बदलिँदो परिवेशमा एसईई पुनर्संरचना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बदलिँदो परिवेशमा एसईई पुनर्संरचना


२ असार २०७७, मंगलबार


पृष्ठभूमि
२०७६ साल चैत्र ६ गते देखि सञ्चालन हुने गरी सबै तयारी भई सकेको २०७६ सालको एसईई परीक्षा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको त्रास देखाउँदै २०७६ साल चैत्र ५ गते साँझ एकाएक स्थगित गरियो । २०७६।१२।११ गते देखि मुलुकमा लकडाउन घोषणा भएसँगै यसको अनिश्चितता बढ्दै गयो भने कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढी रहेका कारण अव यो वर्ष एस इ इ नगर्ने गरी सरकारले निर्णय गरेको छ ।

परिचय
नेपालको शैक्षिक इतिहासमा एउटा महत्त्वपूर्ण परीक्षाको रूपमा विसं १९९० साल देखि एस एल सी परीक्षाको शुरुवात् भएको थियो । विसं १९३६ सालमा कलकत्ता विश्वविद्यालय र १९८० सालमा पटना विश्वविद्यालयको सम्बन्धनमा तत् तत् विश्वविद्यालयमा सञ्चालन हुने परीक्षा १९९० कार्तिक १६ गते एस एल सी बोर्ड गठन भए सँगै नेपालमै सञ्चालन हुन सुरु भएको हो ।

विसं १९९० पुसबाट सञ्चालन हुँदै आएको यो परीक्षा विद्यालय शिक्षाको अन्तिम ल्याकत परीक्षण गर्ने र सोही बमोजिम कलेज प्रवेशको आधार बन्ने गरी आइरन गेटको रूपमा परिचित थियो । स्ट्यान्डर्ड बाह्य परीक्षाको रूपमा देशैभरि एकरूपमा सञ्चालन हुने भएकोले यसको गरिमा र महत्त्व धेरै थियो । शिक्षा प्रणालीको बद्लिँदो स्वरूप र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा विसं २०७३ सालदेखि यसलाई ग्रेडिङ सिस्टममा रूपान्तरण गरियो भने माध्यमिक शिक्षा परीक्षा एस इ इ को नाममा पुनर्संरचित गरियो ।

विद्यालय छोड्ने र कलेज प्रवेश गर्ने प्रस्थान विन्दुको रूपमा काम गर्न ससफल यो परीक्षा विद्यार्थी र तिनका अभिभावकका लागि एउटा रोमाञ्चक अनुभूतिको विषय पनि थियो ।

संक्षिप्त इतिहास
विसं १९१० मा स्थापना भई १९३४ मा माध्यमिक विद्यालयको रूपमा स्तरीकरण भएको दरबार हाइ स्कुलका विद्यार्थीका लागि कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन लिई परीक्षा दिने प्रचलनको शुरुवात् विसं १९३६ वाट भएको हो । खासमा नेपाली प्रमाणपत्रले अन्तर्राष्ट्रिय मान्यता नपाए पछि विश्वविद्यालयको सम्बन्धन खोजिएको हो । बढ्दो विद्यार्थी सङ्ख्याका माझ सरकारी खर्च कम गर्न विसं १९८० मा कलकत्ता विश्वविद्यालयको संवन्धनलाइ पटना विश्वविद्यालयमा सारियो । त्यतिवेला विद्यार्थीका लागि भारतमा गई परीक्षा दिएर आउने सबै खर्च नेपाल सरकारले व्यहोर्ने गर्थ्यो । १९८६ बाट भने पटना विश्व विद्यालयले नेपालमै परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न थालेको देखिन्छ । पटनावाट सुपरिवेक्षकहरू आएर सरकारी अतिथिका रूपमा परीक्षा सञ्चालन गर्ने र उत्तरपुस्तिका बोकेर पटना फर्किने प्रचलन थियो । पछि नेपाल सरकारले विसं १९९० कार्तिक १६ गते एस एल सी बोर्ड गठन गरेपछि एस एल सी परीक्षाको इतिहासमा ब्रेक थ्रु भएको मान्न सकिन्छ । १९९० पुस अन्तबाट सुरु भएको त्यो वर्षको ऐतिहासिक परीक्षा माघ २ को माहाभुकम्पका कारण स्थगित हुनु परेको थियो । पछि १९९१ जेठमा उक्त परीक्षा पुन सञ्चालन गरिएको थियो ।

३३ जना परीक्षार्थीले फाराम भरेको त्यो परीक्षामा एकमात्र छात्रा सविना कुमारी देवी अनुपस्थित भइन भने १० जना द्वितीय श्रेणीमा र ९ जना तृतीय श्रेणीमा गरी १९ जना उत्तीर्ण भएका थिए ।

दरबार हाइ स्कुल र पाटन हाइ स्कुलका विद्यार्थीले भाग लिएको परीक्षामा दरबार हाइ स्कुलका पुष्प भक्त मल्ल बोर्ड फस्ट घोषित भएका थिए । १९९० वाट सुरु भएको बोर्ड फस्टको प्रचलन २०६२ सालसम्म कायम रह्यो ।

२००७ सालमा २ पटक परीक्षा भएका कारण २ जना बोर्ड फस्ट घोषित भए भने २०३४ सालमा नयाँ शिक्षा र पुरानो शिक्षा समूहबाट ४ जना बोर्ड फस्ट घोषित भएका थिए । २०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकाले गलत परिणाम दिने भन्दै बोर्ड फस्टको प्रचलन हटाए पनि २०५२ सालमा नयाँ सरकाले पुन यो प्रचलन सुचारु गरेको थियो ।

हालको व्यवस्था
२०७३ सालमा विद्यालय शिक्षाको संरचनालाई १-८ आधारभूत तथा ९-१२ माध्यमिक बनाइ पुनर्संरचित गरे पछि एस एल सी परीक्षालाई कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईको रूपमा रूपान्तरित गरिएको हो । स्कुल लिभिङ सर्टिफिकेटको रूपमा नभए पनि पुरानो विरासत र विद्यार्थीलाई कक्षा ११-१२ मा विषयगत । करियरगत रूपमा स्ट्रिमिङ गर्ने परीक्षाको रूपमा यसको ओज र महत्त्व अध्यापी छँदै थियो । छ । पुरानो आइरन गेटलाई भावी करियरको लागि अवसर गेटको रूपमा रूपान्तरण गर्दै सञ्चालन र व्यवस्थापनमा सहज हुने गरी प्रदेश सरकारको जिम्मेवारी अन्तर्गत विकेन्द्रित गरिएको थियो र ग्रेडिङ प्रणाली र राष्ट्रिय परीक्षा बोर्डको प्रमाणीकरणले यसको विश्वसनीयता र मान्यतालाई अक्षुण्ण राखेको थियो ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुने र कक्षा १० मा क्षेत्रीय स्तरको बाह्य परीक्षा हुने एवम् त्यसको प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने व्यवस्था गरेको थियो । शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ४ ट ले पनि यही व्यवस्थालाई वैधानिक रूप दिएको छ ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ४२ मा शिक्षा सचिवको अध्यक्षतामा परीक्षा सञ्चालनको नीति निर्धारण लगायतका विषयमा कार्य गर्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको व्यवस्था गरिएको छ भने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एस सम्बन्धमा सम्पूर्ण कार्य गर्दै आएको छ । जिल्ला स्तरमा समेत प्रजिअ अध्यक्षताको परीक्षा समन्वय समितिको व्यवस्था छ ।

राम्रा पक्ष
एस एल सी परीक्षा तत्कालीन नेपाली समाजको एउटा मानक जस्तै थियो । यो परीक्षा कलेज र जागिर दुवैका लागि प्रस्थान विन्दु थियो । एस एल सी, एसईई परीक्षा बाह्य परीक्षा भएका कारण यसले विद्यार्थीमा संवेदनशीलताका साथ पढ्ने र तयारी गर्ने संस्कृतिलाई वढावा गर्दथ्यो । उत्तीर्ण गर्नलाई नै सही, पढ्ने वातावरण यसले निर्माण गर्थ्यो । कलेज वा कक्षा ११/१२ मा के पढ्ने भन्ने कुराका लागि आधार तयार गर्ने महत्त्वपूर्ण कार्य यसले गर्थ्यो । यसको सबैभन्दा महत्त्वपूर्ण पाटो बिग्रँदो उमेरका विद्यार्थीहरुलाइ पढाइ लेखाइमा इंगेज गराउँथ्यो । विद्यार्थीका लागि जबरजस्त रूपमा पढाइको वातावरण बनाउनु वास्तवमा महत्त्वपूर्ण कार्य मान्नु पर्छ ।

एस एल सी /एसईई परीक्षाले शिक्षकहरूलाई समेत सजग बनाउँथ्यो । खुला रूपमा विद्यार्थी प्रतिको उत्तरदायित्व प्रमाणित गर्ने माध्यम नै यो परीक्षा थियो । शिक्षकलाई कोर्स सक्नै पर्ने बाध्यतामा राख्थ्यो यो परीक्षाले । शिक्षकलाई हरहमेसा अपडेट भई रहनु पर्ने र शिक्षणमा खरो उत्रनु पर्ने वाध्यात्मक अवस्था यसले सृजना गर्थ्यो जो सर्वथा सकारात्मक पक्ष हो । अभिभावकलाई समेत आफ्ना वाल बच्चाको शिक्षा दीक्षामा चिन्ता र चासो व्यक्त गर्ने माध्यमको रूपमा समेत एस एल सी/ एसईई रहेको थियो । धेरैका लागि एस एल सी/एसईई परीक्षा जीवनकै रोमाञ्चक अनुभूति को रूपमा रहन्थ्यो । एस एल सी । एसईई तयारीको सन्दर्भ, परीक्षा केन्द्रको वास, अभिभावकको संलग्नता, अग्रजहरूको पृष्ठपोषण, शिक्षकहरूको सहजीकरण, परीक्षाफलको पर्खाइ र नतिजा प्राप्ति सम्मका शृङ्खलाहरू भावी जीवनमा संस्मरण गरिने महत्त्वपूर्ण पलका रूपमा रहन्थ्थ्यो । एस एल सी/ एसईईले कतिपय अब्बल विद्यार्थीहरुलाइ सेलिव्रेटी समेत बनाउँथ्यो । पुष्प भक्त मल्ल, यदुनाथ खनाल, बाबुराम भट्टराई, लुना भट्ट, किशोर थापा, गरिमा राणा आदि आ- आफ्नो समयमा बोर्ड फस्ट भएका हस्तीहरू हुन जो एस एल सी परीक्षाकै कारण जीवन भरी सफल व्यक्तित्व बन्न सफल भए । यस्ता थुप्रै उदाहरणहरू छन् ।
डर,  चिन्ता, भय र त्रासका बिचमा पनि रोमाञ्चकता, उत्सुकता, कौतुहलता र सफलताका लागि लालायित हुने मनोवृत्ति एस एल सी/एसईईको विशेषता जस्तै थियो । नपढ्नेहरूको त कुरा भएन, पढ्नेहरूका लागि एस एल सी /एसईई परीक्षा जीवनको एक ऐतिहासिक मोड थियो ।

नराम्रा पक्ष
एस एल सी /एसईई परीक्षाको औपचारिक ढर्राका कारण कतिपय विद्यार्थीलाई आजीवन असफलताको धब्बा लाग्थ्यो । यो पक्ष यस परीक्षाको सबैभन्दा नकारात्मक पक्ष हो । परीक्षा सञ्चालनको बढ्दो खर्च र झन्झट पनि यसको नकारात्मक पक्ष मान्न सकिन्छ । यही परीक्षाका कारण कतिपय विद्यालयबिच अस्वस्थ प्रतिस्पर्धा हुने गरेका कुरा पनि नकारात्मक पक्ष मान्न सकिन्छ ।

परीक्षा नहुने घोषणा पछिको चिन्ता
यतिवेला शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा २० को वाधा अड्काउ हटाउने अधिकारको प्रयोग गरी सरकारद्वारा गरिएको एसईई परीक्षा नहुने घोषणा सँगै थुप्रै चिन्ता र द्विविधा उत्पन्न भएका छन् । पहिलो कुरा यो वर्षको एसईई नतिजाकालागि विद्याथीको आन्तरिक मूल्याङ्कनलाइ आधार मान्ने कुरालाई कसरी कार्यान्वयन गर्ने भन्ने समस्या छ । ग्रेड वृद्धि तर्फ फाराम भर्नेहरूको व्यवस्थापन अर्को समस्या छ ।

अव उप्रान्त एसईई परीक्षालाई कक्षा ९ सरह विद्यालय भित्रै गर्ने भन्ने कुरा पनि आइरहेकै छ । सङ्घीय समितिले यो परीक्षाको खारेजीको सिफारिस गरिएको पनि सुनिएको छ । यसको स्पष्टता सङ्घीय शिक्षा ऐनले गर्ला शायद । तथापि कतिपय कुराहरू सोचनीय छन् ।

यो परीक्षालाई आन्तरिक परीक्षाको रूपमा सामान्यीकरण गरेसँगै विद्यार्थीको विशेष संवेदनशीलताका साथ तयारी गर्ने प्रचलनको अन्त्य हुनेछ । विद्यालयमै परीक्षा हुने भएपछि विद्यार्थीको लापरबाही बढ्छ । यसै पनि अहिले विद्यार्थीहरू सोसल मिडिया लगायत विभिन्न विषयका कारण पढाइबाट डाइभर्ट छन् ।

अर्को कुरा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको गलत अभ्यास विद्यालयमा छँदै छ । उदार कक्षोन्नतिका नाममा तोकिएका सक्षमता हासिल नभए पनि कक्षा चढाउने चलन बढेकै छ । विद्यार्थी पास भई हाल्नेमा ढुक्क छ । यो अभ्यासले पठनपाठनको संस्कृतिलाई नराम्ररी प्रभावित पार्न सक्छ ।

बाह्य परीक्षाबाट आफ्नो कार्यको रिफ्लेक्सन नहुने भएपछि शिक्षकको लापरबाही पनि बढ्न सक्छ । अझ भनौँ लापरबाहीको बहाना खोज्नेहरूका लागि यो सजिलो कारण बन्न सक्छ । आखिर आन्तरिक परीक्षामा जति पढायो त्यत्तिबाट प्रश्न सोध्न मिली हाल्छ ।

ग्रिडको प्रयोग र टेक्सोनोमिको उपयोग परीक्षामा नहुन सक्छ ।

अब के गर्ने ?
एसईई परीक्षालाई कानुन तह पनि पदेश सरकारले गर्ने व्यवस्था भैसकेको हो¸तथापि सङ्घीय सरकारको खटनपटन कायमै थियो । अब यसलाई साच्चिकै विकेन्द्रित गर्ने गरी अवसरको रूपमा लिन सकिनेछ । तर यसलाई विद्यालय भित्रै कक्षा ७ वा ९ को परीक्षा जस्तै गरी आन्तरिक रूपमा गरिने परीक्षाको रूपमा लैजानु राम्रो हुँदैन । कक्षा १० को तहमा एउटा बाह्य परीक्षा आवश्यक हुन्छ । विद्यार्थीको सिकाइलाई बाह्य रूपमा मूल्याङ्कन गर्न र शिक्षक हरूको उत्तरदायित्व सार्वजनिकरुपमा प्रमाणित गर्न पनि बाह्य परीक्षा जरुरी छ । सबै विद्यालयमा कक्षा ११। १२ को पठनपाठन नहुने र कक्षा ११/१२ को पाठ्यक्रम । पाठ्यपुस्तक कक्षा ९/१० को जस्तै सबै । धेरैका लागि एकै नहुने भएका कारण पनि कक्षा १० मा एउटा स्ट्याण्डर्ड परीक्षा जरुरी देखिन्छ । अर्को कुरा, कक्षा १० पछि कतिपय विद्यार्थी कामको संसारमा समेत प्रवेश गर्न सक्छन् । कक्षा १० पछि विद्यार्थीहरू विभिन्न शैक्षिक कार्यक्रम वा धार जस्तै सिटिइभिटि, कक्षा ११, ओ लेभल आदिमा जाने भएकाले उनीहरूको समकक्षता र माइग्रेसनका लागि पनि कक्षा १० मा बाह्य परीक्षा आवश्यक देखिन्छ । परीक्षासँग जोडिएका कतिपय नकारात्मक र गलत कुराहरूलाई भने सुधार गरेर जानुको विकल्प छैन ।

तसर्थ यो परीक्षा अव कसरी गर्ने भनेर ऐन जारी हुनु पूर्व व्यापक छलफल गरिनु जरुरी छ । संभवत प्रदेशले आफ्नै खटनपटन र व्यवस्थापनमा गर्न सक्दा सबभन्दा राम्रो । यसो गर्दा आइरन गेटको ह्याङ कम हुने र खर्च व्यवस्थापनमा पनि सहजता हुन सक्छ । यो पनि सम्भव नहुने भए जिल्ला स्तरमा भए पनि बाह्य परीक्षा गर्न सकिन्छ । कक्षा ८ को परीक्षा पालिका तहमा हुने भएपछि कक्षा १० को परीक्षा जिल्ला तहमा र कक्षा १२ को मात्र राष्ट्रिय तहमा गर्ने गरी व्यवस्थापन गर्न सकिन्छ ।

निष्कर्ष
लामो इतिहास बोकेको एसईई परीक्षा यो वर्ष नहुने/नगरिने निर्णय घोषणा भएसँगै सरोकारवालाहरु तरङ्गित हुनु स्वाभाविकै हो । यो वर्ष परीक्षा नभएपनि आगामी वर्ष यसको मोड्ल के हुने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा गहन छलफल र विज्ञतापूर्ण विश्लेषण गरेर मात्रै निर्णय गर्नु जायज हुनेछ । विद्यार्थीहरुलाई सहज बनाउने र बढ्दो खर्चको दायराबाट सरकारले उन्मुक्ति पाउने नाममा कक्षा १० को एसईई परीक्षालाई अन्य कक्षा जस्तै गरी विद्यालय भित्रै गर्न खोजिए प्रकारान्तरले यो नकारात्मक हुने छ । हालसम्मको अनुभवबाट सिक्दै परीक्षालाई कम खर्चिलो, र कम झन्झटिलो बनाउँदै यसलाई अझ मर्यादित, विश्वसनीय र अर्थपूर्ण सिकाइको एउटा कारकको रूपमा रही रहने गरी यसको पुनर्संरचना गर्नु जरुरी देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस