विकट नभएरै पनि सुदूर मेरो गाउँ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विकट नभएरै पनि सुदूर मेरो गाउँ


९ जेष्ठ २०७७, शुक्रबार


आजकल मेरो गाउँको घरको करेसोमै मोटर बाटो पुगेको छ रे ।

सुन्छु घरमाथिको बारीमा ठुलो पाटोको बिचैबाट मोटर गुड्छ । हिउँदभरि बस्तुभाउलाई आहारा पुग्ने डालेघास वडहर, कुट्मिरा र खनियाका रुखहरू ढलेछन्, भुइकटहरको घारीहरू भएको कान्लो पनि भत्केछ मोटर बाटोको लागि डोजर चलाउँदा ।

सदरमुकाम सम्म पुग्नलाई पनि सिङ्गो दिन पैदल यात्रा गर्नुपर्ने मेरो गाउँ ! हुन त कर्णाली र अरू विकट जिल्लाका आफ्नै दुःखका कथाहरू होलान् । तथापि तुलना त नजिकका अन्य गाँउहरु र जिल्लाहरुसगं मात्र गरिँदो रहेछ ।

दुरीको हिसाबले त्यति धेरै विकट नलाग्दा नलाग्दै पनि यातायातले जोडिन वर्षौँ पर्खिनु परेको थियो मेरो गाउँ र त्यहाँका बासिन्दा हामीहरूलाई । चेतना र जागरण नभएर हो या राजनीतिक रूपमा केन्द्रमा पहुँच पुर्‍याउन नसकेर हो या विकास तर्फ जाँगर, सोच नपलाएर हो ? खै के हो मैले केही बुझ्न सकिन । किन हो ? साह्रै अनौठो लाग्छ मलाई । करिब करिब उस्तै भौगोलिक आकृति भएको काली गण्डकी पारीको गाउँमा मोटर गुडेको दशक भइसक्दा पनि हामी भने त्यै पारीको मोटरको हर्न सुनेरै खुसी भइरह्यौ ।

मेरो गाउँमा किन यति ढिलो हुन गयो होला यातायातको पहुँच पुग्नलाई ? स्वभाबिक रूपमा मानिसले सजिलो खोज्छ, त्यसैलाई पच्छ्याउँदै मेरो गाउँका प्रायः जसो सबै बासिन्दाहरू सदरमुकाम वा मधेस वा अन्य सहरहरूतर्फ क्रमशः विस्थापित हुँदै गए । हाल गाउँ करिब करिब रित्तो छ तर डोजर भने ठुलो ठुलो आवाज सहित बल्ल पुगेको छ मेरो गाउँमा । उकालो चढेर स्कुल जान लाग्दा डोजर करेसामा हुँदो हो त कति रमाइलो लाग्थ्यो होला ! जहाँ कैयौँ वर्षपछि बाटो बनिरहेको खबरले पनि मेरो मनलाई रोमाञ्चित गराइरहेछ अहिले ।

रघुनाथ कान्छा बालाई मेलै बिजुली कान्छा बा भन्न मन पर्छ । रघुनाथ कान्छा बाको अगुवाइमा गाउँका घरधुरीहरूको केही श्रमदान तथा आर्थिक सहयोग समेत जुटाई नजिकैको राधिखोलाबाट बिजुली निकालेको हुँदा हाम्रो गाउँ भने त्यतीबेलै उज्यालो भएको थियो । सडक र यातायातका साधनलाई अनुभव गर्न नपाएका हामीलाई बिजुलीको उज्यालोमा बस्न पाउँदा खुसीको सीमा थिएन । केन्द्रीय लाइनको कल्पना समेत नहुँदै स्थानीय लघु जलबिद्धुत मार्फत प्राप्त बिजुलीको उज्यालो बाट हामी प्रफुल्ल थियौ ।

हामीलाई उज्यालो संसारको अनुभूति दिलाउने ती बिजुली कान्छा बाको त्यो वर्षौँ अगाडिको अदम्य साहस र विकास प्रतिको शोंचलाई जति प्रशंसा गरे पनि कमी हुन्छ जस्तो मलाई लाग्छ । मैले बल्ल आज आएर उनको मेहनत र आँटलाई अनुभूत गर्दै छु र सम्मान गर्न चाहन्छु । केही गर्न खोज्नेलाई समाज र परिवेशले कति अप्ठ्यारा र कति गाह्रो पार्छ भनेर, जुन आज बल्ल मैले अलिकति भए पनि महसुस गर्न सक्छु ।

बिजुली कान्छा वाको त्यो लघु जलबिद्धुत आजकल के भयो होला ? अहिले केन्द्रीय प्रसारण लाइन जोडिए पछिको अवस्था कस्तो होला खै ? कान्छा वा कस्ता भएहोलान के गर्दै होलान् ? बेला बेला असाध्यै सम्झन्छु उनलाई । अनि कान्छा बाको होस्टेमा सधैँ हैँसे गर्न तत्पर असाध्यै उज्यालो अनुहारकी र जस्तोसुकै अप्ठ्यारोमा पनि मुहारमा मुस्कानका साथ प्रस्तुत हुने ती कान्छी आमालाई ।

तल्ला भुजुङ्गेका कान्छा बा बितेको खबरले असाध्यै मन दुख्यो ।
अङ्गुर, बेलौती र नासपातीहरु उनका आँखा छलेर खान पाएकोमा कम्ती गर्व लाग्दैनथ्यो त्यति वेला जब म सानै थिए ।
चोरेको फलफूल लिएर दौडँदै अलि पर पुगेपछि ठुलो सास फेर्दै फर्केर कान्छा बाले कतैबाट देखेकी भनी हेर्थे मैले । आज लाग्छ मागेरै खाएको भए पनि दिन्थे होलान् कि खै के गर्थे कुन्नि ? किन चोर्नु परेको होला ?

