नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस, उपचार कक्ष तत्काल सिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस, उपचार कक्ष तत्काल सिल


१२ जेष्ठ २०७७, सोमबार


वीरगन्ज । पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप छानविन एवं कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएको र जेठ ४ गते नै मृत्यु भएका बारा कलैया उपमहानगरपालिका ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ संक्रमणको आंशकामा पीसीआर जाँचको लागि स्वाब संकलन गरिएकोमा पीसीआर नतिजा नआउँदै शव आफन्तलाई जिम्मा लगाइएको र मृतकको सदगदसमेत गरिएको थियो । यो घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताएका छन् ।

कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मीलगायत अन्य सबै व्यक्तिहरुको कनट्याक्ट ट्रेसिङ गर्ने र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर चेकजाँच गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै नेशनल मेडिकल कलेजले मृतकको उपचार गरेको कक्ष तत्काल सिल गर्ने समेत संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस