बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ


११ जेष्ठ २०७७, आइतबार


जुम्ला

सिञ्जा । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे पनि उल्लङ्घन भएपछि जोखिम बढेको छ ।

बाहिरबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भीडभाड बढेको भन्दै प्रशसानले बिहीबारबाट कडाइ गरेको हो । कोरोनाको जोखिम न्यूनीकरणका लागि जुम्लामा अत्यावश्यकबहेकका पसल खोलिएको र मानिसहरु आत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गर्न थालेको हो ।

लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि मास्कबिना नागरिक हिँडडुल गरिरहेकाले खाद्यान्नलगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारवाही गर्ने बताए ।

उनले नागरिकलाई लकडाउनको पूर्णपालना गर्न र कोरोनाबाट जोगिन अनुरोध गरे । बजारमा जथाभावी हिँड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मेहनत गरेर क्वारेन्टाइनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाइएको छ तर जथाभावी बजारमा हिँड्ने क्रम बढेको छ ।

जुम्लामा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजार खुल्ने समय बिहान ७ देखि ९ बजे र बेलुका ४ देखि ६ बजेसम्म निर्धारण गरिएको छ तर नागरिकले अटेर गरी सबै पसल खोलेपछि बजारमा भीडभाड बढेको भन्दै प्रशासनले जुम्लामा कडाइ गरेको हो ।

प्रशासनले आम नागरिकलाई आत्यावश्यक वस्तु खरिदका लागि दूरी कायम गरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । बाहिरबाट जिल्लामा भित्रिएका व्यक्तिलाई एकीकृत क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । हाल ४३ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस