इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने


८ असार २०७७, सोमबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक निकाय प्राधिकरणले कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार यस्तो व्यवस्था गर्न सेवाप्रदायकलाई अतिरिक्त भार भने पर्ने छैन । अहिले पनि वल्र्ड लिङ्क, सुबिसुलगायतका सेवाप्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्ताको तहसम्म भने त्यसको प्रयोग भएको छैन ।

अनुगमनका क्रममा केही सेवा प्रदायकले यस्तो व्यवस्था गरे पनि प्रयोगकर्तालाई भने जानकारी नभएको पाइएको प्राधिकरणले जनाएको छ । यो व्यवस्था लागू भएसँगै सेवाप्रदायकले उपलब्ध गराउने युजर आईडी र पासवर्डको आधारमा लग इन गरेपछि विभिन्न समयमा प्रयोग भएको इन्टरनेट ब्यान्डविथका बारेमा ग्राफसहित प्रयोगकर्ताले सजिलै हेर्न सक्नेछन् ।

मोबाइल सेवाप्रदायकले एप्स अथवा अन्य कुनै माध्यमबाट प्रयोग भएको इन्टरनेटको वास्तविकता उपलब्ध गराउनुपर्ने छ । तत्काल यो व्यवस्था लागू नभए कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

यो व्यवस्था लागू भएपछि प्रयोगकर्ता, सेवाप्रदायक र नियामक तीनै पक्षलाई फाइदा पुग्ने प्राधिकरणले जनाएको छ ।सेवाप्रदायकले आयात गरिरहेको ब्यान्डविथलगायतका विषयको अनुगमन अहिले प्राधिकरणले आफ्नै कार्यालयबाट गर्न सक्ने गरी अटोमेसनमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस