प्रहरीको पीडा ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीको पीडा !


११ जेष्ठ २०७७, आइतबार


डोटी । डोटी जिल्लामा केही दिन यता भारतबाट नेपाल भित्रिनेको सङ्ख्या दिनहुँ थपिँदै गइरहेको छ । बाहिरबाट आउनेहरूलाई स्थानीय तहहरूलाई व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ । एउटै वडामा चार, पाँच स्थानमा क्वारेनटिन बनाएर राख्नुपर्ने अवस्था आएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

सीमा नाकाबाट यातायातको व्यवस्था गरेर क्वारेनटिनसम्म ल्याउने र क्वारेनटिनमा खाना, खाजाको व्यवस्था गर्दागर्दै पनि क्वारेनटिनमा बस्न नमान्ने, भागेर घर जाने गरेको जनप्रतिनिधिको गुनासो छ । जनप्रतिनिधिहरू प्रहरी प्रशासनले कडा पहरा नदिएको गुनासो गर्छन्, तर डोटीमा प्रहरीको भने आफ्नै पीडा छ ।

डोटीमा जिल्ला प्रहरी कार्यालय, ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालय दुई, ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय चार, प्रहरी चौकी आठ र अस्थायी प्रहरी पोस्ट तीन वटा रहेका छन् । जिल्लामा कुल चार सय २६ प्रहरी कर्मचारीको दरबन्दी रहेको छ । तर, पदपूर्ति दुई सय ९२ मात्रै छ । दरबन्दी अनुसार एक सय ३४ जना अपुग रहेका छन् ।

मौज्दात दरबन्दीहरू मध्ये नेपाल प्रहरीले नियमित रूपमा सुरक्षा दिँदै आएको जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला अदालत, कारागार र बाल सुधार गृहमा खटिएका छन् । अस्पतालहरूमा पनि प्रहरी कर्मचारी खटाउनु परेको छ । नियमित गस्ती, अपराध अनुसन्धान, भिडदंगा नियन्त्रणमा पनि तिनै प्रहरीको प्रयोग गर्नु पर्ने अवस्था रहेको बताउँछन् जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्णबहादुर बोहरा ।

‘जिल्लाभित्र नौ स्थानीय तहमा ६५ वडा रहेका छन्, भारतबाट आएकाहरूलाई एक वडामा एक मात्रै क्वारेनटिन बनाउने हो भने पनि ६५ टोली आवश्यक पर्छ, हामीसँग भएको जनशक्तिले भ्याउँदैन’

उनका अनुसार दिपायल सिलगढी नगरपालिका–६ को स्याल मारा, वडा नं. ४ को राजपुर र जोरायल–५ को गड्सेरामा स्थापना गरिएका अस्थायी प्रहरी पोस्टमा दरबन्दी स्वीकृत भएका छैनन् । यस्तै २०७५ साल भाद्रमा स्थापना भएको बाल सुधार गृहका लागि समेत हालसम्म दरबन्दी स्वीकृत नभएको बोहरा बताउँछन् । यी स्थानहरूमा दरबन्दी भन्दा बाहेक २१ जना प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।

‘जिल्लाभित्र नौ स्थानीय तहमा ६५ वडा रहेका छन्, भारतबाट आएकाहरूलाई एक वडामा एक मात्रै क्वारेनटिन बनाउने हो भने पनि ६५ टोली आवश्यक पर्छ’ सूचना अधिकारी बोहरा भन्छन् ‘हामीसँग भएको जनशक्तिले भ्याउँदैन ।’ उनले क्वारेनटिनमा बसेका मध्येबाटै एक वा दुई जनालाई लिडर बनाएर सहयोग लिनुपर्ने अवस्था रहेको बताए ।

राज्यको उपस्थितिको रूपमा मात्रै एक वडामा एक, दुई जना प्रहरी कर्मचारी पठाउन सकिने बताउँछन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवा । उनले भने, ‘हामीसँग भएको जनशक्ति यत्ति नै हो, जति जति पुग्छ भएको जनशक्तिलाई व्यवस्थापन गरेर परिचालन गर्छौँ’,

अब स्थानीय तहहरूले क्वारेनटिन व्यवस्थापनमा प्रहरीको जनशक्तिले सबै ठाउँमा आवश्यकता अनुसार परिचालन गर्न सकिने अवस्था छैन । त्यसैले सबै स्थानीय तहले स्वयंसेवक समूह बनाउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल बताए ।

उनले भने ‘भारतबाट आउनेको सङ्ख्या, भूगोल र संरचनाको उपलब्धताले पनि एक वडामा एक मात्रै क्वारेनटिन हुन नसक्ने देखियो यस हिसाबले एउटै वडामा चार, पाँच ठाउँमा क्वारेनटिन हुन सक्छन् ।’ उनी थप्छन् ‘प्रहरीसँग स्थानीय तहका स्वयंसेवक राख्नुपर्ने देखिन्छ ।’ उनले सशस्त्र प्रहरीले नियमित रूपमा जिल्ला भरि पेट्रोलिङ गस्ती मार्फत एरिया डोमीनेशन गर्ने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस