भिआइपी जुवाडेलाई ३० हजार धरौटीमा छाड्न प्रशासनको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भिआइपी जुवाडेलाई ३० हजार धरौटीमा छाड्न प्रशासनको आदेश


२३ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । बुटिक होटेलमा जुवा खेल्ने मारवाडी समुदायका व्यापारीलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न प्रशासनले आदेश दिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

पक्राउ परेका मध्ये एक जना अशोक अग्रवाल भने गिनीको अवैतनिक दूत भएकाले थप १० हजार रुपैयाँ धरौटी मागिएको छ ।

सोमबार साँझ कमलादीस्थित होटेल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेदेखि नै छाड्नका लागि विभिन्न ठाउँबाट प्रहरीलाई दबाब दिँदै आएका उनीहरूको तीन दिनमै अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

पक्राउ परेका मध्ये जोगाइ होटेलका सञ्चालक हुन् भने संघाई एनआईसी बैङ्कका सञ्चालक हुन् । त्यसै गरी अग्रवाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हुन् । अन्य सबै प्रतिष्ठित व्यापारिक घरानाका व्यक्ति हुन् ।

केही प्रहरीकै हाकिमबाट पनि दबाब गएपछि प्रहरीले कोरोना भाइरसको कारण देखाउँदै मंगलबारै उनीहरूलाई हाजिरी जमानीमा छाड्न खोजेको थियो । तर, सरकारी वकिलले मानेका थिएनन् ।

उनीहरूको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस