विकास सकारात्मक परिवर्तन हो । यथास्थितिवादी सोच विकासको बाधक हो । हामीले अगाडि बढ्ने सोच राख्यौँ भने मात्र विकासको गति लिन्छौँ । यसको लागि सबै पक्षहरूको दृढता आवश्यक पर्दछ । सुशासन र जनसहभागिता भएन भने पनि विकास सुस्ताउँछ ।
अनेकौँ सम्भावनाका बाबजुद नेपाल पछाडि पर्नु आफैमा दुःखद छ । नेपाललाई प्राकृतिक देन दरिलो छ । यहाँका प्राकृतिक सम्भावनाहरू केलाएर यिनीहरूको महत्वम उपयोग गर्न नसक्दा हामी सधैँभर केही नभएको अनुभूति गर्नुपरेको छ । नेपालको इतिहासको कुनै पनि कालखण्डमा कुनै साम्राज्यको अगाडि झुक्नु परेन । कसैको उपनिवेश बन्नु परेन । यो आफैमा गौरवको विषय त हो । तर यही विषयलाई गौरव मानेर बसिरहँदा हिजो द्वन्द्व खेपेका तथा उपनिवेशमा रहेका मुलुकहरूले आर्थिक तथा भौतिक विकासमा धेरै फड्को मारिसके तर हामी भने जहाँको तहिं । यस्तो दुरदशाबाट गुज्रिरहेको हुनाले अब हाम्रा सम्भावनाहरूको राम्रो उपयोग गरी देश विकास गर्नको लागि दृढ सङ्कल्प लिनु जरुरी छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना महामारीको कारण सन् २०२० मा विश्व अर्थतन्त्रमा ३ प्रतिशतले सङ्कुचन हुने अनुमान गरेको छ । नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सङ्कुचन हुने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष ०७६।७७ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १०८५ अमेरिकी डलर पुग्ने अनुमान छ । यसबाट हाम्रो अवस्थाको चित्रण हुन्छ । आज भन्दा ६० वर्ष अगाडि सिङ्गापुर एक अविकसित नगरको रूपमा परिचित थियो । सिङगापुरका शासक ली क्वान युले मलेसियाबाट टुक्रिएको सानो टापुलाई भ्रष्टाचार मुक्त र अनुशासित मुलुकको पहिचान दिलाउने गरी काम गर्न सकेका कारण नै आज सिङ्गापुर विकासको पर्यायवाची बन्न सकेको छ । उनले सरकारको जासुसी संयन्त्र मजबुद बनाए, भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति लिए । साथै ऊर्जावान् र उच्च मनोबलयुक्त कर्मचारीतन्त्र खडा गरे । जनतालाई कहिल्यै पनि झुटा आश्वासन बाँडेनन् ।
करिब ७० वर्ष पहिले कोरिया नेपालकै दर्जामा थियो । तर आज नेपालीहरूको लागि भरपर्दो र सुरक्षित श्रम गन्तव्य बनिरहेको छ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरिया चरम समस्यामा रहेको थियो । त्यति बेला नेपालले समेत खाद्यान्न सहयोग गरेको थियो । अहिले श्रमको लागि नेपालीहरू खाडी लगायतका मुलुकमा गए जस्तै हालत कोरियालीहरूको थियो । उनीहरूले विदेशबाट सीप र पैसा लिएर स्वदेशमा आएर उद्योग धन्दा तथा कृषि क्षेत्रमा लगानी गरे । उनीहरूको लगानी उत्पादनशील क्षेत्रमा केन्द्रित भयो । सरकारले पनि उचित वातावरण तयार गर्दै गयो । दक्षिण कोरियाले आयात प्रतिस्थापन गरी निर्यात बढाउने नीति अख्तियार गरेर दक्षिण कोरिया आज एक विकसित एवं आत्मनिर्भर मुलुकको कोटीमा पर्न सफल भएको छ । मलेसियाका प्रधानमन्त्री डा महाथिर मोहम्मदले गरिबी अव्यवस्था र अन्योलले आक्रान्त बनेको मलेसियालाई औद्योगिकीकरण माध्यमबाट विकसित मुलुकमा उभ्याउन सफल भएका छन् । जहाँ लाखौँ नेपालीहरू श्रम गरिरहेका छन् ।
बोल्ने र गर्नेमा तादम्यता हुनुपर्दछ । अनगिन्ती स साना बाटाहरू बनाएर तात्कालिन समस्या टार्न खोज्दा विकास टिकाउ पनि हुँदैन र खर्चले पनि धान्न सक्तैन । यसको बदलामा सबैलाई मान्य हुने गरी सकेसम्म पायक पर्ने गरी एक मात्र मूल सडक बनाउन सक्यौँ भने त्यो सडक भरपर्दो, साझा र दिगो पनि बन्न सक्छ । यो सडकको मर्मत संहार गर्न पनि सजिलो हुन्छ । मूल बाटो सुनिश्चित एवं सुव्यवस्थित भएपछि अनि त्यही मूल सडकबाट आवश्यकताअनुसार अन्य शाखा बाटाहरू जोडेर पायकमा पहुँच पुर्याउन सकिन्छ । विकासको मोडल र दिशा यस्तै हुन सक्यो भने हरेक क्षेत्रमा साझा योजनाहरू बन्न सक्छन् । साझा योजनाहरूमा कसैको अवरोध पनि हुँदैन ।
विकासमा सङ्कल्प आवश्यक हुन्छ । सङ्कल्प भनेको कुनै सपना हुन सक्छ या सोच हुन सक्छ । यस्तो सोच हासिल गर्नको लागि विस्तृत कार्य योजना आवश्यक हुन्छ । कार्य योजना अनुसार अगाडि बढ्नको लागि यसको सही कार्यान्वयन हुनुपर्दछ । यसको लागि जनशक्ति स्रोत साधनको आवश्यक पर्दछ । यी सबै हुँदा पनि राम्रोसँग कार्य गरिएन भने लक्ष्यहरू हासिल हुँदैनन् । विकासको लागि त्याग पनि अपरिहार्य सर्त हो । त्याग भएन भने सोच तथा योजनाहरू अधुरा बन्न सक्छन् । कुनै पनि अठोट लिइसकेपछि यसलाई पूरा गरिनुपर्दछ । चामल तरकारी फलफूल माछा मासु जस्ता चीजहरू पनि हामी आयात नै गरिरहेका छौँ । यस्ता चीजहरू त स्वदेशमा सहजै उत्पादन गर्न सकिन्छ । तर हामी गर्दैनौँ ।
यस्तै विकासमा अर्को अपरिहार्य पक्ष हो जनसहभागिता र स्वामित्व बोध । जबसम्म विकासमा जनसहभागिता हुँदैन तबसम्म विकासका कार्यहरूमा स्वामित्व बोध हुँदैन । स्वामित्व बोध नभएसम्म विकासमा बाधा विरोधहरू भइरहन्छन् । यसको लागि सोच बनाउँदा देखि कार्यक्रमहरूको कार्यान्वयनका चरण मात्र नभई लाभको उपयोगसम्म सबैको पहुँच र समन्वय हुनु जरुरी छ । होइन भने बनाउने भन्दा बिगार्ने तथा भत्काउनेहरू जुनसुकै समाजमा धेरै हुन्छन् । यी सबै पक्ष र विचारहरूलाई मिलाएर अगाडि बढ्न सक्यौँ भने विविधताको व्यवस्थापन गर्न सकिन्छ र विकासलाई दिगोपना दिन सकिन्छ । सुशासन अर्को पक्ष हो जसले सरकारलाई जनविश्वास दिलाइ राख्छ । यसको लागि पारदर्शिता चाहिन्छ । खर्चिलो र भड्किलो निर्वाचन प्रणालीलाई निरुत्साहित गरिनुपर्दछ ।
युवा भनेको कुनै पनि मुलुकको लागि सबैभन्दा ठुलो शक्ति हो ।
सही दिशा निर्देश हुने हो भने मुलुक बन्न त धेरै समय लाग्दो रहेनछ । हामी परनिर्भर अवस्थामा रहेका छौँ । परनिर्भरबाट अन्तर निर्भर हुँदै स्वनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि उपयुक्त नीतिहरू नलिँदासम्म हामी आर्थिक रूपान्तरण गर्न सक्तैनौं । प्रभावकारी नीति र राजनीतिक इच्छाशक्ति भएको अवस्थामा कोरिया, मलेसिया, सिङ्गापुरले गरे जस्तो विकासको फड्को मार्न गाह्रो हामीलाई पनि हुँदैन । हामीले नेपाललाई अरू कुनै देश होइन नेपाल नै बनाउन सक्छौँ । सगरमाथा र गौतम बुद्धको देश नेपाल भनेर नै नेपाल चिनाउन सक्छौँ । खाँचो दृढता र त्यागको हो । यहाँ कृषि पर्यटन जलस्रोत पूर्वाधार तथा उद्योगको क्षेत्रमा प्रबल सम्भावना रहेको छ । अमेरिका, बेलायत, जापान, चीन र भारत जस्ता मुलुकहरू पनि इतिहासको विभिन्न कालखण्डमा नेपालकै बराबरी हैसियतमा रहेका देखिन्छन् । गौरवका योजनाहरू कुनै पनि राजनीतिक दाउपेचमा पारिनु हुँदैन । उपभोगमुखी भन्दा पनि उत्पादनशील क्षेत्रमा लगानीहरू भित्राउन सक्नुपर्दछ ।
आज जापान अमेरिका कोरिया अष्टेलिया स्वीट्जरल्याण्ड नर्वे जस्ता मुलुकहरू विकसित हुँदा त्यहाँका समग्र नागरिकहरूको जीवनस्तर उच्च रहेको छ । विकासको प्रतिफल सबैमा वितरण भइरहेको हुन्छ । आज भुटान खुसी मुलुक भनिरहँदा त्यहाँका नागरिकहरू खुसी भएको भन्ने बुझाइ हुन्छ । त्यहाँका उच्च ओहोदाका निश्चित मानिस या कुनै तह या वर्गका मानिसहरू खुसी हुँदैमा त त्यो मुलुक खुसी बन्न सक्तैन नि । यसको अर्थ विकास समग्रतामा र सापेक्षिक बुझाइमा लिइनुपर्दछ । युवा भनेको कुनै पनि मुलुकको लागि सबैभन्दा ठुलो शक्ति हो । नेपालमा भने यो शक्तिको उपयोग राम्रोसँग हुन सकिरहेको छैन । कोरोना महामारीका कारण विदेशमा भएका नागरिकहरू स्वदेश भित्रिने क्रम बढेको छ । कोरोना महामारीको प्रभाव वैदेशिक रोजगारीमा पनि नराम्रो पर्ने देखिएकोले यस्तो अवस्थामा युवाहरूको सीप क्षमता तथा लगानीको उपयोग गरी देश विकास गर्ने सङ्कल्प गर्न सक्छौँ । सुशासनको जगमा मात्र कुनै पनि मुलुकको विकासले गति लिन सक्तछ ।
विकसित विश्व परिवेश अनुरूप सूचना तथा प्रविधिसँग जुध्दै सबैसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् जनशक्ति विकास गर्नु र आफ्नो मुलुकको रक्षा र नागरिकका हक अधिकारको प्रत्याभूति दिलाउनु आफैमा चुनौती हो । विकसित मुलुकहरूले लिएका नेपालको माटो सुहाउँदा विकासका सफल प्रारूपहरू अनुकरण गर्न सकिन्छ । सुशासनको प्रत्याभूति गर्दै सुरक्षित लगानीको वातावरण तयार गर्नुपर्दछ । युवा शक्तिहरूको सही व्यवस्थापन गर्न सक्यौँ भने मुलुक निर्माणमा नेपालको लागि ठुलो अवसर साबित हुनेछ ।
वैज्ञानिक अधिकृत, वनस्पति विभाग
[email protected]