कहिलेकाहीँ आजकल पनि मैले सपनामा कान्छा बाको बारीको अङ्गुर चोरेर अघाउन्जेल खाइसकेपछि बल्ल कान्छा बाले देखेर झपारेको देख्छु अनि झल्याँस्स व्यूझिन्छु र सम्झन्छु ला ! कान्छा बा त हुनुहुन्न अव यो संसारमा ! मन कता कता खिन्न हुन्छ ! यो कथा मैले उहाँलाई भेटेर सुनाउन पाइन । सुनाउन पाएको भए कस्तो प्रतिक्रिया गर्नुहुँदो हो कान्छा बाले, खै ?

सुन्छु, आजकल त गाउँमा पहिला जस्तो चहलपहल केही पनि छैन । सुनसान प्रायः छ, दुई चार घरपरिवारहरू बाहेक माथिदेखि तलसम्म वरपर सवैतिर घरहरूमा ताल्चा झुन्ड्याएको मात्र देखिन्छ रे ।

छिर छिरेको खरवारिबाट घाँसका भारी बोकी डाँडाको चौतारीमा बिसाई मेट्नेहरू कोही देखिन्नन् !

डोकोमा गाग्रो बोकेर सपौँदेको मूलको धारामा पानी थाप्न जाने पनि अहँ छैनन् !

लुगाको भारी बोकेर नुहाई-धुवाई गर्नलाई देउसेली पँधेरोमा धाउने कोही छैनन् !

लटरम्म सुनजस्तै धान फल्ने चित्पानी फाँटका गराहरू बाँझा भइसके ।

खर बारीहरू काडाँघारी, उतिस र सालघारीमा परिणत भइसके ।

हाम्रै लागि बिरानो बन्दै छ गाउँ ! रत गाउँ आफै गाउँ जस्तो देखिँदैन रे अचेल ।

गाँउभरी चहलपहल हुँदा वरिपरिका सबै छरछिमेकीहरु हुँदै एक्लो महसुस गर्ने हाम्री तल्लो घरकी भाउजू अहिले एक्लै छन् त्यो टोलमै । उनी कसरी रात कटाउँदै होलिन् त्यहाँ ? दाइ बिते, छोरीहरू बिहे गरेपछि सबै आ-आफ्नो बाटो लागे । छोरो पर अलि टाढै कता गाउँको सामुदायिक बिद्धालयमा मास्टर छ रे । घर पायक भन्दा कतै पर ।

भाउजूको पनि असाध्यै याद आउँछ मलाई । ती भाउजूको बाध्यता सम्झन्छु म । लाग्छ जब विकल्प हुँदैन मान्छेलाई थेग्नै नसक्ने जटिलता पनि दैनिकी बनिदिँदो रहिछ । बाध्यता वन्दारैछन कतिपय भोगाइहरू । भाउजू पनि त्यही भोगाइको पात्र हुन एउटा । मलाई त्यस्तै लाग्छ । आई मिस यु भाउजू !

मेरो गाउँका मानिसहरूले हजारौँ पटक आफ्ना पाइतालाकै भरमा कैयौँ बाटाहरू पटक पटक छिचोले । बिरामीलाई डोकोमा बोकेर पसिनाले भिज्दै कैयौपटक अस्पताल धाए । नजिक कतै अस्पताल थिएन न त अन्य कुनै विकल्प नै थियो ।

जति बेला गाँउभरी बस्ती बाक्लो थियो, मानिसका दैनिकीका आधारभूत आवश्यकताको उपलब्धता दुरुह थियो र न्यूनतम सुविधा खोज्न पनि भौतारीनु पर्ने बाध्यता थियो ।

तर, जब बाटोघाटोको सुविधा हुन थाल्दै थियो तब गाउँ त मान्छे विनाको बन्दै गएछ । बारी, खेत र पाखाहरू भत्काउँदै यातायातको पहुँचमा मेरो गाउँ पुग्दै गर्दा त्यसबाट लाभ लिनको लागि मान्छेहरू छैनन् अचेल । यो कस्तो विडम्बना !

कति युवाहरू विदेश भासिए, कति सहर पसे र कुनै पेसा रोजगारी समाते त कति खाडीमा गएर मजदुरी गर्दै पसिना बगाउदैछन् । तिनका जहान परिवार सदरमुकाम वा अन्त कतै सहरतिर लागे । उमेरले डाँडा माथिको घाम जस्तै बनिसकेका केही निरीह बूढाबूढी मात्र छन् गाउँमा । अन्तिम संस्कारको लागि जुट्ने मान्छेको समेत अभावमा छ मेरो गाउँ अचेल ।

लाग्छ, सुन जस्तै अन्न झुल्ने खेतका गराहरू र ती बारीहरूले बलिया पाखुरी, जोस र जाँगरहरू खोजी रहेछन् । ती पलायन भएका मानिसहरूको सामीप्यलाई त्यो माटोले पुनः पर्खिरहेछ । चौतारीले आफ्नो छहारीमा बिसाई मेट्न आउनेहरूको प्रतीक्षामा एक्लै शीतलता बहाइरहेछ ।

म अवाक् छु । जब त्यो प्यारो गाउँको सम्झना आउँछ, मन कता कता खिन्न हुन्छ । मैले हुर्केको परिवेश म अलि पर कतै पुगिसकेको भए पनि मेरो मानसपटलमा प्रत्येक पल खेलिरहन्छन् । तिनै अप्ठ्याराहरू, मैले हिँडेका गोरेटाहरू र परिस्थितिहरू अत्यन्त प्रिय भएर मनलाई स्पर्श गरिरहन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस