वातावरण संरक्षण र विकासको शैलीमा गर्नुपर्ने सुधार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वातावरण संरक्षण र विकासको शैलीमा गर्नुपर्ने सुधार


२४ जेष्ठ २०७७, शनिबार


वातावरण व्यवस्थापन एउटा जटिल, बहुपक्षीय, वहुआयामिक र चुनौतीपूर्ण विषय हो । भौतिक विकासबाट प्रतिस्पर्धा गरी आफूलाई सर्वश्रेष्ठ स्थापित गर्ने मानवीय स्वभाव र वातावरणीय अनुकूलन हुने विकासका शैलीहरूको अवलम्बन गर्न नसकिएका कारण प्राकृतिक स्रोत माथि अत्यधिक दबाब वढिरहेकोे छ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको संवैधानिक व्यवस्था गरिएको छ, वातावरण र विकासका बिच सन्तुलन हुने गरी नीति, मापदण्ड, कानूनहरु बनी कार्यान्वयन भइराखेका छन्, सङ्घ, प्रदेश र स्थानीय निकायहरूले दिगो विकासका मुद्दाहरूलाई आफ्ना नीति, कार्यक्रम, योजना तथा परियोजनाहरूमा अनुसरण गरेका छन् । यी प्रयासहरू वातावरण संरक्षणका लागि हाम्रा महत्त्वपूर्ण अवसर हुन् । तथापि पर्याप्त भने छैनन् ।

हामीले विकासको ढाँचालाईनै परिमार्जन गरी अन्तर्राष्ट्रिय समुदायसामु उदाहरणीय देखाएर वातावरण संरक्षणबाट हाम्रो राष्ट्रको गौरव बढाउने तर्फ सोच्नुपर्ने देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा जन अनुमोदित सरकारहरू गठन भएका छन् यसले विकासको शैली परिमार्जनका लागि हामीलाई एउटा अवसर प्रदान गरेको छ । सङ्घीय प्रणाली कार्यान्वयनको सुरुवातको चरणमा रहेकाले दृढ इच्छाशक्तिका साथ निम्न विषयमा परिमार्जन गरी कार्यान्वयन गर्नु आवश्यक देखेको छु ।

 स्थानीय सरकारहरूको अग्रसरतामा विस्तिहरुको सिमाङ्कन गरी एकीकृत वस्ति निर्माणका लागि उचित स्थानको छनोट गर्ने, प्रदेशहरूले आवश्यक सहजीकरण गर्ने, सङ्घले विज्ञहरू मार्फत अध्ययन गरी वैज्ञानिक ढङ्गबाट एकीकृत बस्ती निर्माण कार्य अगाडि बढाउने । एकीकृत वस्तिहरू निर्माण हुँदा एकातिर राज्यलाई सेवा प्रवाह तथा शासन गर्न सहज हुन्छ भने अर्कातिर वस्ति स्थानान्तरण भई बनेका खाली स्थानमा वृक्षारोपणका कार्य गरेर बनजंगलको विकास गर्न सकिन्छ । सहरहरूमा वृक्षारोपण गर्दा खाली हरियाली र शुद्ध हावा मात्र प्रवाह हुन्छ भने खालि स्थानमा वृक्षारोपण गर्दा यसका अतिरीत्त जैविक विविधता, पर्यावरणीय सन्तुलन लगायत थुप्रै लाभहरू हासिल गर्न सकिन्छ ।

 औधौगिक क्षेत्र तथा सहरहरूबाट निस्कने ढललाई प्रशोधित गरेर पिउन योग्य बनाएर मात्रै नदीहरूमा मिसिने व्यवस्था गरिनु पर्छ, यसबाट जलचरहरू सहज ढङ्गबाट बाँच्ने वातावरण बन्न जान्छ, नदीहरूको स्वच्छता र सुन्दरता बढ्न गई बहु आयामिक लाभ हासिल गर्न सकिन्छ ।

 प्लास्टिक जन्य वस्तुहरूको उत्पादन र प्रयोगमा पूर्ण रूपबाट नियन्त्रण कायम गर्नु पर्दछ । औधौगिक तथा घरहरूबाट निस्कने फोहरको वर्गीकरण गरी पुन: प्रयोगमा ल्याउन सकिने र नसकिने गरी छुट्ट्याउने, पुनः प्रयोगमा ल्याउन सकिनेलाई पुनः प्रयोगमा ल्याउने संस्कृतिको विकास गर्ने र नसकिने फोहरलाई मोहरमा बदल्ने कार्यक्रम ल्याएर उचित व्यवस्थापन गर्ने ।

 समुदाय स्तरबाटै वातावरण संरक्षणका लागि उचित पहल कदमि अगाडि बढाउने र दायित्व निर्वाह बढाउने गरी वातावरणीय चेतनाको विकास र वातावरण बाट सामुदायिक स्तरमा आर्थिक लाभ पुग्ने कार्यक्रमहरू निर्माण गरी सञ्चालनमा जनसहभागिता प्रवर्द्धन गर्ने ।

 विद्युतीय सवारी साधनमा कर छुट र आवश्यक अन्य सहुलियत प्रदान गरी विद्युतीय सवारी साधनको प्रयोग बढाउने, सरकारी सवारी साधनहरू विद्युतीय हुनुपर्ने अनिवार्य नियम बनाउने र कडाइका साथ लागू गर्ने ।

 गोबर ग्याँस, विद्युतीय चुलो लगायत नवीकरणीय ऊर्जाका स्रोतहरूको प्रवर्द्धन र त्यसमा जनपहुँच बढाएर हरित ऊर्जा विकासमा जोड दिने ।

 वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने , विस्वस्तरीय सम्मेलनहरू आयोजना गर्ने र कार्बन अधिक उत्सर्जन गर्ने मुलुकहरूलाई क्षतिपूर्ति तिर्न लगाउनका लागि बार्गेनिङ बढाउने यसका लागि वातावरणीय कूटनीतिमा जोड दिने ।

विकासको अन्तिम गन्तव्य खुसी हुनु हो । प्रकृतिका नियमहरू उल्लङ्घन गरी गरिएको विकासबाट यो सम्भव छैन त्यसैले विस्वस्तरीय सहकार्यबाट वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउनुको विकल्प छैन । हाम्रा विकासका सम्पूर्ण शैलीहरूमा थप परिमार्जन गर्नु आवश्यक छ । किताब र भाषणमा नभएर वास्तविक जीवन पद्धतिमा वातावरणलाई आबद्ध गर्न सक्नु पर्दछ । भौतिक विकास त सबैलाई चाहिन्छ तर भविष्य सम्म यस गृहमा मानवीय अस्तित्व राख्ने हो भने हाम्रा सोचाई, विकासका मोडल र प्रतिस्पर्धाका स्तरहरूमा भौतिक विकास मात्र नभई वातावरण, विकास र जनसङ्ख्याका बिचमा तादाम्यता कायम गर्नु आवश्यक छ । यसका लागि नेपालबाटै सुरुवात गर्न सक्ने क्षमता हामीलाई मिलोस् अन्तर्राष्ट्रिय वातावरण दिवसको विश्व मानव जातिलाई मङ्गलमय शुभकामना ।

योजना अधिकृत जगदीश प्रसाद जोशी गोदावरी नगरपालिका कैलाली

Tags :
प्रतिक्रिया दिनुहोस