नेपाली समाज, जातीयता र नवराज वि.क. हत्याकाण्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली समाज, जातीयता र नवराज वि.क. हत्याकाण्ड


१४ जेष्ठ २०७७, बुधबार


मानव सभ्यताको चुनौतीको रूपमा देखा परेको कोरोना (कोभिड-१९) ले विश्वव्यापी महामारीका रूप लिई विश्व समुदायलाई आक्रान्त बनाइरहेको छ । नेपालमा पनि हालसम्म ७७२ जनामा सङ्क्रमण देखापरिसकेको छ भने ४ जनाले ज्यान गुमाइसकेका छन्। यसै बिचमा छिमेकी मित्रराष्ट्र भारतले लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएको विषयबाट उठेको सीमा विवादले मूर्तरूप लिन नपाउँदै नवराज वि. क. हत्याकाण्ड देखा पर्‍यो । यति बेला यही जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक सहित उनका २ जना साथीको हत्या र बाँकी ३ जना बेपत्ता पारिएको विषयमा देशभर बहस भएको छ । उक्त घटनाले सदन देखि सडकसम्म तताइरहेको छ । अपराध अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरी अनुसन्धानमा तल्लीन रहेको छ तर यस घटनाका सम्बन्धमा सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरूले मानिसहरूलाई दिग्भ्रमित पार्ने प्रयास गरिएको भएतापनि कानुनतः अपराधीलाई सजाय हुन्छ चाहे घटनालाई जातीय रूप दिईयोस या राजनैतिक रङ नै किन नदिईयोस । यहाँ कसैको संविधानले प्रदान गरेको सम्मानपूर्वक बाच्न पाउने हकलाई हनन गरिएको छ, कानुनले परिभाषित गरिएको कर्तव्य ज्यान जस्तो गम्भीर अपराध भएको छ तसर्थ यसबाट अपराधीलाई उन्मुक्ति पाउन सजिलो कदापि हुनेछैन। यस कारणबाट अब हामीले अन्य वहकाउमा नलागी अपराध अनुसन्धानमा सघाउ पुर्‍याउँदै सत्य तथ्य पहिचान गरी अपराधीलाई सजाय दिलाउन सहयोग गर्नुपर्ने देखिन्छ ।

व्यक्तिलाई धर्म, संस्कृति, परम्परा– रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाइने कुरा नेपालको संविधानमा उल्लेख गरिएको छ । तथापि छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना तथा मानवता विरोधी भेदभाव जन्य कार्यलाई कानुनले दण्डनीय माने पनि नेपाली समाज अझै पूर्ण रूपमा भेदभाव मुक्त हुन सकेको छैन । सङ्घीय नेपालको कालिकोटमा जननिर्वाचित महिला वडा सदस्य मना सार्कीको हत्या भएको छ । जनप्रतिनिधि दलित भएकै कारण कोठा नपाउने अवस्था राजधानीमा छ । यी र यस्तै जातियताको नाम हुने गरेका विभेदका घटनाहरू हामीले सञ्चार माध्यमबाट वेला वेलामा सुन्न पाइरहेको छौ । यो नवराज वि. क. हत्याको घटना पनि जातियताको भूतबाट समाजले उन्मुक्ति पाउन नसकेकै कारणले भएको हो भन्ने कुरा निसन्देह छ । सामाजिक कुरीतिको रूपमा रहेको जातीय प्रथाकै कारण तल्लो जातको केटाले उपल्लो जातको केटीसँग प्रेम गरेकै कारण आज अकालमा ३ जना युवाले ज्यान गुमाउनु परिरहेको छ र ३ जना हालसम्म बेपत्ता भएका छन्।

नेपाली समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले हाम्रो समाजमा प्रेम मार्फत अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित हुन प्रेम जोडीले ठुलै सङ्घर्ष गर्नु परेको छ । अन्तर जातीय विवाहले पूर्ण रूपमा मान्यता नपाउँदा कोही गाउँ छोडेर पलायन हुने, पलायन हुन नसक्नेहरू आत्महत्या गर्ने सम्मका घटना समाजमा घट्ने गरेका छन् । यस्ता प्रकारका घटनाहरू हाम्रो समाजमा प्रशस्तै देख्न र सुन्न पाइन्छ । अझ यस नवराज वि. क. हत्याकाण्डमा त आफ्नो अन्तरजातीय प्रेमलाई वैवाहिक सम्बन्धमा जोड्न चाहेका युवाको जातियताकै कारणले लखेटी लखेटी हत्या भएको छ । जसले समाजमा बेचैन सृजना गर्दछ, सामाजिक सद्भावलाई खल्वल्याउदछ र अन्त्यमा समावेशी लोकतन्त्रमाथि नै धावा बोल्दछ। तसर्थ जातियताका आधारमा हुने यस प्रकारका घटनाहरूलाई अन्त्य गर्न राज्यले वेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

जङ्गबहादुर राणाको मुलुकी ऐनमा जातीय विभेदलाई एउटा स्वाभाविक प्रक्रिया मानेर कानुन बनाइएको थियो । त्यसले सम्पूर्ण जनता, सामाजिक–सांस्कृतिक समूह, जातजातिहरूलाई तल र माथिको वर्णाश्रममा राख्यो । उच्च र तल्लो जातको सीमारेखा कोर्‍यो । उच्च जात हुनुको मतलब उच्च किसिमको अवसर प्राप्त गर्नु, उच्च ओहदामा बस्नु, उच्च सुविधाहरू उपभोग गर्नु, तल्लो जातलाई हेप्न र कजाँउनको लागि स्वाभाविक रूपमा अधिकार पाउनु भन्ने भयो । त्यस्तै, तल्लो जाति हुनुको मतलब चाहिँ तल्लो स्तरको काम गर्नु, कम सम्मान पाउनु, र माथिल्लो जातिबाट हेपिएर बस्नु, उनीहरूको सेवामा तल्लीन हुनु भन्ने भयो । नेपालमा जातीय विभेदलाई एक हिसाबले स्वाभाविक रूपमा मानिँदै आइयो । सन् १९९० पछि लोकतान्त्रिक प्रक्रिया सुरु भएलगत्तै त्यस्तो उचनिचलाई लोकतन्त्रको विरुद्ध भएको, मानवअधिकारको विरुद्ध भएको आवाजहरू उठ्न थाले । तर, अहिले पनि कतिपय मान्छेहरू जातीय र जन्मको आधारले अरूलाई हेप्नुलाई एकदम स्वाभाविक मान्नेहरू हामीसँग प्रशस्त छन् ।

हामीले यो पनि बिर्सनु हुँदैन की परिवर्तन क्षणभरमै सम्भव छैन भनेर, यो त बिस्तारै हुने प्रक्रिया हो । अहिले समाज जातियताको सवालमा विगत भन्दा धेरै परिवर्तन भैसकेको छ र हुनेछ, यसमा हामी सबै परिवर्तनका पक्षधरहरू एकजुट भई जातीय भेदभाव अन्त्यका सवालमा नेपाल सरकारले तय गरेका कानुन र पक्ष राष्ट्र बनेका अन्तर्राष्ट्रिय सन्धिलाई कार्यान्वयन गर्न सघाउ पुर्‍याउन पर्दछ । समाज परिवर्तनशील र गतिशील हुन्छ, यसलाई जनचेतनाका माध्यमबाट गतिशील बनाउने दायित्व तपाई हाम्रो हो। सामाजिक रूपान्तरण कुनै पनि हारको मानसिकताले प्राप्त गर्न सकिन्न । एक दुई गर्दै सयौँ अनि हजारौँलाई परिवर्तन गराउन सकिन्छ । राज्यले पनि समाजमा भएका विकृति विसङ्गतिलाई परिवर्तन गराउन चेतनामूलक कार्यक्रम ल्याउन सक्नु पर्दछ । अन्यथा समाजमा यस्ता प्रकारका विसङ्गति दोहोरिइरहन्छन् ।

राज्य विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना (कोभिड १९) को महाबिपतवाट कसरी उन्मुक्ति पाउने भनेर लडिरहेको यस अवस्थामा यस प्रकारका घटना हुनु कदापि राम्रो होइन तथापि यसै घटनालाई लिएर समाजको सदियौँ देखिको जातीय, धार्मिक र सांस्कृतिक सहिष्णुतालाई खलबल्याइ समाजलाई दिग्भ्रमित गराउनुको साटो अव तपाई हामी मिलेर अपराध अनुसन्धानमा सत्यतथ्य पहिचान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सहयोग गरौँ । एक्काइसौँ शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातीय घटना होइन यो मानवता विरुद्धको अपराध हो। कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर विभेदको भाइरसले सदियौँदेखि समाजलाई बिरामी भने पक्कै बनाएको छ।महामारीको रूपमा फैलिएको अन्धविश्वास र कुरीतिको समय मै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ हैन भने अझ धेरै निर्दोष नवराज विश्वकर्माहरूले अकाल मै ज्यान गुमाउने छन्। सबै सचेत नागरिक मिली सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सबैले सहयोग गरौँ । अन्त्यमा, मृतकहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस। जदौ ।

Tags :
प्रतिक्रिया दिनुहोस