कोरोनाका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्व राजा शाहको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्व राजा शाहको आग्रह


१० असार २०७७, बुधबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

शाहले बुधवार सन्देश जारी गर्दै कोरोनाबाट मृत्यु भएकाहरूप्रति श्रद्धा व्यक्त गरेका छन् भने सङ्क्रमितको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।

सन्देशमा उनले कैयन प्रश्नहरू उठाएका छन् । उनले भनेका छन्, ‘हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रु जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको सङ्कट, सीमा समस्या, राष्ट्र हित विरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैँभरि विवाद आइरहन्छ ?

भ्रष्टाचार, लापरबाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले भनेका छन्, ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक सङ्घर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय र विचारणीय विषय भएको उनले बताएका छन् ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्व राजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् । ‘राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

साथै उनले असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस