खोज्दैछु तिम्रा खुसीका पलहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोज्दैछु तिम्रा खुसीका पलहरू


३१ जेष्ठ २०७७, शनिबार


यान्त्रिक जीवनबाट
सूत्र परिचालन गरेर
सुटुक्क चोरेको समयभित्र रहेर
तिम्रा जिन्दगीका खुसीका पलहरू खोज्न
गन्तव्य भन्दा बेग्लै दिशातिर हिँडेको कोलम्बस जस्तै
सागरका हजारौँ छालहरू पार गर्दै
खोज्दै छु तिम्रा खुसीका पलहरू ।

सुख तिमीसँगै छ, उमङ्ग तिमी सङ्गै
प्रेम अनि उत्साह तिमीसँगै छ
तर म बुझ्दै छु तिम्रा लजालु आँखाका
गाजलभित्र लुकेका चाहनाहरू
खोज्दै छु तिम्रा रसिला ओठमा
भरिएका प्रेमका प्यालाहरू ।

मस्तिष्कमा हरपल खेल्ने
अनेकौँ कल्पनाहरू जस्तै
मनलाई घरीघरी बिथोल्ने
थरी थरी सपनाहरुसङ्गै
आँखाको गहिरो सागरभित्र
खोज्दै छु तिम्रा रहरका पलहरू ।

साँचेर राखेका रहरहरू पूरा गर्न
सूर्य उदाउनुभन्दा पहिले
प्रणयसुत्रमा बाँधिएको
प्रत्येक निमेष कल्पँदै
गुलाबका सुगन्धित पत्र पत्रमा
माहुरीले रस खोजेजस्तै
खोज्दै छु तिम्रा खुसीका पलहरू ।

प्रतिक्रिया दिनुहोस