प्रभुत्व प्रवाह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रभुत्व प्रवाह


१७ जेष्ठ २०७७, शनिबार


आज शान्तलालको घरमा रमाइलो छ I आज घरमा पूरा एक धार्नी राँगाको मासु आएको छ I शान्तलालकी पत्नी तिलोत्तमा ठुलो फलामको कराहीमा मासु भुट्दै छन् I अठार वर्षकी छोरी रबिना र तेह्र वर्षको छोरो अमल खुसीले फुरुङ्ग छन् I कराहीभरिको मासुले उनीहरूको मन ढुक्क पारेको छ I आज आमाले ‘मासु यत्ति हो नि’ भन्ने छैनन् I शान्तलालका सतासी वर्षे बाबु छेकटे माइला चुलोको छेउमै बसेर मासुको बास्नाको आनन्द लिँदै छन् I माइला बुढाले यसो यता उता हेरे I जे चिजको जिज्ञासा थियो त्यो नदेखेपछि उनले छोरालाई सोधे ‘मासु त मस्तै ल्याइछस् कान्छा, तर अपच हुने हो कि ? तँ थाकेर आको छस् I यसो मासुलाई साथी पनि ल्याको भा थकाइ मोर्थो I” शान्त केही बोलेनन् I तर रबिनाले कुरा बुझिहाली I ‘आज हजुरबालाई ‘त्यो’ खाने मन छ, हो कि नाई भन्नु त हजुरबा ?’  रबिनाले बूढाबालाई जिस्क्याई I

शान्तलाल बाबुलाई अत्यन्तै सम्मान गर्छन् I उनलाई यस संसारमा सबैभन्दा मन परेको व्यक्ति को हो ? भनेर सोध्यो भने शान्तको सहज उत्तर हुन्छ ‘मेरो बा’ I उनी बाबुसँग ठट्टा दिल्लगी पनि गर्छन् I शान्तले अलि पर कुनाको खाट मुनिबाट एउटा थोत्रो झोला निकाले I झोला बाबुको हातमा दिँदै भने ‘हेर त बा माल कस्तो छ ?’ बुढाले झोलाबाट एउटा ग्यालेन निकाले I ‘ओ हो कति माना हो कान्छा ?’ बुढा दङ्ग परे I ‘तीनमाना छ बा I डेढ माना म खान्छु, बाँकी डेढ माना तिमी र तिलोत्तमाले खाने I’ शान्तको कुरा सुनेर तिलोत्तमाले भनेकी थिइन् ‘त्यत्रो रक्सी खाएँ भने त भोलि ब्यान उठ्दा दस बज्ला है I फेरि ‘जँड्याहा आइमाई’ भन्लान् नि छिमेकीहरूले I एक गिलास त खान्छु म पनि I’

छेकटे माइला जातले कामी हुन I सानै हुँदा उनलाई बिफर आयो I पुरै बिफरका फोकाले ढाकेर पिपको डल्लो भएको थियो शरीर I बाँच्ने आशा थिएन, तर कुन दैव संयोगले हो केराको पातमा सुताएर राखेका माइला बाँचे I उनको सारा शरीर र अनुहारमा बिफरको दाग बसेर कुरूप भएको हुँदा उनको नाम छेकटे माइलो कायम भयो I माइला निरक्षर छन् I तर उनी अगणित अनुभवका भण्डार हुन, उनको स्मरण शक्तिअद्भुत् छ I आजसम्म कपाल पनि दुखेको छैन, पूर्ण स्वस्थ छन् I

मासु पाक्यो I शान्तले बाबुलाई कचौरामा मासु र ठुलो स्टिलको गिलासभरि रक्सी दिए I बुढा मक्ख छन् I सधैँ हँसिला र ठट्यौला बुढाबाबुलाई नातिनातिना पनि खुब माया गर्छन् I आफूले भोगेका दुःख र सास्तीलाई पनि उनी रमाइलो तरिकाले वर्णन गर्छन् I रक्सी खाएको बेलामा त बुढा झन् फुर्तिला हुन्छन् I बुढाले यसो कराहीतिर हेरे I मासु आधाभन्दा धेरै बाँकी छ I उनले ‘कान्छा’ भन्दै गिलास सोझ्याए, ‘भोरी हाल्दे’, शान्तले टन्न भरिदिए I रबिनाले भनी ‘हजुरबा पेटभरि मासु खान पाउँदा क्या मज्जा है ! तपाईँले जिन्दगीमा कतिचोटी पेटभरि मासु खानुभाछ ?’ बुढाले यसो माथितितिर हेर्दै गन्न थाले I ‘अहिले त तेरो बाले बेला बेलामा पेट भराकै छ, तर यसले कमाउन नाथाल्दासम्म तीनचोटी पेटभरि खाइयो I’ उनले हातका औँला भाँच्दै भने ‘फुस्रे लप्टनको ब्यामा, गुमाने सारुको नातिको ब्यामा र तीनखुट्टे साहु मोर्दा I’

अमल पनि हजुरबा फुरेको दिनमा सुनेर बस्छ I आज उसलाई डर छ, कतै निद्रा लग्यो भने हजुरबाका गफ सुन्न छुट्छ, पछि पछुतो हुन्छ I वृद्ध र बालक असल साथी हुन I कतै सुनुवाइ नहुने वृद्धलाई पनि बालबालिकाले सुन्छन् I वृद्धहरूले पनि बालबालिकालाई चाख लिएर सुन्छन् I अमलले सोधेको थियो ‘हजुरबा तपाईँ त राति राति पनि हिँड्नुहुन्थ्यो रे, भूत देख्नुभयो कि नाई ?’ बुढाले नातिलाई काखमा लिएर माया गर्दै भनेका थिए ‘हेर बाबु म गरिब दलित मान्छे I रातिमा नहिँडी कहाँ साध्य चल्थ्यो ? वनमा गोल पोलेर फर्कँदा कैयौँ पल्ट झमक्क राति भएको छ, तर मलाई डर लागेन I गरिबलाई डराउने फुर्सद भए पो डराउनु ? एक पल्टको कुरा हो तेरो बुढी आमा बिरामी थिई I घरमा खानेकुरा थिएन I चारमाना अन्न जम्मा गर्दा धेरै नै रात परो I घर आएपछि तेरी बज्यैले भनी ‘यति राति बल्ल ! कति रात पारेर आको ? भूत प्रेतको डर हुन्छ भन्छन्’ तर मैले भनेको थिएँ, मलाई भूत, प्रेत, पिचास, डाकिनी साकिनी, रिसानी केहीले पनि तर्साउँदैन I यिनले तर्साउने त तिनै बाहुन क्षेत्री मगर गुरुङ नेवारलाई हो, जसले यिनलाई जन्माए I मसँग के थियो र डराउने ? जोसँग छ त्यही डराउँछ I बरु बाघ भालुको डर मान्नु पर्छ, मान्छेको डर मान्नु पर्छ, भूतको डर मान्नु पर्दैन I हेर नाति अव त तँ पनि बुझ्ने उमेरमा पुग्न लागिस् I कसैलाई अन्याय नगर्नु, लोभ लालच नगर्नु, राम्रोसँग पढ्नु I जति पढे पनि कामलाई सानो नमान्नु, काम गरेर सानो बनिन्न I पुरानो जमानामा हामीलाई धेरै दुःख थियो, तर मन्छेमा थोरै दयामाया पनि थियो, तर अव तेरो पालामा त्यस्तो दया गर्ने मन्छे पाउन मुस्किल हुनेछ I अव बिस्तारै तेरो बा पनि बुढो हुन्छ, आमा बुढी हुन्छिन्, रबिनाको पनि ब्या हुन्छ I जसरी तेरो बाले मलाई माया गरेको छ तैँले पनि त्यस्तै माया तेरो बालाई गर्नु I तँसँग खेल्न आउने केटो छ नि रञ्जन, हो त्यसको हजुरबा फुस्रे लप्टनको कत्रो हैकम थियो I थुप्रो सम्पत्ति पनि जोडेका थिए I तर आज बुढेसकालमा सबैले हेला गर्छन् I साह्रै हेला भैयो माल्दाई भन्दै रुन आउँछन् I अड्कलेर देको आधापेट अन्न खाएर सास धान्नु परेको छ I आफू कमजोड भएपछि कोही आफ्नो हुँदो रैनछ भन्दै बिलौना गर्छन् I दलित तिमी हैन म हुँ, समाजको दलितभन्दा घरको दलित ज्यादा दु:खी हुन्छ माल्दाई भन्थे, मलाई त हो कि जस्तो लागो I’

बुढा भन्दै गए ‘हेर शान्त हामी अछुत जात हौँ I मैले एकपल्ट तिलपाटे जोतिसिलाई सोधेको थिएँ, ए बाजे यो छोई छिटो हाल्ने चलन भगवानले नै बनाका हुन कि मान्छेले बनाको हो हँ ? तिलपाटेले भनेका थिए, हेर माइला यो जातपात भन्ने कुरा भगवानले नै बनाका हुन I तँ पूर्व जन्मको पापको कारणले यो जुनीमा कामी भएर जन्मनु पर्‍यो I यो जुनीमा सबै बिस्टहरूलाई मान गरिस्, भनेको मानिस, सेवा गरिस् भने अर्को जुनीमा के थाहा राजा भएर पो जन्म लिन्छस् कि, मेरो जस्तो जोतिसी कुलमा पो जन्म लिन्छस् कि के थाहा ? तर यस्तै यस्तै प्रश्न गर्ने, बिस्टलाई हेप्ने, सेवा नगर्ने, लोभ लालच गर्ने गरिस् भने घोर नरकमा पुग्छस् I जेमका दूतहरूले तँलाई कुम्भीपाकमा डुबाउने छन् I अर्को जुनीमा झन् कुकुर बिरालो भएर जन्म लिनु पर्ला I’ मलाई एक मनले हो कि जस्तो लागो, तर अर्को मनले भनो, ऐले पनि त कुकुर बिरालोभन्दा तलै छु I बरु कुकुर बिरालोको पानी चल्छ I

रबिनाले सोधेकी थिई ‘त्यो जोतिसिलाई झ्याम्म गालामा हान्न सक्नु भएन हजुरबा ? बुढाले भनेका थिए ‘ए रबिना ल एउटा कुरो भन त, तेरो अगाडि बाघ आयो भने के गर्छेस् ?’ रबिनाले भनी ‘हातमा बन्दुक भए गोली हान्छु, नभए भाग्छु I’ बुढाले भने ‘भाग्ने ठाउँ भएन कोप्चेरामा परिस्, बाघले झम्टनै लागो, हातमा हतियार पनि छैन, गुहार मागौँ भने सहयोग गर्ने कोही छैन, अनि के गर्छेस् ?’ रबिनाले एकैछिन सोचेर भनी ‘आँखा चिम्म गरेर हात जोडेर उभिन्छु I’ बुढाले भनेका थिए ‘हो, त्यही हालतमा थिएँ म I हाम्रा जातका मन्छे त्यही बाघको अगाडि भए जस्तै अवस्थामा थिए I’

चुनावको समयमा सबै पार्टीका नेता कामी टोलमा भोट माग्न आउँछन् I भोट माग्ने क्षणमा सबै दलित अधिकारको वकालत गरेर थाक्दैनन् I चुनाव तातेको समयमा कामी टोलमा रौनक आउँछ I अठार वर्ष नाघेकाले बाहुन, ठकुरी, क्षेत्री, मगर सबैको नमस्कार र सम्मान पाउँछन् I महिलाहरूको पनि खुब गनिता मनिता हुन्छ I एक पल्टको चुनावको समयको कुरा हो, पिपल डाँडामा चुनावी सभा थियो I सभाका आयोजकले सोचे, यी छेकटे भनेका दलितहरूको भगवान् जस्तै हुन, यिनलाई भाषण गर्न लगायो भने एकमुष्ट भोट माग्नेछन्, घर घर धाउनै पर्दैन I छेकटेलाई भाषण गर्ने अनुरोध गरियो I उनले भनेका थिए ‘म बुढो दलित ! म के पो जान्दछु र I फेरि भन्न नहुने कुरा भनम्ला कि, तलबितल पर्ला कि ? फेरी तपैंहरुको मन दुख्ला कि ?’ तर उनलाई बोल्न कर गरियो I

हजुरबा जुरुक्क उठे I मञ्चमा गए र चारैतिर हेरे I चउरभरि मानिस थिए I को महिला, को पुरुष, को दलित, को बाहुन, को युवा, को वृद्ध, सबैको सुन्दर फूलबारी देखेर बुढा केही भावुक भए I उनको भाषण सुरु भयो ‘हेर्नुस् मन्छेहरु म नेताले जस्तो मिलाएर कुरो भन्न जान्दिन I तपैंहरु सभापति के के भन्नुहुन्छ, म तो केई जान्दिन I हुन त अचेल हाम्रा दलित केटाले पनि भाषण ठोक्छन् गरे I हाम्रो शान्तलाल त झेलखान पनि परो, पिटाइ पनि खायो, अलिअलि भाषण पनि गर्दो हो I अव हेर्नोस्, यो चुनाऊ भन्ने कुरो रमाइलो पनि हुनी, तर पापी चुनाउले हाम्रा केटा बिगार्ने बाहेक के गरो भन्नोस् त ? परारकै चुनाउको कुरा हो, एउटा काँग्रेसले हाम्रो छिमेकी दलेको घरमा चारपाता टेनको छानो हाल्देछन, राम्रै कुरा हो I तर चुनाउको बेलामा काँग्रेस त सामन्ती हुन्छन् भनेर उचालेछन्, दलेको भोट कमनिस्टले उछिट्याए I एउटो दलित नानी बिरामी भइछन्, कमनिस्टहरु मिलेर चन्दा उठाएर ओखती गराइदिए I तर चुनाउको बेलामा कमनिस्ट त अधर्मी हुन्छन् भनेर उसकै बाउले तो केरे राप्रपा भन्नेलाई भोट दिएछ I सात दिनसम्म तपैंहरु सबैले पालै पालो राँगाको मासु र रक्सी ख्वाएर सोत्तर पारेको हो कि हैन ? लाज लाग्छ कि लाग्दैन हँ तपैंहरुलाई ? चुनाउको बखत जस्ता गफ लाए पनि जब केही दिनी बेला हुन्छः तपैंहरु दलितलाई देख्नुहुन्न I मैले घरै बसी बसी सुन्छु कतै नोकरी दिनु परो भनी आफ्नै साला, भान्जा, मीता, भतिजा खोज्नुहुन्छ गरे I नोकरी पाउने धेरैजसो बाहुन क्षेत्री हुन्छन् गरे बाँकी मगर, गुरुङ, नेवार, राई लिम्बुहरू I कहिलेसम्म मूर्ख बनाउनुहुन्छ दलितलाई ?

हेर्नुस् नेताहरू म एउटा इत्त्यास सुनाउँछु सुन्नोस् ! धेरै वर्ष अगिको कुरो हो, पञ्चायती बेलाको चुनाऊ थियो I एक जना क्षेत्री चुनाऊ लड्न कस्सिएछन् I मेरो घरमा आए र भन्न थाले ‘माइला चुनाऊ आओ, अव तैँले मलाई सघाउनु परो I’ मैले भनेँ, ए काजी साहेब, म निर्धोले के गर्न सक्छु ? उनले भने तैँले सबै काम छाडेर मेरो लागि एउटा काठको मूर्ति बनाइदिन परो I मैले भनेँ हैन काजी चुनाउमा भोट मान्छेले दिने हो कि काठको मूर्तिले ? काजी त रिसाइहाले I तँलाई त्यसै कज्याउन लागेको हो र ? ‘जति जेला लाग्नी हो दिन्छु I’ मैले एउटा बाघको मूर्ति बनाइदिएँ I मैले भनेको थिएँ, अव यो मूर्ति के गर्नुहुन्छ ? उनले भने अव यो मूर्ति कालीको मन्दिरको आँगनमा राख्छु I तिलपाटे जोतिसीबाट प्राण प्रतिष्ठा के के गर्छु अनि त दुर्गा माताको दयाले चुनाऊ जितीहालिन्छ I अझ त्यति भनेर नपुगेर भने ‘अलि राम्रोसित बना नि पछि तैँले छुन मिल्दैन I’ हेर्नुस् त ठुला भनेका जातका कुरा कस्ता हुन्छन् ? केही बोलम त काजी झगडा गर्छन्, भो त नि भैगो भनेर मनमनै सोचेँ I बनाउन त कालीको मूर्ति, कालीको तरबार, ढाल, गहना, लुगा, जुत्ता, ढोका, झ्याल, बाजा सबै म जस्ताले नै बनाएको हो I पाप धर्म रहेछ भने, देउता रहेछन् भने हामीलाई हेर्लान्, केही पनि रहेनछ भने त के पो चाहियो I यस्तै छ हेर्नोस् यहाँ I’

रक्सी ठिक्क खायो भने मजाले निद्रा लाग्छ I भोलिपल्ट बिहान पनि फूर्ति हुन्छ, ‘फ्रेस’ महसुस हुन्छ I तर धेरै खाइयो भने एक निद सुतेर जागेपछि फेरि निद्रा लाग्न मुस्किल हुन्छ I माइला बुढा त छुट्टै धातुले बनेका मनुष्य, तीन ‘फुल’ गिलास खाएर पनि मस्त सुते I तर शान्तलाई निद्रा लागेन I मनमा कुरा खेल्न थाले, उनी अतीतमा पुगे I बीस वर्षको उमेर पुगेपछि शान्तलाई राजनीतिको नशा लाग्यो I घरको अवस्था नाजुक थियो I आमाको देहान्त भइसकेको थियो I दाइ र भाइ सानैमा मरे I दुई जना बहिनीहरू सानै थिए I छेकटे एक्लै गोल पोल्न जान्थे, आरन चलाउँथे, बाख्रालाई घाँस काट्थे, साँझ कुखुरा हुल्थे I शान्तलाई दश कक्षा पढ्दा पढ्दै राजनीतिले छोपिहाल्यो I तैपनि समय मिलाएर बाबुलाई सहयोग गर्न र कमाउन जान चुक्दैनथे I सोह्र वर्षको हुँदा उनको विवाह भयो, तर दुई वर्षपछि गर्भावस्थामा अत्यधिक रक्तस्राव भएर पत्नी मरिन I

तीस एकतीस वर्षअघिको कुरा हो I शान्त भरखर चौबिस वर्षकाथिए I उनलाई राजकाज अपराधको मुद्दा लाग्यो I शान्तलाई अहिले पनि झलझली सम्झना छ, पुलिसले उनलाई मुद्दा हेर्ने अधिकार प्राप्त अञ्चलाधीशकहाँ बुझाएको थियो I धेरै दिनसम्म प्रहरी हिरासतको बसाइ र यातनाले गर्दा शान्तको हालत दयनीय भएको थियो I अन्य छ जना पनि उनीसँगै पक्राउ परेका थिए, तर पुलिसले भेट गर्न दिएको थिएन I अरू साथीहरू कुन अवस्थामा कहाँ छन्, उनलाई थाहा थिएन I अञ्चलाधीश कार्यालयमा उनको बयान सुरु भयो I बयान गराउने अफिसर अमोघचन्द्र उपाध्यायले उनको बयान लिन थाले :-
अमोघ – तिम्रो नाम के हो ?
शान्त – शान्तलाल कालिगड हो हजुर I
अमोघ – बाबुको नाम ?
शान्त – छेकटे कामी I
अमोघ – विवाह भयो ?
शान्त – विवाह त भएको हो, तर अहिले उनी मरिसकिन I
अमोघ – यो तिम्रो अनुहार, हात र खुट्टामा केको खत हो ?
शान्त – केही बोलेनन् I
अमोघ – डराउनु पर्दैन I यहाँ कसैले केही गर्दैन I
शान्त – पुलिसले पिटेका घाउका खत हुन हजुर I
अमोघ – कसको घरमा मिटिङ बसेको ?
शान्त – मेरो घरमा I
अमोघ – कुन समयमा ?
शान्त – राति एघार बजे I
अमोघ – मिटिङमा को को आए, के के निर्णय भयो, के के गरियो सबै कुरा खुलाएर भन I
शान्त – हाम्रो पार्टीलाई ‘कम्युनिस्ट भन्छन् I मैले मिटिंगहरुमा थाहा पाए अनुसार यो पार्टीको उद्देश्य कम्युनिस्ट शासन कायम गर्ने हो I कम्युनिस्ट शासन आयो भने सबै बराबर हुन्छन्, शोषण दमनको अन्त्य हुन्छ, धनी गरिब भन्ने हुँदैन, जातपात र छुवाछुत हुँदैन, सबैको इज्जत हुन्छ, कोही ठुलो सानो हुँदैन, सामन्तीहरू मासिन्छन् I हाम्रो मिटिङ कहिले वनमा, कहिले खेतमा, कहिले कसैको गोठमा, कहिले घरमा गर्ने चलन छ I मैले अहिलेसम्म सात आठ ओटा मिटिङमा भाग लिएको छु I मेरो घरमा मिटिङ हुने दिन छ जना थियौँ I एघार बजे मिटिङ सुरु भयो I बहिनीले भात र सिन्कीको झोल पकाइन I साढे एघार बजे खाना खाइयो I मिटिङमा म, लुम्बनाथ गौतम, लालकाजी श्रेष्ठ, दन्तवीर आले, अटल घर्ती र विकर्णबिक्रम थापा थियौँ I त्यो दिनको एजेन्डा पञ्चायती व्यवस्था र राजाको विरोधमा पर्चा लेखेर छर्ने रहेको थियो I हामीले लाले खत्रीको घरबाट एक झोला गोबर पनि ल्याएका थियौँ I केही पर्चाहरू चौतारीको पिपलको रुखमा र हाईस्कूलको भित्तामा गोबरले टाँस्ने योजना थियो I तर राति एक बजे पुलिस आएर हामी सबैलाई गिरफ्तार गर्‍यो, मिटिंगकापी र पर्चा सबै बरामद भए I
अमोघ – सामन्ती भनेको के हो ? को हो ?
शान्त – सामन्ती भनेको धनी मान्छे हो I
अमोघ – तिम्रो पार्टीमा धनी मान्छे छन् कि छैनन् ?
शान्त – छन् I लुम्बनाथ जमिन्दार हुन, लालकाजी साहुजी हुन, विकर्णबिक्रमको कुन्नि केको फ्याक्ट्री छ रे I
अमोघ – लुम्बनाथको घरमा मिटिङ भयो कि भएन ?
शान्त – भयो I बाहिर बारीमा खाना पकाए, बाहिरै खाइयो I तीन चार पल्ट घरमा गएको छु, तर घरभित्र पसेको छैन I एउटा मिटिङमा मैले तपाईँहरू जातपात र छुवाछुत समाजको कलङ्क हो भन्नुहुन्छ, तर आफ्नो घरभित्र किन मिटिङ राख्नुहुन्न भनेको थिएँ, उनले ‘हाम्रो शासन आएपछि सबै ठिक हुन्छ, अहिले किन हतार गर्नुपर्‍यो ? भने I’

शान्तले राजकाज अपराध गरेको ठहर फैसला भयो I छ महिनापछि क्षेत्रीय अदालतको आदेशमा उनी जेलबाट छुटे I

शान्तका बाजे टिमुरे कामी बडो हक्की स्वभावका थिए I शान्त सानै हुँदा टिमुरे बिते I छेकटेले शान्तलाई बेला बेलामा पुराना इतिहास सुनाउने गर्थे I जातपात विषयको इतिहास सुनाउने सिलसिलामा छेकटेले एउटा रोचक घटना सुनाएका थिए I एक दिन टिमुरेका भाइ चन्द्रवीर कामी आफ्नो मिल्ने साथी सेमलाल दमाईको घरमा पुगेका रहेछन् I सेमलालको घरमा राँगाको मासु पकाएको रहेछ I सेमलालकी आमाले हुन्न हुन्न भन्दा भन्दै चन्द्रवीरलाई सेमलालले सुटुक्क मासु र रक्सी खान दिएछन् I चन्द्रवीरले मन थाम्न सकेनन्, खाएछन् I तर कसैले देखिहाल्यो I कामी टोलमा रडाको मच्चियो I चन्द्रवीरको जात गयो, उनी कामी समाजबाट बहिष्कृत भए I

कामीटोलबाट दश मिनेट हिँडेपछि घाम ताप्ने चौतारोमा पुगिन्छ I घाम ताप्ने चौतारोको बगलमै टिमुरडाँडा टोल छ I पारिलो घाम लाग्ने र डम्म बसेको यो ठाउँ निकै उब्जाउ पनि छ I अघि करिब सय वर्ष पहिले यो ठाउँमा बुट्यान मात्र थियो I शान्तका बाजे टिमुरेले नै यसलाई आवाद गरेर झुपडी बनाएर बसेका थिए I टिमुरडाँडो आवाद गरेर बसेको हुँदा उनलाई सबैले टिमुरे कामी भन्न थालेका थिए I तर कसैले उनको पसिनामा आँखा गाडिहाल्यो I अनेक बहाना गरेर उनलाई त्यहाँबाट हटाइयो I उनलाई अहिले शान्त बस्ने गरेको ठाउँमा पठाइयो I किन्तु टिमुरे निराश भएनन् I उनले यो बन्जर जमिनलाई पनि आफ्नो पसिनाले सिँचे I बिस्तारै अरू कामीहरू पनि यही ठाउँमा आएर बस्न थाले I अहिले बीस पच्चीस घर छन् I टिमुरडाँडामा दस बाह्र घर बाहुन र क्षेत्री बस्छन् I

छेकटे यो गाउँ पालिकाका तेस्रो नम्बरका वृद्ध हुन I उनीभन्दा जेठा एक जना टिमुरडाँडाकै अतिरेकजंग थापा छन्, जो छेकटेभन्दा तीन महिना अगाडि जन्मेका हुन I कुशबारीकी नन्दावती शर्मा अहिले बयानब्बे वर्ष पुगिन I अतिरेकजंग लौरो टेक्दै कहिले काहीँ छेकटेलाई भेट्न आउँछन् I एक दिन दिउँसो दुई बजे अतिरेक आइपुगे I उनी आँगनमा बिछ्याएको गुन्द्रीमा पल्टे I छेकटेले भनेका थिए, ‘काजीलाई सकस भयो, हुन त म आएको भए पनि हुन्थो, तर अचेल आफ्नो टोल काटेर कतै जान जाँगर लाग्दैन I यही टोलमा एक्लै कराउँदै भौँतारिन्छु I अतिरेकले भने ‘के गरौँ माइला ! मर्न काल आएन I घरमा सवैथोक छ, तर मेरो लागि केही पनि छैन, रित्तो छु I कहर काट्दै काल पर्खेर बसेको छु I तिमी मेरो घरमा आएर के गर्छौ ? यहाँ तिम्रो घरमा त बुहारी गतिली छ, नातिनातिनाले मुख छाड्दैनन्, छोरो सज्जन छ I बुढेसकालमा यस्तो काँध थाप्ने छोरो पो छोरो ! तिमी र म भएर मेरो घरमा सुख दु:खको कुरा गर्‍यौँ भने त मेरा परिवारका मान्छेका कान पाक्छन् I’

‘हेर माइला ! धन्न तिमी छौ र म छु I तिमीलाई भेट्न सात ठाउँ बस्दै आउँदा डेढ घण्टा लाग्यो I नमरी स्वर्ग देखिन्न भन्छन् I मरेपछि स्वर्ग यस्तो यस्तो हुँदो रहेछ भन्न कोही आएको छैन, के थाहा I ‘ बुहारीहरू बुवा रामनाम लिएर चुपचाप बसे कति राम्रो हुन्थ्यो’ भन्छन् I हुन त हो नि ! तर के गरम I चौबीसै घण्टा रामनाम लिन पनि नसकिने रहेछ माइला I काम सार्दा भाँडो अफाल तेरो ठाँडो जस्तो भएर बाँच्नु परेको छ I आफ्नै घरमा अरूको शासन सहेर बस्नु जस्तो दुख मान्छेको जुनीमा अरू केही हुँदो रहेनछ I मलाई त तिम्रो यो झुपडी नै स्वर्ग जस्तो लाग्न थालेको छ I अचेल मलाई तिम्रो जिन्दगानी देखेर रहर लाग्छ I समाजले दलित भनेर के भयो ? तिमी आफ्नो जिन्दगीको मालिक आफै छौ , आफ्नो मनको मालिक आफै छौ I’

काजीका कुरा सुनेर माइला गम्भीर भए I उनले भनेका थिए ‘हेर्नोस् काजी ! मान्छेलाई जवसम्म भोक थाहा हुँदैन, तबसम्म जिन्दगानी थाहा हुँदैन I तपैंका सन्तानलाई भोक के हो, दुःख के हो, पसिना के हो, समाजले गर्ने हेला के हो, जाडो यामको नाङ्गो ज्यान के हो, परिश्रम के हो, केही थाहा छैन I दुःख नभोगेको मन्छे बैगुनी हुन्छ I सम्पत्ति जोडेर राखिदिए सन्तान खुसी हुन्छन् भन्ने कुरा ठुलो भूल हो काजी I एउटा दलित बिरामी भो भनी उसको रगत डक्टरले जाँच्दैन I बरु लामखुट्टेले जाँच्छ I समाजले हामी दलितलाई मौका नै दिएन I अचेल अलिअलि नोकरी चाकरीमा भाग लाएको छ रे भन्ने सुन्छु, तर त्यो भागको पनि विरोध हुन्छ रे, सक्नेले आफ्नो योग्यता देखाउनु पर्छ भन्छन् रे I पुर्खाको पालादेखि मौका नपाएर पिल्सिएका मन्छेका सन्तानलाई लौ ‘फिरी’ भइस्, अव आफै गरेर खा भनेर हुन्छ ? कहाँ गर्ने ? के गर्ने ? कसरी गर्ने ? कसले सहयोग गर्छ ? अहिले अलिकता फिरी त भएको छ, तर बाटा त खुलेका छैनन् I नजानिँदो गरी हेपेकै छन्, हेला गरेकै छन् I

एक दिन एक जना कवि हुन कि के हुन आएर मालो बा तपाईँलाई सम्मान हो कि मान के हो गर्ने निधो भएको छ, सदरमुकामसम्म आइदिनु परो भनेर निम्तो दिए I एक घण्टा मेरा कुरा सुनेर कापीमा लेखे I तपाईँ त गुमनाम सोक्रेटिस हो, तपाईँ हाम्रो समाजलाई आँखा देखाउने अगुवा हो भनेर फुर्क्याए I सोक्रेटिस भनेको के हो ? भनेको तपाईँ जस्तै सत्य बोल्ने मान्छे हो भने I मैले पहिले यो छुवाछुत र हेला गर्न छाडेर सबैलाई खसोखास समान बनाउनुस् I एउटो दलितलाई माला लाइदिएर समान बनायम भनेर फूर्ति नलाउनुस् भनेर पठाइदिएँ I मैले भनिदिएँ पार्टीका नाटक धेरै भए I’

उनी भन्दै गए – ‘एउटै परिवारका मानिस कोही के पार्टी कोही के I अरू बेलामा झगडा गर्छन्, जब गरिब, दलित, किसान, मजदुर, महिला र रोगीलाई फाइदा हुने कुरा आउँछ, सबै मिल्छन् I सबै उस्तै हुन I उनीहरू नै भाषणमा भन्छन् धेरै अन्याय भयो अव सहन सकिन्न, तर आफै अन्याय गर्छन् I पहिले पहिले हप्काएर, देउताको डर देखाएर, पूर्वजन्मको फल भनेर ठेगानमा राख्थे I अहिले त हप्काएर र देउताको डर देखाएर कोही टेर्नेवाला छैन, अनि फकाएर, फुटालेर र चिल्ला कुरा गरेर भुलाउँदै छन् I मान्छेको दिमागमा गोबर भरिएको छ काजी ! जबसम्म त्यो गोबर सोहोरेर फाल्दैनन्, तबसम्म केही हुनेवाला छैन I भित्रभित्र कतै दलितहरू एकमुट्ठा हुन्छन् कि भन्ने डर छ सबैलाई I’ माइलाका कुरा सुनेर अतिरेक दङ्ग परे I उनले मनमनै सोचे, सारा समाजले बाटो छेकेर के भो, निरक्षर भएर के भो ? कहिल्यै समाजको मूलप्रवाहको सदस्य हुन नपाएर के भो ? यो माइलालाई ज्ञानी बन्नबाट कसैले रोक्न सकेन I उनले भनेका थिए, ‘तिमी धन्य छौ माइला ! तिमी ज्ञानका खानी हौ, तिमी मुक्त आत्मा हौ, तिमी सवैका गुरु बन्न लायक छौ I’ हक्की स्वभावका माइलाले भनेका थिए ‘तपैं डाँडामाथिका जुनले यो कुरा गरेर के हुन्छ ? बलियो हुँदा त तपाईँ नै ‘कामीको पनि बुद्धि हुन्छ र’ भन्नुहुन्थ्यो I जसको तरबार उसको दरबार भन्ने तपाईँहरू नै हो केरे I जति गरे पनि गधा मलेर गाई बनाउन सकिने रैनछ I’

शान्तलाल गाउँ पालिकाको भवन लिपपोत गर्ने काममा खटिएका छन् I उनले गाउँ पालिकामा एउटा पियन सरहको सहयोगी चाहिएको कुरा थाहा पाए I शान्तले अध्यक्ष, उपाध्यक्ष र तीन चारजना वडाध्यक्षलाई समेत रिक्त पदमा रबिनालाई राखिदिन अनुरोध गरेका छन् I अध्यक्षले भनेका थिए ‘तपाईँको सहयोग कहाँ बिर्सेको छु र ? उपाध्यक्षलाई पनि भन्नुहोला I’ उपाध्यक्षले पनि अरू वडाध्यक्षलाई पनि भन्नुहोला भनिन I वदाध्यक्षहरुले पनि सबैले हुन्छ भने I शान्तलाई आशा पनि लाग्यो, यत्ति काम भयो भने त ठुलो उपकार हुन्छ, चुनावमा खटेको फल पनि प्राप्त हुन्छ I जे भए पनि आफूले दुःख गरेर हुर्काएको पार्टी हो, जीवनभरि काम गरेको पार्टी हो I

उपाध्यक्ष मीनाक्षी बैठक कक्षमा आएर बसिन I भित्तामा टाँगेको घडीमा हेरिन्, बाह्र बजेर तीन मिनेट गएछ I आज बाह्र बजे पालिकाको बैठक बस्ने भनेर हिजै सबैलाई सूचना दिएकी हुन् I उनी पन्ध्र मिनेटसम्म एक्लै बसिरहिन् I वडाध्यक्ष नियमनाथ आइपुगे I ‘श्रीमन्नारायण’ नियमनाथले दुवै हात उठाएर मीनाक्षीलाई नमस्कार गरे I ‘अभिवादन गुरु, सन्चै हुनुहुन्छ’ उपाध्यक्षले ससम्मान अभिवादन गरिन् I साढे बाह्र बज्यो, बल्ल तीन नम्बरका वडाध्यक्ष धुम्रलोचन आइपुगे I ‘कस्तो जाडो ! पचपन्न वर्षको भैयो, तर यतिविधि जाडो त कहिल्यै जानिएन I’ धुम्रलोचन रातो गलबन्दीले नाक पुच्छ्दै बसे I नियमनाथले भने ‘’गएको जाडो बिर्सेर हो काजी, पोहोर पनि कम्ता जाडो भएको हो र ? यो जाडो गर्मी भन्ने कुरा सधैँ ‘यो साल’ ज्यादा हुन्छ I खेती र व्यापार पोहोरको धेरै, जाडो गर्मी यो सालको धेरै I”

उपाध्यक्ष मीनाक्षीलाई नियमनाथसँग ठट्टा गर्न मन लागेछ, सोधिन ‘हुन त यस्तो च्वाँकलाई उमेर सोध्न नमिल्ने होला, तैपनि सकसक लाग्यो गुरु मलाई त, कति वर्ष पुग्नुभयो कुन्नि ?’ नियमनाथ ठट्टा दिल्लगी गर्न झन् सिपालु ‘अव हजुर पनि ! च्वाँक भए भैगो नि, उमेरमा के पो राखेको छ र I शास्त्रमा कसैले पनि आफ्नो व्यक्तिगत जीवनका आयु, धन, घरझगडा, मन्त्र, औषधि, मैथुन, दान, मान र अपमान समेत नौ कुराहरू अरू कसैलाई भन्नु हुँदैन भनिएको छ I यथा- आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमौषधमैथुने दानं मानापमानं च नव गोप्यानी कारयेत I तथापि हजुरले सोधेपछि भन्ने पर्‍यो, यसपालि सतहत्तरौं जाडो खाँदै छु हजुर ‘

‘अनि गुरु तपाईँ कसरी कम्युनिस्ट हुनुभयो ? सधैँ श्रीमन्नारायण भन्नुहुन्छ, जजमानकहाँ दौडेर जानुहुन्छ, गाईको पूजा नगरी केही खानुहुन्न I’ भरखरै आइपुगेका छ नम्बरका वडाध्यक्ष थम्मन बहादुर मगरले सोधे I पण्डित नियमनाथले भने ‘यसको कथा धेरै पुरानो छ अदक्षज्यू I छत्तीस \ सालको कुरा हो, मेरा जेठा दाइ र मेरोबीचमा अंसबन्डामा खिचोला पर्‍यो I दाइले साह्रै पेल्न खोजेपछि मेरो अति नै चित्त दुखेको थियो I त्यही साल राजाले जनमत सङ्ग्रहको घोषणा गरे I जेठा दाइ कांग्रेसतर्फ लागेर नीलोको प्रचारमा हिँडे I मेरो पालो जनमत बहिस्कारतिर लागेँ I रिसै रिसमा कम्युनिस्ट I त्यसो त तपाईँ पनि डल्ले झाँक्रीसँग पिटापिट भएपछि यता लहसिनु भएको हो नि, हैन त ?’

भित्र यस्तो रमाइलो छ I शान्तलाल कालिगड बाहिर गाविस भवनको लिपपोत गर्दै छन् I ब्रसले भित्तो लिप्दा लिप्दै उनी भित्र जनप्रतिनिधिहरु बोलेको पनि सुनिरहेका छन् I सानै उमेरमा लिपपोत गर्ने, सानोतिनो काठको कम गर्ने, घर गोठ छाउन आवश्यक पर्ने भाटा र चोया बनाउने र आरनको काम समेत राम्रोसँग गर्ने हुँदा उनलाई सबैले कालिगड भन्न थाले I अहिले पचपन्न वर्ष पार गरे पनि शान्तलाल काम गरेर खान सक्छन् I जेठी पत्नी बितेको धेरै वर्षपछि पैँतिस वर्षको उमेरमा बल्ल उनले तिलोत्तमासँग विवाह गरेका थिए I

पालिका बैठकमा पियन नियुक्ति गर्ने विषयमा गहन छलफल भयो I चिया नास्ता बनाउनु पर्ने, खुवाउनु पर्ने हुँदा त्यस्तो पदमा दलितलाई राख्न नहुनेमा सर्वसम्मति भयो I अन्त्यमा वडाध्यक्ष थम्मनले आफ्नो भतिजो राख्ने प्रस्ताव गरे I त्यो प्रस्तावमा बहुमत सदस्यले समर्थन गरे I थम्मनको भतिजो थम्मनलाई मोटर साइकलमा यताउता ल्याउने लैजाने काममा नै व्यस्त हुनु पर्ने हुँदा अफिसको कामको लागि अर्का वडाध्यक्ष धुम्रलोचन कार्कीकी सालीलाई राखियो I

Tags :
प्रतिक्रिया दिनुहोस