दिलु कुमारीका कथा निकै भावनात्मक छन् । भर्खरै विद्यालय जाँदै गरेका श्रीमान् । त्यसमाथि कामलाई सर्वोपरि ठान्ने सासू । श्रीमान् र सासूको आवश्यकतालाई पूर्ति गर्न दिलु कुमारीले आफ्नो आकाङ्क्षारूपी जीवनलाई समर्पित गरेकी छिन् ।

घरायसी काम एकातिर छँदै थिए । सन्तान चाहिने समाजलाई सन्तान दिनु अर्को काम थियो दिलु कुमारीको लागि । कलिलो उमेरको साहेब भए पनि सन्तान सुख दिन उनी चुकेनन् । पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी दिलु कुमारीलाई छोरी जन्मे पछिका दिन परिवारको दबाबमा बित्दै गयो । दबाबको कारण थियो वंश जोगाउने छोरा । छोराको चाहना हुँदा हुँदै पनि फेरी छोरी जन्मिदा दिलु कुमारीको परिवारको लागि अर्को बज्रपात थियो । फेरी भयो त्यसै । उनले दोस्रो सन्तानको रूपमा पनि छोरीलाई जन्म दिइन् ।

छोरामय समाजमा छोरी जन्माउनुको पिडा दिलु कुमारीले नभोग्ने कुरै भएन । प्राकृतिक रूपमा पैदा हुने यो संसारमा छोरी जन्माउनुको दोष पाउनु दिलु कुमारीको लागि निकै पिडा दायी नै थियो । घरमा उसको स्याहार सुसारको लागि कोही पनि अघि सर्ने वाला थिएनन् । बाहिरी मेलापात सिद्धाएर छाप्रामा च्याँ च्याँ गरिरहेकी माहिली छोरीको स्याहार सुसार नगरी धरै थिएन ।

दोस्रो हुँदै तेस्रो छोरी जन्मिए पछि घरमा एक प्रकारको सन्नाटा छाएको थियो । पारिवारिक दबाब थियो छोरो । आफैले बनाउने भए त ठिक छ तर यो त प्राकृतिक कुरा दिलु कुमारीले कसरी दिउन् छोरा । पहिला आफ्नै छोरीलाई जस्तै व्यवहार गरेर मायालु भेषमा भित्राइएकी छोरी समान बुहारीलाई आफ्नो इच्छाको भांडोेको रूपमा प्रयोग गर्न खोज्नु कति जायज होला । नाति नपाएको झोकमा कालो अनुहार लगाउन, बुहारीलाई सुत्केरी अवस्थामा दिनु पर्ने स्याहार नदिने जस्ता कर्तुतले एउटा बुहारी वाक्क भएकी छिन् । सासूको पिडा खप्दा खप्दै उता श्रीमान्ले दिने पिडा एक ठाउँमा छँदै छ । बाहिरी स्त्रीसँग आफ्नो श्रीमानको सम्बन्धले उनलाई एक नरकीय जीवन बिताएको छु कि जस्तो लाग्छ ।

घाउमा मलम लगाउन सिपालु हामी जस्ता लेखक उनको दर्दलाई आफ्नो लेखाइमा पछ्याउन किन पछि पर्थ्यौ र । दिलु कुमारीले पोखेका हरेक वेदनाका शब्दलाई आफ्नो मसीमा भिजाउन म सधैँ आतुर हुन्थे । एउटा महिलाको भावनालाई महिलाले बुझ्छ भने झैँ म पनि उनको पिडादायी कथा सुन्न व्याकुल थिए । आफै पनि प्रश्रव पिडा भर्खरै मुक्त भएकोले उनको र मेरो भेट नभएको निकै लामो समय भएको थियो । दिलुकुमारीलाई भेट्ने ठूलो चाहना थियो म मा । यसका लागी दशै नै कुर्नु पर्ने भयो । जसरी ०६३ सालको दशैं नजिकिँदै थियो । तीन छोरीकी आमा बनेकी दिलुकुमारी सन्तानको भरणभोषण गरिरहेकी छिन् । मलाई ज्ञात भयो । एउटा अन्जान नम्बर बाट मोबाइलको घण्टी बज्यो । मोबाइल कानमा लाउने बित्तिकै नानी तपाई कता हो ? भन्ने आवाज आउँछ । म भन्छु हजुर को बोल्नु भएको ? म धादिङ बाट दिलु कुमारीको श्रीमान् बोलेको । तपाईँलाई भेट्नु पर्ने काम थियो । म राजधानी आएको छु । कालीमाटीमा छु । एक चोटि आउनुहुन्छ कि तपाई ?

सम्बोधनमा उहाँलाई दाजु भन्थेँ । आफू पनि प्रश्रवपिडा बाट भर्खरै मात्र तङ्ग्रिएको थिए । त्यसैले उहाँलाई भेट्न मैले नकारे । मेरो कुरालाई उहाँले कहाँ सुन्नु हुन्थ्यो । पिडामा हुनुहुन्थ्यो जो । उहाँले घरमै भेट्न आउने अनुमति माग्नु भयो । उहाँलाई घरमा बोलाएर कुराकानी गर्ने अवस्थामा म नभए पनि उहाँको जोडवलले केही लागेन । मानव जीव हो स्वार्थ त शरीरमा बोकेर ल्याएको हुन्छ । यीनले केही न केही स्वार्थ नभई म सँग भेट्न इच्छा गरेनन् होला । घरपरिवारमा त्यति घुलमिल भई सकेको थिइन् । तै पनि ती दाजुको अनुरोधलाई मैले अस्वीकार गर्न सकिन् । उहाँलाई आफ्नो घर आउने अनुमति दिए । प्रश्रव अवस्थामा भएकोले म घाममा सुतिरहेकी थिए । उहाँ आउनु भयो । मैले उहाँको कुरा राम्ररी सुने । मलिन अनुहारमा निकै गुनासा थिए । बालक अवस्था देखी उहाँलाई चिनेकोले होला उहाँसँग बोल्न मलाई अप्ठ्यारो थिएन ।

तिन वटा छोरीहरूको धनी भएका दिलु कुमारीका श्रीमान् जविन्द्रको सोच भने अलि फरक थियो । उनी भन्दै थिए– छोरो भएन भने त वंश नास हुन्छ । भाग्यको खेल यसपालि पनि उनको श्रीमतीको कोखमा छोरी नै बसेकी रहेछिन् । प्रविधि प्रयोग गरेर उनले पत्ता लगाएका रहेछन् । चौथो सन्तानलाई फाल्दा श्रीमतीको शरीर, शरीर नै नरहने अवस्थामा छ । उनको निचोड थियो छोरीलाई जन्म दिने तर घर नलाने । प्रसूति गृहबाट नै बच्चाको तह लगाउने उनको बिचार रहेछ । उनको कुरा सुनेर मैले जवाफ दिए , ६० वर्ष पछि परिवारमा सन्तानको रूपमा छोरीको जन्म भएको छ हाम्रो परिवारमा । एकदम खुसीको क्षण उत्पन्न भएको छ ।

भर्खर आमा बन्दाको प्रसबपिडा र आमा बन्दाको खुसी दुवै भोगेको थोरै समयमै यस्तो कुरा सुन्दा त आफै छाँगाबाट खसेजस्तो भएँ तर पनि मनलाई कन्ट्रोल गर्दै ती दाजुलाई सम्झाउन लागेँ । दाजु यो भन्दा अगाडी लिङ्ग पहिचान गरेर भ्रूण हत्या गरेको कुराले एकदम दुखी छु यस्तो गर्न नहुने काम गर्नु भएछ । आखिर सृष्टिकर्ता नै छोरी हो ,छोरी देवी, लक्ष्मी ,सरस्वती हुन् सबै काम छोरीले गरी हाल्छन् । अहिले त अलि गाह्रो होला पछि त सहज हुन्छ नि यस्तो केही नसोच्नुस् अहिले पेटमा भएको बच्चालाई पनि जन्मदिनु पर्छ । तपाईँलाई त यी सबै कुरा सहज होला तर ( जविन्द्र कुमारको श्रीमती ) भाउजूलाई त आफूले जन्म दिएको बच्चा अरूलाई दिन सजिलो हुँदैन पछि पिडामा पछुताउनु पर्छ यस्तो नगर्नुस् भन्ने मेरो जिज्ञासामा भाउजूले पनि मानेकी छे उहाँको जवाफ ।

उता म धादिङ जाँदा ती भाउजूको भने सुन्न नसकिने गुनासो थियो । एकैचोटी उनका श्रीमान्ले घरमै आएर गुनासो गर्दा उनको व्यवहारले मन मनमा रिस उठे पनि हुन्छ दाजु म केही त्यस्तो कुरा आयो भने खबर गर्छु भनेर सम्झाएर पठाए । मनमा एकदम खल्लो महसुस भइरह्यो । ती दाजुसँग गफ गरेको कुरा सुत्केरी भेट गर्न आएका एक जना महिलाले हामी गफ गरेको कुरा अलि अलि सुन्नु भएको रहेछ, उहाँ जानु भए पछि सोध्नुभयो, मैले पनि नढाटिकन सबै बताए । ओहो मन कुमार को छोराको विवाह भएको लामो समय भयो बच्चा भएको छैन ल्याउनु हुन्छ कि कुरा गर्न पाए हुन्थ्यो, मैले भने केही जवाफ दिइन । सायद सम्बन्धित कोमा कुरा पुगेर होला भोलि पल्ट बेलुका फोन आयो मन कुमारको श्रीमतीको ,बच्चा जन्माएर दिने मान्छे छ भनेको के हो ? यस्तो हो भने म ल्याउँछु नातिनी बनाउँछु नि ..। त्यस्तै कुरा छ दिने भए भने म भन्छु नि ।४ दिन पछाडि धादिङबाटै फोन आयो केही उपाय लाग्यो त?एक जनाले त कुरा गर्नु भएको छ के गर्नुहुन्छ । दुवै तिरबाट तारन्तार फोन आउन थाल्यो । म ल्याउँछु बच्चा भनेर फोन आउँथ्यो एकातिरबाट भने अर्को तिरबाट बच्चा लाने मान्छे भेटियो त ? भनेर दुवैतिरबाट फोन आइरहन्थ्यो।आफूलाई भने निकै नरमाइलो लागिरहेको थियो समय बित्दै गयो ।

२०६३ साल फागुन ११ गते जबिन्द्र कुमारको फोन आयो नानी भाउजूलाई सुत्केरी बेथा लागेर लिएर आको धेरै गारो भएको छ तिमीलाई भाउजूले भेट्न खोजेको छ भनेपछि १२ गते बिहान थापाथली हस्पिटलको जनरल वार्डमा पुग्दा बिरामीको दमाहा जत्रो पेट, ओठ पुरै निलो भएको ,ओठमा कलेटी परेको अगाडी मलाई देख्ने बित्तिकै आँखाबाट बलिन्द्र धारा आँसु रोकिएन । उहाँको पिडामा आफू त रमिते हो पिडा जति उहाँसँगै थियो, नजिकै गएर आफ्नो सलले आँसु पुछिदिनु बाहेक अरू उपाय के थियो र म सँग । यस्तो गारो हुन्छ दाइलाई छोरा नै चाहिने रे फेरी पनि छोरी नै छ रे घरमै ३ जना छोरीहरू छन् कसरी पाल्नु यो राम्रो सँग जन्मियो भने पाल्न सक्दिन दिने हो मलिन आवाजमा,यस्तै यस्तै भलाकुसारी भयो ।

लिएर गएको अङ्गुर र जुस खान दिए । मनमा अनेक तर्कना खेलाउँदै घर फर्किए । बिरामी हस्पिटलमा भएको कुरा थाहा पाए पछि बच्चा ल्याउने पक्षले आधा आधा घण्टामा फोन गर्न थाले । १३ गते राती साढे दश बजे जविन्द्र कुमारको फोन आयो, नर्मल डेलिभरी भयो तुरुन्तै बच्चा लिन आउनु भन्दिनु भोलि बिहान फेरि कुनै आफन्त मान्छे बिरामी भेट्न भनेर आउनु भयो भने अप्ठेरो हुन्छ । हामीले बच्चा जन्मियो भनेर कसैलाई भनेका छैनौँ । तुरुन्तै आइदिनुस् भनेर भन्दिनुस् । मत सुत्केरी मान्छे सानो बच्चा छ आउन मिल्दैन, उहाँहरूलाई चाहिँ सुनाइदिन्छु, बच्चा ल्याउने पक्ष मन कुमारको श्रीमतीलाई बच्चा जन्मियो रे भनेर फोन गरिदिएँ । ल उसो भए तुरुन्तै जाऊ भनेर धेरै अनुरोध गरे पनि रातको समयमा सानो बच्चा छोडेर जान सम्भव थिएन । अहिले मिल्दैन,बिहान तपाईँहरू जानुस् भन्न पनि नचिनेको मान्छे कसरी भन्नु नगई नहुने अवस्था थियो ,हुन्छ भोलि बिहानै जाउला नि भनेर फोन राखे पछि के को निन्द्रा लाग्छ।

ती दाजु भाउजूलाई कति सम्झाए तर कतैबाट पनि घैँटामा घाम लागेन,के मति लागेको होला भनेर अनेक तर्कनाले छर्लग उज्यालो भएछ ।बिहान चारै बजे देखि नै तारन्तार हस्पिटलबाट फोन आउन थाल्यो भने यताबाट पनि गइहालौँ छिटो भन्न थाले । आफू भने बिहान उठेदेखि सानो बच्चालाई सेकताप गरी स्यारलेक्स बनाइ खुवाई तयार भएर निस्कँदा आठ बजिसकेछ, मनकुमारको घरमा पुगेर हस्पिटल जाने कुरा भए अनुसार उनको घरमा पुग्दा त काठमाडौँको बिच सहरमा ठुलो महल, आँखाले देख्नेसम्मको जग्गा जमिन आँगनमा रहेको ग्यारेजमा गाडी, मोटरसाइकल तर सन्तान विहीन घर रहेछ । घरबाट हस्पिटल जाने बेलामा बच्चा ल्याएर बस्ने सुत्केरी कोठाको बन्दोबस्त सहित सिँगारिएको कलश घडा थापेर दही सगुन खाएर सेतो रङ्गको गाडी चढेर हुइँकिएको यात्रा थापाथली हस्पिटलको गेट भन्दा केही पर गएर ब्रेक लाग्यो ।यताबाट गएका मानिस गाडी भित्रै म भने गेट तिर लागे, जविन्द्र कुमार गेटमै प्रतीक्षा गरिरहेका रहेछन् ।

देख्ने बित्तिकै डराए जस्तो हतार हतार मुद्रामा थिए, हस्पिटलले बिहानै डिस्चार्ज गरेको तपाईँहरू नआएर छिटो छिटो गरेर लैजानु अहिले कोही आफन्त आएमा बरबाद हुन्छ भन्दै सुत्केरी भएको बेडमा लगे, बेडमा पुग्दा त सानो परियाको टालो र पातलो पछ्यौरा बेरिदिएको, बेलुका दश बजे जन्मिएको बच्चालाई दिने बच्चा हो भारा लाग्ला भनेर दूध समेत चुसाएको रहेनछ, मुख प्याक प्याक सुकेको जाने बित्तिकै डिस्चार्ज गरिसकेको, सबै सामानहरू पोका पारिसकेका बच्चा लिनुस् भने पछि टपक्क हस्पिटलको बेडबाट बच्चा बोकेर गेटतिर आएँ कोही आफन्त भेट होलाकी भनेर आत्तिँदै सुत्केरी शरीर सकी नसकी हतार हतार गरेर गेट बाहिर आए । म भने बच्चा बोकेर गाडी भित्र छिरे, मन कुमार गाडी बाहिरै ओर्लिए, आफूले बनाएर लिएर गएका कागजमा जविन्द्र कुमारलाई देखाए सजिलो सँग हस्ताक्षर गरिदिए जविन्द्रले । मेरो भने मुटु भारी भयो, लौन कसरी सकेको होला भन्ने लाग्यो, हस्ताक्षर गरिसके पछि भने लगलग शरीर काँप्दै थियो जविन्द्रको । मनकुमारको छोरा बुहारी भने एकापटि बसेर हेर्दै थिए,यिनीहरू नै यी बालिकाको ममी बाबा बन्दै थिए । मनकुमारकी श्रीमतीले म हस्पिटल भित्र पसेपछि बच्चाको लागि ब्याङ्केट कपडा सबै किनिसक्नु भएछ, गाडी भित्र बच्चा च्यापेर छिरे, सुत्केरीलाई बोलाइदिनु भनेपछि गाडी भित्र बोलाइदिएँ । सुत्केरी मान्छे,एकसरो म्याक्सी, कम्मरमा धोतीको एकसरो टालो बाँधिएको, थरथरी कापी रहेको शरीर, आँखा भरी टिलपिल आँसु , मलिन आवाजले नानी बच्चालाई बेरेको पछ्यौरा दनिुसन जाडो भयो, मन कट कटी खाने दृश्यले मुटु छिया छिया बनायो ।

पहेँलो र हरियो रङ्गको पछ्यौरा बच्चाको शरीरबाट निकालेर दिएँ । नाङ्गो शरीर तुन्द्रुङ्ग झुन्डाएर मन कुमारकी श्रीमतीलाई दिए । उहाँले सोध्नुभो सुत्केरीलाई केही खाने कुरा नी दिन पाइएन अलिकति पैसा दिन पाए हुन्थ्यो मन लागेको कुरा किनेर खानुस् भनेर, उनका श्रीमानलाई दिँदा सुत्केरीलाई नदेलान् भनेपछि गाडी भित्रै सुत्केरीलाई बोलाइदिए, उता जबिन्द्र र मनकुमार कुन्नि के भनेर लेखेको कागजमा हस्ताक्षर गर्नतिर लागे त्यही मौकामा सुत्केरीको म्याक्सीको पकेटमा पन्ध्र हजार मन लागेको कुरा किनेर खानुस् भनेर दिए भने श्रीमानलाई सबैको सामु दश हजार सुत्केरीलाई खानेकुरा खुवाउनुस् भनेर दिए । अनि सुत्केरीलाई ट्याक्सी चढाएर जविन्द्र कुमार धादिङ प्रस्थान गरे,सुत्केरी भने भारी मन बनाउँदै गए । यता गाडीमै बच्चालाई कपडा पहिरिदिए, अनि घर ल्याए विधि अनुसार कार्य गरे ।

उता भने पेटमै मरेको बच्चा जन्मियो भनेर लोकलाई झुट बोलेर पाँच दिनमा चोखिनको लागि होम समेत हाले । कति सम्झाउँदा पनि मानेनन् उतिबेला, त्यो पिडा खप्न नसकेरै होला जविन्द्रले त्यति बेला देखि दिमागको औषधी खान सुरु गर्न पर्‍यो भने उनको श्रीमती भने बेला बेलामा विक्षिप्त बन्छिन्, जिन्दगी भरि तड्पेर बाच्नु भन्दा अरूको कुरा पनि सुनेको भए आज रुँदै जिन्दगी बिताउनु पर्दैन थियो । यता बच्चा आँखा वरिपरि फररर जामा लगाएर गाडी चढेर हिँडेको देख्दा खुसी लाग्छ, ललितपुरको नाम चलेको विद्यालयमा पढ्छिन्,लाग्छ फिलिम सुटिङ जस्तो तर यथार्थ घटनामा आधारित हो । यसरी लिङ्ग पहिचान गरेर गर्भपतन किन गराउनु अपराध हो । एउटा महिलाले यो हदसम्म सजाय भोग्न बाध्य छिन् । छोरामय समाज ।

यो धादिङको यथार्थ घटनामा आधारित कथा हो,यसमा नाम सबैको परिवर्तन गरिएको छ । जो कसैले पनि यस्ता क्रियाकलापले पछि पछुताउनु भन्दा बेलेमा बुद्धि पुर्‍याउनु उचित हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस